+
+

दार्चुला घटनाको प्रतिवेदनमा कसरी लाग्यो कैंची ?

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते २१:२३

१६ भदौ, काठमाडौं । दार्चुला घटनाबारे स्थलगत अध्ययन सकेर फर्किंदा सरकारी छानविन टोलीको निष्कर्ष थियो, भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन चुँडाएका कारण जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएका हुन् ।’

तर गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा एसएसबीको भूमिका किटान गरिएको छैन । गृह मन्त्रालयका अनुसार समितिको प्रतिवेदनमा ‘एसएसबीको जवानको उपस्थितिमा घटना भएको’ मात्र भनिएको छ ।

छानविन समितिको प्रतिवेदनमा कसरी लाग्यो त कैंची ? स्रोतका अनुसार मंगलबार प्रतिवेदन बुझाउन अघि छानविन समितिका संयोजक सहसचिव जनार्दन गौतमले गृहमन्त्री खाँणलाई भेटका थिए । ‘त्यसपछि एसएसबीको संलग्नता उल्लेखसहितका केही विषयमा कैंची लागेको हो’ गृह मन्त्रालय स्रोत दाबी गर्छ ।

स्रोतका अनुसार त्यो भेटमा एसएसबीको संलग्नता उल्लेख गर्ने आधारबाट खोजी भएको थियो ।

छानविन समितिले वयान लिएका सम्पूर्ण प्रत्यक्षदर्शीले एसएसबीका जवानले तुइनको तार फुस्काएपछि धामी महाकाली नदीमा खसेको बताएका थिए । तुइनको तार नफुस्काउन आग्रह गरेपनि बेवास्ता गरेको उनीहरुको भनाइ छ ।

जयसिंहभन्दा अघि महाकाली तरेका चार जनाले पनि एसएसबीले तुइनको तार फुस्काएको वयान दिएका थिए ।

तर छानविन समितिले एसएसबीले काटेको भनिएको तुइन भेट्टाउन नसकेको एक सदस्यले बताए । भन्छन्, ‘तुइन भेट्टाएको भए ‘मार्क’को आधारमा काटेको हो या के हो भन्ने थाहा हुन्थ्यो, तर स्थानीयले तारलाई फ्याँकिदिएछन् ।’

स्रोतका अनुसार गृहमन्त्री लगायतका अधिकारीले नेपाली पक्षको वयानलाई मात्र आधार बनाएर प्रतिवेदनमा भारतीय सुरक्षाकर्मीको भूमिका किटान गर्न उपयुक्त नहुने धारणा राखे । त्यही कारण ‘एसएसबीको जवानको उपस्थिति’ घटनामा भएको भनिएको गृह स्रोतले बतायो ।

छानविन समितिको प्रतिवेदनबारे गृह प्रवक्ता फणिन्द्रमणि पोखरेल भन्छन्, ‘समितिले उक्त घटना भारतीय एसएसबीका सुरक्षाकर्मीको उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषीउपर कानूनी कारबाही गर्न भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको छ ।’

उनका अनुसार धामीको परिवारलाई उचित क्षतिपूर्ति र राहत उपलब्ध गराउन पहल गर्नुका साथै आश्रति परिवारलाई सरकारका तर्फबाट पालन पोषण र शिक्षादीक्षाको व्यवस्थापन गर्न पनि छानविन समितिले सिफारिस गरेको छ ।

समितिका एक सदस्यले भने प्रत्यक्षरुपमा एसएसबीको संलग्नताबारे बुझिने भाषामा बोलिएको दाबी गर्छन् । ‘अनुसन्धान गर्न र क्षतिपूर्ति दिलाउन भारतसँग कूटनीतिक पहल गर्ने भनेकै उनीहरुको संलग्नता भएकाले हो’ उनले भने ।

१५ साउनमा जयसिंह धामी भारततर्फ जान तुइन तर्ने क्रममा महाकाली नदीमा खसेका थिए । प्रत्यक्षदर्शीहरुले एसएसबीका जवानले तुइनको तार काटेकै कारण उनी नदीमा खसेको बताएपछि सरकारले घटनाको अनुसन्धान गर्न १७ साउनमा १० दिनको समय दिएर छानविन समिति बनाएको थियो । समितिले स्थलगत अध्ययन गर्नुका साथै प्रत्यक्षदर्शीसँग बयान लिएको थियो ।

तर पटकपटक म्याद थपेको भन्दै आलोचना भएपछि छानविन समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । अब सरकारले कसरी कार्यान्वयन गर्छ, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?