Comments Add Comment

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ लाख नजिक, खोप लगाउन बाइडनको आग्रह

१ असार, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ लाख नजिक पुगेको छ ।

जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अमेरिकामा ५ लाख ९९ हजार ९४५ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ ।कोरोनाका संक्रमित संख्या र मृतक संख्याको आधारमा अमेरिका सबैभन्दा धेरै प्रभावित भएको मुलुक हो ।

यद्यपि, पछिल्लो केही समययता अमेरिकामा कोरोनाका नयाँ संक्रमित तथा मृतक संख्यामा पनि उल्लेख्य कमी देखिएको छ ।

सोमबार अमेरिकी राष्ट्रपति जो बाइडनले राष्ट्रव्यापीरुपमा कोरोनाका नयाँ संक्रमितको संख्यामा कमी आए पनि अझै पनि यो महामारी अमेरिकाको लागि निकै वियोगान्त रहेको बताएका छन् ।

अहिले पनि अमेरिकामा औसतमा दैनिक ३७० जनाको कोरोना संक्रमणका कारण मृत्यु भइरहेको छ । बाइडनले खोप नलिएका मानिसहरुलाई खोप लिन आग्रह पनि गरेका छन् ।

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)ले औसतमा अहिले दैनिक १४ हजार नयाँ संक्रमित फेला परेको जनाएको छ ।

अहिले अमेरिकामा ६४ प्रतिशतभन्दा बढीले कोरोना खोप कम्तीमा एक डोज लिएका छन् । जुलाई ४ सम्ममा यो संख्या ७० प्रतिशतमा पुर्‍याउने उनको लक्ष्य छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment