Comments Add Comment

सत्ता गठबन्धनको बैठक : मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

१३ साउन, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई दिएको छ ।

एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले मन्त्रालय टुंग्याउने जिम्मा शीर्ष नेतालाई दिने निर्णय गरेको हो ।

बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ ।

मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए ।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको प्रतिनिधित्व डा. विजय पौडेलले गरेका थिए ।

कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन् । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment