+
+

नेपाललाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने चुनौती छ : अर्थमन्त्री शर्मा

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १७:४८
फाइल तस्वीर

६ साउन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी पद्धतिमा बदल्नुपर्ने बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघको १८औं वार्षिक साधारणसभामा अर्थमन्त्री शर्माले उपभोक्तावादी अर्थतन्त्रलाई उत्पादनमुखी अर्थतन्त्रमा बदल्ने चुनौती रहेको धारणा राखे ।

‘यसलाई बदल्नका लागि नीतिगत, योजनागत रुपमा, कार्यन्वयनका दृष्टिकोणले र प्रतिवद्धताका दृष्टिकोणले एउटा नयाँ संकल्पको आवश्यकता छ, हामीले स्थानीय स्तरमा, प्रदेश स्तरमा साना उद्योगहरुको व्यापक सञ्जाल निर्माण गरेर ती उद्योगहरुको बीचमा फेरि ठूला उद्योगहरु स्थापना गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।

औद्योगिक क्षेत्रमा विशेष लगानी नगरीकन देशलाई आत्मनिर्भर बनाउन नसकिने भन्दै मन्त्री शर्माले औद्योगिकीरण नै व्यापार घाटा न्यूनीकरण गर्ने मुख्य आधार भएको बताए ।

‘औद्योगिक क्षेत्रमा विशेष लगानी, विशेष जोड नगरी हामी देशलाई आत्मनिर्भर बनाउन सक्दैनौं । हाम्रो आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी बनाउन यो अत्यन्त आवश्यक छ । व्यापार घाटाको जो समस्या छ, त्यसलाई हामीले निराकरण गर्नका लागि औद्योगिकीकरण नै हाम्रो मुख्य आधार हो ।’

अर्थमन्त्री शर्माले कोभिड प्रभावित व्यवसायीलाई राहत तथा पुनस्र्थापनाको प्याकेजसहितको कार्यक्रम छिट्टै ल्याउने पनि बताए ।

उद्योगी तथा सांसद विनोद चौधरीले देशलाई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको क्षेत्रमा विश्वको गन्तव्यस्थल बनाउन प्रधानमन्त्री र अर्थमन्त्रीलाई आग्रह गरे ।

‘प्रधानमन्त्री, अर्थमन्त्रीलाई आग्रह गर्दछु कि एकचोटी फेरि नेपाल एउटा खुला, उदार र ट्रान्सपरेन्ट युगमा प्रवेश गर्दैछ । यहाँ उद्योगधन्दा गर्नका लागि विचौलियाको आवश्यकता छैन भन्ने सन्देश विदेशका लगानीकर्ताले खोजेर बसेका छन्,’ उनले भने ।

नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली श्रमशक्तिलाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

‘करीब पाँच लाखको संख्यामा श्रम बजारमा प्रवेश गर्ने नेपाली श्रमशक्तिलाई स्वदेशमा स्वरोजगार एवम् रोजगारीको सिर्जना अवसर गर्ने ठोस नीति, निर्माण गरी अघि बढाउनु आजको आवश्यकता हो,’ उनले भने । अग्रवालले निजी क्षेत्र कोभिड–१९ विरुद्धको खोपबाट अझै वञ्चित रहेको भन्दै औद्योगिक क्षेत्रका श्रमिक तथा मजदुरलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?