Comments Add Comment

आयकरमा सार्वजनिक संस्थानको योगदान १९ अर्ब ३६ करोड

सबैभन्दा बढी टेलिकमको

१४ जेठ, काठमाडौं । नेपालमा संचालनमा रहेका सार्वजनिक संस्थाले आयकरमा एक वर्षमा १९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ योगदान गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट उक्त रकम बराबर आयकर योगदान भएको हो ।

यो रकम आव २०७५/७६ को तुलनामा १०.२२ प्रतिशतले बढी हो । क्षेत्रगत रुपमा जनउपयोगी क्षेत्रबाट सबैभन्दा बढी ६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ योगदान भएको छ ।
तथ्यांक अनुसार एक वर्षको अवधिमा नेपाल दूरसंचार कम्पनी लिमिटेडले सबैभन्दा बढी ६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ । नेपाल आयल निगमले ४ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक १ रुपैयाँ ८५ करोड ७४ लाख रुपैयाँ आयकर तिरेको छ । कृषि विकास बैंकले १ अर्ब ७१ करोड ८५ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अर्ब ५१ करोड रुपैयाँ आयकर तिरेको छ ।

संस्थानमा २८३६४ रोजगारी
नेपालमा सार्वजनिक संस्थानले कुल २८ हजार ३ सय ६४ रोजगारि सिर्जना गरेका छन् । यसमध्ये जनउपयोगी क्षेत्रका संस्थाले १३४०४ जनालाई रोजगारी दिएको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।

संस्थानले दिएको यो रोजगारी संख्या आव २०७५/७६ को तुलनामा १.३० प्रतिशत कम हो । नेपालमा कुल रोजगारी ७० लाख ८६ हजार रहेको अनुमान छ । यस तथ्यांक अनुसार नेपालमा कुल रोजगारीको ०.४० प्रतिशत हिस्सा सार्वजनिक संस्थानले ओगटेको पाइएको छ ।

समग्रमा ४८ अर्ब नाफा
संस्थानहरु एक वर्षको अवधिमा कुल ४८ अर्ब रुपैयाँ बराबर खुद नाफा कमाउन सफल भएको देखिएको छ । संस्थानहरुले एक वर्षको अवधिमा ४ खर्ब ६० अर्ब ३६ करोड आम्दानी गरेका छन् । उनीहरुले एक वर्षमा ४ खर्ब १२ अर्ब ९ करोड रुपैयाँ खर्च गरेका छन् ।

यसमध्ये नेपाल आयल निगमको मात्र खुद नाफा १२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको छ । नेपाल विद्युत प्राधिकरणले ११ अर्ब ३ करोड ८५ लाख, नेपाल टेलिकमले ९ अर्ब ७४ करोड ९० लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले २ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment