
३१ भदौ, काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल १६८औं स्थानमा यथावत् रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत् रहेको हो ।
अघिल्लो महिना सार्वजनिक वरीयतामा नेपाल १६८ औं स्थानमा थियो । नेपालले यही सेप्टेम्बर महिनामा घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल १–१ को बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल भारतसँग २–१ गोलले पराजित भएको थियो ।
दक्षिण एसियाली राष्ट्रमध्ये नेपाल तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि रहेको भारत १०७ औं र माल्दिभ्स १५८ औं स्थानमा छन् । भारत दुई स्थान तल झरेको हो ।
यस्तै नेपालभन्दा पछि रहेकामध्ये भुटान १८७ औं, बंगलादेश १८९औं, पाकिस्तान १९८औं र श्रीलंका २०५औं स्थानमा छन् ।
विश्व वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत् रहँदा ब्राजिल दोस्रो स्थानमा कायमै छ । इंग्ल्याण्ड तेस्रो स्थानमा उक्लँदा फ्रान्स चौथो स्थानमा झरेको छ ।
इटली पाँचौ, अर्जेन्टिना छैटौं स्थानमा यथावत छन् भने पोर्चुगल सातौं स्थानमा उक्लँदा स्पेन आठौं स्थानमा झरेको छ । मेक्सिको नवौं स्थानमा यथावत् छ । यस्तै डेनमार्क दशौं स्थानमा उक्लँदा अमेरिका शीर्ष दशबाट बाहिरिएको छ ।
प्रतिक्रिया 4