Comments Add Comment

कोरोना महामारीका कारण गोरखा संग्रहालयको राजश्व घट्यो

१९ साउन, गोरखा । निषेधाज्ञाका कारण गोरखा संग्रहालयको राजश्व घटेको छ । अघिल्लो र गत आर्थिक वर्षको तुलना गर्दा आधाभन्दा बढीले राजश्व घटेको संग्रहालयले जनाएको छ ।

संग्रहालय प्रमुख नवराज अधिकारीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा १५ लाख ७८ हजार राजश्व रकम संकलन भएको थियो । तर गत आव २०७७/७८ मा ८ लाख ६० हजार मात्र राजश्व संकलन भएको उनले बताए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण राजश्व रकम घटेको उनको भनाइ छ ।

‘गत आर्थिक वर्ष ६ महिना मात्रै संग्रहालय खुल्यो,’ उनले भने, ‘पर्यटक आउने सिजनमा संग्रहालय बन्द भएकाले राजश्व कम उठेको हो ।’ साउनदेखि कात्तिकसम्म बन्द रहेको संग्रहालय वैशाख तेस्रो सातादेखि हालसम्म बन्द छ । ‘कात्तिकदेखि पुससम्म शैक्षिक भ्रमणको सिजन हो, तर यो वर्ष विद्यार्थी नै आएनन्, वैशाख जेठ एडल्टहरु र तराईका पर्यटक आउने सिजन हो, तर संग्रहालय बन्द भयो । पर्यटक आउने सिजनमा संग्रहालय बन्द भएपछि राजश्व रकम पनि कम उठ्यो,’ अधिकारीले भने ।

गत आर्थिक वर्ष संग्रहालय घुम्ने पर्यटकको संख्या ३३ हजार दुई जना रहेका छन् । २६ हजार ३६९ साधारण नेपाली, ६ हजार ५९१ नेपाली विद्यार्थी, सार्क मुलुकका ९ जना र ३३ जना अन्य राष्ट्रका विदेशीले संग्रहालय भ्रमण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment