Comments Add Comment

गोरखाको धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि 

आइसोलेसनबाटै सेवा प्रवाह

२४ असार, गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएकाे छ ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर अधिकारीले कर्मचारीमा संक्रमण देखिए पछि आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाइएको बताए । ‘आर्थिक वर्षको क्लोजिङको समय भएकाले यो बेला कामको चाप बढी नै हुन्छ,’ अधिकारीले भने, ‘बढी काम भएकै कारण आइसोलेसनबाटै सेवा दिने व्यवस्था मिलाएका हौ ।’

गाउँपालिकाको कार्यालय रहेको माछाखोलामा विद्युत र इन्टरनेट सेवा नभएपछि केही सयमदेखि धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ आरुघाटमा धार्चेले भाडामा कार्यालय संचालन गर्दै आएको छ । होटल भाडामा लिएर सेवा प्रदान गर्दै आएको अधिकारी बताउछन् ।

‘त्यही होटलमा कोभिड लागेका कर्मचारीहरु आइसोलेट भएर बस्नुभएको छ, उहाँहरुले त्यहींबाट काम गरिरहनुभएको छ,’ उनले भने । संक्रमित कर्मचारीहरुको प्रत्यक्ष सम्पर्कमा सेवाग्राही जानु नपर्ने गरी सेवा दिने व्यवस्था मिलाएको उनले बताए । संक्रमित कर्मचारीमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment