+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुगेर देउवाले भने : सबै समस्या हल हुन्छ, काम नरोक्नू

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २५ गते १३:०२

२५ असोज, पोखरा । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरा अन्तर्राष्ट्रिय विमास्थलका सबै समस्या हल गर्ने बताउँदै तोकिएको समयमै काम सक्ने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् । आइतबार पोखरा आइपुगेका देउवा सोमबार बिहाद विमानस्थलको निरीक्षण तथा प्रगति बुझ्न विमानस्थल पुगेका थिए ।

विमानस्थलको प्रगति र विद्यमान समस्याबारे आयोजना प्रमुख बिनेश मुनकर्मीले ब्रिफिङ गरेका थिए । विमानस्थलबाट उडान अवरोध गर्ने भएकाले काट्ने भनिएको रिठ्ठेपानी डाँडाको रक ईआईए नहुँदा काम अगाडि नबढेको, उत्तरबाट आउने बाढी विमानस्थल छिर्ने समस्या र त्यसले कटानसमेत गर्ने गरेको समस्या मुनकर्मीले देउवालाई सुनाएका थिए ।

बाढी व्यवस्थापन तथा कटान नियन्त्रण गर्न ३४ करोड रुपैयाँ लाग्ने मुनकर्मीको भनाइ थियो । डाँडा कटान गर्न तीन महीना लाग्ने मुनकर्मीले देउवालाई अवगत गराए । नियमित काम गर्न पाउने हो भने वैशाखसम्म निर्माण सकिने मुनकर्मीको ब्रिफिङ थियो ।

प्रधानमन्त्री देउवाले विमानस्थलका सबै समस्या हल गर्ने बताउँदै कामलाई तीव्र बनाउन निर्देशन दिएका हुन् । डाँडा कटानका लागि ईआईए गर्दै गर्ने र काम पनि अगाडि बढाउन देउवाले आग्रह गरे । ‘ईआईए हुँदै जान्छ, डाँडा कटानको काम नरोक्नू । अरु समस्या पनि केके छन्, पूरा हुन्छ । काम छिटो सक्नुपर्‍यो,’ देउवाको निर्देशन थियो । विमानस्थलका लागि आवश्यक बजेट छुट्याउने देउवाको आश्वासन थियो ।

‘प्रधानमन्त्रीज्यूले समस्याबारे जिज्ञासा राख्नुभएको थियो । हामी यथार्थ प्रस्तुत गर्‍यौं’ मुनकर्मीले भने, ‘उहाँले सबै समस्या संघले हल गर्ने र कामलाई तीव्रता दिएर समयमै सक्न निर्देशन दिनुभयो ।’ प्रधानमन्त्रीले विमानस्थल निर्माण छिटो सक्ने र उडानका लागि आवश्यक प्रक्रिया पूरा गरेर सञ्चालनमा ल्याउने बताएका थिए । यो विमानस्थल बनेपछि देशको समृद्धि र पर्यटकीय सहर पोखराका लागि पनि धेरै महत्वपूर्ण हुने देउवाको भनाइ थियो ।

ल्याण्डफिल्डका लागि सहजीकरण गर्ने, डाँडा कटान, ढल तथा कटान व्यवस्थापनमा संघ सरकारले समस्या समाधान गर्ने प्रधानमन्त्रीले बताएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले जानकारी दिए । विमानस्थल नजिकै रहेको पोखरा महानगरको ल्याण्डफिल्डका कारण उडान अवरुद्ध हुने बताइए पनि अहिलेसम्म अर्को विकल्प तयार भइसकेको छैन ।

जनवरीदेखि आन्तरिक उडान गर्ने भनिएको भए पनि त्यो सम्भव नहुने मुनकर्मीले बताए । वैशाखबाट पनि विमानस्थल सञ्चालनमा आउन सक्ने उनको भनाइ थियो ।

आइतबार गण्डकीलाई साक्षर प्रदेश घोषणा गर्न आइपुगेका देउवा सोमबार बिहान पोखरा विमानस्थलबाट हेलिकप्टरमार्फत अन्तर्राष्ट्रिय विमानस्थल पुगेर त्यहीँबाट काठमाडौं फर्किएका छन् । विमास्थल निर्माणको काम ८५ प्रतिशत सकिएको मुनकर्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?