Comments Add Comment

विराटनगरबाट कटुवा पेस्ताेलसहित जोगबनीका लागूऔषध कारोबारी पक्राउ

३१ असार, विराटनगर । सशस्त्र प्रहरीले मोरङको सीमावर्ती क्षेत्रबाट एक जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला जोगबनी नगरपञ्चायत–९ टिकुलियाका ४१ वर्षीय पप्पुकुमार पटेललाई प्रहरीले गरेको हो ।

बुधबार राति साढे १० बजे थोत्रो बोरामा लागूऔषध र हतियार बोकेर पैदल आउने क्रममा उनी पक्राउ परेका हुन् । प्रहरीका अनुसार नेपाल प्रवेश गर्दा उनको हुलिया प्लास्टिकका सामग्री टिप्नेको जस्तै थियो । शंकास्पद देखिएपछि चेकजाँच गर्दा बोराबाट एउटा कटुवा पेस्तोल, लागूऔषध एभिल २९२ र लुपिजेसिक २९५ एम्पुल, एउटा चक्कु र दुईवटा मोबाइल बरामद भएको छ ।

विराटनगर महानगरपालिका–१६ को सीमावर्ती क्षेत्रबाट पक्राउ परेका पटेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।

हतियार र लागूऔषध करोबारी पटेलमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जीसीले जानकारी दिए ।

पटेलको शरीरमा ६ गोली

जोगबनीका बासिन्दा पटेल लागूऔषध र हतियारका पुराना कारोबारी रहेको प्रहरीको भनाइ छ । प्रहरी स्रोतका अनुसार  विराटनगर र आसपासमा पक्राउ परेका कारोबारीहरुको ‘कनेक्सन’ पटेलसँग देखिन्थ्यो । तर पटेल पक्राउ परेका थिएनन् ।

पटेलको समूहमा जोगबनीका कुन्दन यादव, विक्रम सिंह, रामचन्द्र यादवलगायत सँगै थिए । तर लेनदेनको विवाद हुँदा कुन्दन, विक्रम र रामचन्द्रले उनीमाथि गोली प्रहार गरे ।

२०७५ जेठ ३० गते जोगबनीमा पटेलमाथि ६ राउण्ड गोली प्रहार भएको थियो । ६ गोली नै लागेका उनलाई स्थानीयबासीले उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाएका थिए । न्यूरोमा उपचार नभएपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भएको थियो । प्रहरी स्रोतका अनुसार बीपीमा पटेलको छाती, हात, तिघ्रा र खुट्टामा गोली लागेको देखिएको थियो ।

गोली प्रहारबाट मुस्किलले बाँचेका पटेलको सक्रियता तीन वर्षयता कम रहेको सुरक्षा संयन्त्रको विश्लेषण थियो । तर लागूऔषधसहित पक्राउ परेका कारण पटेलले गिरोह चलाइरहेको देखिएको प्रहरीको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जीसीले पटेलको पुराना मुद्दा भए नभएको अध्ययन भइरहेको बताए ।

लागूऔषधका ठूला कारोबारी हुन् भन्ने जानकारी आए पनि सबै विषय खुल्न बाँकी रहेको उनले बताए । करिब एक दशकयता औषधिजन्य लागूऔषधसँगै हतियारको सप्लाई गर्दै आएका पटेल ब्राउन सुगरको मुद्दामा पनि जोडिएको हुन सक्ने प्रहरीको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment