Comments Add Comment

विपक्षी गठबन्धनबाट अलग हुने माधव नेपाल समूहको घोषणा

२८ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विपक्षी गठबन्धनबाट अलग हुने घोषणा गरेका छन् ।

सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिए लगत्तै विपक्षी गठबन्धनको बैठक कोटेश्वरस्थित नेता नेपालको निवास नजिकै एक संस्थाको कार्यालयमा बसेको थियो ।

बैठकमा एमाले वरिष्ठ नेता नेपालले आफ्नो परिस्थिति भिन्न रहेको भन्दै गठबन्धनमा नबस्ने बताएका छन् । पार्टीमा एकताका लागि प्रयास भइरहेको भन्दै उनले भने, ‘पार्टी एकताका लागि एक खालको सहमति भएको छ । अब त्यसलाई उहाँहरुले कुन ढंगले लागू गर्नुहुन्छ भन्ने हेर्नुपर्छ ।’

उनको आशय पार्टी एकता भएको अवस्थामा गठबन्धनमा नरहने भएको एक नेताले बताएका छन् ।

नेपाल समूहका नेता घनश्याम भुसालले पनि अब गठबन्धनमा आफूहरु नरहने प्रष्ट पारेका छन् । प्रतिनिधिसभा बचाउनुपर्छ भनेर आफूहरु विपक्षी गठबन्धनमा गएको भन्दै उनले अनलाइनखबरसँग भने, ‘पार्टी एकता र संसद पुनर्स्थापनापछि गठबन्धन असान्दर्भिक भइसक्यो । अब हामी विपक्षी गठबन्धनमा रहँदैनौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न खोजेको भन्दै एमालेको नेपाल समूह विपक्षी गठबन्धनमा गएको थियो । एमालेको २६ सहित १४९ को हस्ताक्षर पेश गर्दै देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गरेका थिए । त्यसलाई राष्ट्रपतिले अस्वीकार गरेपछि  देउवा सर्वोच्च गए, जहाँ उनले माधव नेपाल समूहका २३ सांसदको साथ पाएका थिए ।

तर सर्वोच्चले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएकै दिन माधव नेपाल समूह अलग भएको छ । यससँगै विपक्षी गठबन्धन संसदमा अल्पमतमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment