+
+

प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा लैजान जसपाका मन्त्री हटाइँदै

श्रवण देव श्रवण देव
२०७८ कात्तिक २९ गते १६:१९
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत

२९ कात्तिक, जनकपुरधाम । प्रदेश २ मा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । प्रदेशसभामा १३ जना सांसद रहेको एकीकृत समाजवादीलाई दुई मन्त्रालय दिएर सरकारमा ल्याउने तयारी भएको प्रदेश मन्त्रिपरिषद स्रोतले जानकारी दिएको छ ।

उसलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय दिने लगभग पक्का भएको छ । त्यसका लागि हालका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई राजीनामा दिन मुख्यमन्त्री लालबाबु राउतले निर्देशन दिइसकेको प्रदेश सरकार निकट स्रोतको दावी छ ।

‘उनले राजीनामा नदिए हटाएर भएपनि एकीकृत समाजवादीलाई उक्त मन्त्रालय दिइनेछ’ स्रोतले भन्यो ।

तत्कालिन मधेशी जनअधिकार फोरम नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार रहेको प्रदेश २ मा यी दुबै पार्टी एकीकरण भएर जसपा बनेको थियो । तर, केपी ओली नेतृत्वको संघीय सरकारमा सहभागी भएको भन्दै उपेन्द्र यादव पक्षले तत्कालिन महन्थ ठाकुर पक्षका मन्त्रीलाई पदमुक्त गरेका थिए । त्यतिबेला उपेन्द्र यादव पक्षलाई साथ दिएपछि रामनरेशलाई भने पदमुक्त गरिएको थिएन ।

महन्थ ठाकुर पक्षलाई हटाएर कांग्रेस र माओवादीलाई सरकारमा ल्याइएको छ । कांग्रेसले भौतिक पूर्वाधार तथा विकास, महिला, बालबालिका तथा खेलकुद र खानेपानी तथा उर्जा मन्त्रालय लिएको छ । नेकपा माओवादी केन्द्रले आन्तरिक मामिला तथा कानून मन्त्रालय लिएर सरकारमा सहभागी भएको छ ।

नेकपा एकीकृत समाजवादीलाई सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको शिक्षा फाँटलाई अलग्गै मन्त्रालय बनाउने र सो मन्त्रालयको जिम्मा पनि दिने तयारी छ ।

नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता शत्रुद्यन महतोले आफूहरुले पाउने मन्त्रालयको टुंगो आजै लाग्ने बताए । ‘प्रदेश सरकारसँग हामी आज छलफल गर्दैछौं, मन्त्रालयको टुंगो आजै लाग्नेछ’ उनले भने । मन्त्रालय टुंगो लाग्नेवित्तिकै आफूहरु सरकारमा सहभागी हुने उनको भनाइ छ ।

पुनः फुटाउँदै मन्त्रालय

सुरुमा ६ मन्त्रालय रहेको प्रदेशमा कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन मन्त्रालयको संख्या बढाएर १० पुर्‍याइएको छ ।

यसमध्ये ४ वटा मन्त्रालय जसपाले राखेको छ भने ३ वटा कांग्रेसलाई र १ वटा नेकपा माओवादी केन्द्रलाई दिइएको छ । दुई वटा मन्त्रालय मुख्यमन्त्री राउतले आफैंसँग राखेका छन् ।

मुख्यमन्त्री राउतले कानुन न्याय तथा प्रदेशसभा मन्त्रालय र वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय राखेका छन् । मुख्यमन्त्रीसँग रहेका दुईवटा मन्त्रालय एकीकृत समाजवादीलाई दिने मुख्यमन्त्रीको तयारी थियो । तर उनीहरुले यी दुबै मन्त्रालय लिन नमानेको प्रदेश सरकार स्रोतको भनाइ छ ।

ती मन्त्रालय लिन नमानेपछि सामाजिक विकास मन्त्रालय पुनः फुटाएर शिक्षा मन्त्रालय बनाउन लागिएको स्रोतको दावी छ ।

लेखकको बारेमा
श्रवण देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?