
१९ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार भिडियो कलमार्फत् कुराकानी गर्ने भएका छन् ।
युक्रेनलाई लिएर तनाव चुलिइरहेका बेला बाइडेन र पुटिनबीच भिडियो कल हुन लागेको ह्वाइट हाउसले जनाएको हो ।
ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले शनिबार साँझ एक विज्ञप्ति जारी गर्दै मंगलबार हुन लागेको भिडियो कलमा बाइडेनले युक्रेनी सीमा नजिकै रुसी सेनाको बढ्दो गतिविधिबारे कुरा उठाउने बताएकी छन् ।
बाइडेनले पुटिनसँगको भिडियो कलमा युक्रेनको सार्वभौमिकता र भौगोलिक अखण्डताप्रति अमेरिकी समर्थन पुन: दोहोर्याउने पनि विज्ञप्तिमा उल्लेख छ ।
हालै अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले युक्रेनमाथि ‘ठूलो हमला’ गर्ने रुसी योजना रहेको बताएका थिए । तर रुसले युक्रेनमाथि हमला गर्ने आफ्नो कुनै योजना वा नियत नभएको बताउँदै आएको छ ।
ब्लिङ्केनको उक्त भनाइलगत्तै बाइडेनले आफ्ना रुसी समकक्षीसँग युक्रेनबारे छलफल गर्ने तयारी गरेको बीबीसीले जनाएको छ ।
युक्रेनले रुसमाथि आफ्नो सीमाना नजिकै भारी हतियारसहित सैन्य बाहन, विद्युतीय युद्ध प्रणाली र ९४ हजार सेना तैनाथ गरेको आरोप लगाएको छ । तर युक्रेनले आफ्ना अधिकांश सैनिक पूर्वी सीमामा तैनाथ गरिरहेको रुसको दाबी रहेको छ । बीबीसीबाट
प्रतिक्रिया 4