Comments Add Comment

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा

१ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बालुवाटारमा बस्ने भएको छ ।

शुक्रबार दिउँसो दुई बजे पूर्वपदाधिकारीसहित बस्ने बैठकमा महाधिवेशनको तयारी, सरकारको प्रभावकारिताका बारेमा छलफल हुने जनाइएको छ ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको बताए । उनका अनुसार निर्वाचन निर्देशिका र क्रियाशील सदस्यताको विषयमा छलफल हुनेछ ।

बैठकमा क्रियाशील सदस्यता छानविन समितिले अहिलेसम्म गरेको कामको विवरण पेश गर्ने र विवादित क्षेत्रको समस्या सुल्झाउन पदाधिकारीलाई जिम्मा लगाउने बुझिएको छ ।

‘हामी सभापतिज्यूलाई अहिलेसम्म भएका कामका बारेमा जानकारी गराउँछौं र अन्तिम प्रतिवेदन बुझाउनका लागि समय माग्छौं,’ समिति संयोजक रमेश लेखकले भने, ‘विवादित क्षेत्रबारे निर्णय गर्ने जिम्मा पदाधिकारीलाई नै दिन्छौं ।’

समितिले बिहीबारसम्म १४३ निर्वाचन क्षेत्रको क्रियाशील सदस्यता टुंगो लगाएको छ । २२ वटा निर्वाचन क्षेत्रमा जटिल खालको विवाद देखिएकाले आवश्यक निर्णयका लागि पदाधिकारीलाई जिम्मा दिने समितिको तयारी छ ।

सर्वोच्च अदालतको परमादेशपछि प्रधानमन्त्री नियुक्त भएका कांग्रेस सभापति देउवा शुक्रबार बिहान सरकारी निवास बालुवाटार सरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment