+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
चाँदी तस्करी प्रकरण : :

राजस्वले थाल्यो छानबिन, धागो खरिद बिक्री गर्ने फर्मबाट चाँदीको कारोबार

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ कात्तिक १७ गते १९:२०

१७ कात्तिक, काठमाडौं । धागोको खरिद बिक्री गर्ने उदेश्यले खोलिएको फर्मबाट चाँदीको कारोबार भएको रहस्य खुलेको छ । नेपाल भित्रिएको ठूलो परिमाणको चाँदीको अपचलनबारे अनलाइनखबरले गत सोमबार चाँदी तस्करीको ‘ट्रान्जिट’ बन्दै देश शीर्षकमा प्रकाशित गरेको समाचारका आधारमा राजस्व अनुसन्धान विभागले शुरु गरेको अनुसन्धानमा यस्तो रहस्य बाहिरिएको हो । फरक उदेश्य राखेर खोलिएका फर्महरु पनि चाँदीको कारोबारमा संलग्न रहेको पाइएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् ।

‘धागो आयात र कारोबारको उदेश्य राखेर खुलेको फर्मले ठूलो मात्रामा चाँदीको कारोबार गरेको भेटिएको छ,’ विभाग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘नेपाल भित्रिएको चाँदीको अपचलनबारे अनुसन्धान शुरु भएको छ, पछिल्ला तीन वर्षमा नेपालमा चाँदी आयातमा संलग्नहरु अनुसन्धानको घेरामा छन्, प्रारम्भिक विवरण लिइसकेका छौं ।’

नेपालबाट भारततर्फ हुने चाँदीको अवैध कारोबारबारे शुरु भएको अनुसन्धानमा नयाँ-नयाँ तथ्यहरु फेला परेको छानबिनमा संम्लग्न अधिकारीहले बताएका छन् ।

विभागले संकलन गरेको प्राथमिक चरणको प्रमाणअनुसार नेपालमा चाँदी आयातमा करिब ५० फर्म नियमित रुपमा संलग्न देखिएका छन् । जसमध्ये एक दर्जन बढी फर्मको कारोबार अस्वभाविक पाइएको छ । विभागले आर्थिक वर्षमा १० पटकभन्दा धेरै चाँदी आयातमा संलग्न फर्मलाई अनुसन्धानको पहिलो घेरामा राखेको जनाएको छ ।

नेपालमा चाँदी भित्र्याउन सुन चाँदी व्यवसायी भन्दा पनि बाहिरका फर्महरुको संलग्नता धेरै रहेको भेटिएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए । ‘धागोको कारोबार गर्ने भनि खोलिएको फर्मसमेत चाँदीको कारोबारमा संलग्न रहेको पाइयो । विस्तृत विवरण केलाउँदै छौं’ ति अधिकारीले भने । नेपालमा चाँदी आयातमा संलग्न फर्महरु काठमाडौं उपत्यकादेखि प्रदेश २ का जिल्लाहरुमा समेत दर्ता रहेको प्रारम्भिक अनुसन्धानमा भेटिएको विभागले जनाएको छ ।

नेपाल भित्रिएको चाँदीको सबै परिमाण त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँच पास भएको पाइएको छ । नेपाल ल्याइएका चाँदीको ठूलो हिस्सा संयुक्त अरब इमिरेट्स (दुबई) मा खरिद गरिएको देखिएको विभागले जनाएको छ । नेपालसम्म चाँदी आयात गर्न कानुनी रुपमा वैध भए पनि आयातकर्ताबाट चाँदी कहाँ बिक्री भयो र त्यो सरकारको राजस्वको दायरामा थियो कि थिएन भन्ने खोजी विभागको प्राथमिकतामा हुने अधिकारीहरुले बताएका छन् । ‘चाँदी आयातमा संलग्न सबै फर्महरुको सबै कारोबार क्रमैसँग हेरिने र कैफियात भएकाहरुलाई आवश्यक कानुनी प्रक्रिया शुरु गरिनेछ,’ ति अधिकारीले भने ।

तीन वर्ष ३ महिनामा नेपाल भित्रिएको ४७ अर्ब रुपैयाँ बराबरको ४ लाख ५० हजार किलो चाँदीको हिसाब देशको मुल आर्थिक प्रणालीमा पाइएको छैन् । यो परिमाणको चाँदी वैधानिक प्रक्रियाबाट नेपालमा भित्रिएको, यहाँ खपत पनि नभएको र औपचारिक प्रक्रियाबाट निर्यात भएको देखिएको छैन् ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?