+
+

जब पार्टी प्यालेसमा बिहे भोजको मासु गन्हायो

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ मंसिर २६ गते २०:०५

२६ मंसिर, काठमाडौं । मंसिर २२ गते साँझपख खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलमा कलंकीबाट एक जनाले फोन गरेर आफूहरुले भोजमा खाएको मासु गन्हाएको गुनासो टिपाए । विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यका अनुसार गुनासो टिपाउनेले फोनमा भनेका थिए ‘हामी बिहे भोजमा छौं, यहाँ पार्टी प्यालेसले बफेटमा राखेर खुवाइरहेको खसीको मासु अस्वाभाविक रुपमा गन्हाएको छ,’ सत्यतथ्य जाँच गर्न आइदिनुपर्‍यो ।’

उपभोक्ताको गुनासोलगत्तै खाद्य निरीक्षक बिजन श्रेष्ठको नेतृत्वमा नेपाल प्रहरीसहितको टोली कलंकीको लामपाटीस्थित मायाज भेन्यू ब्यांकेट रेष्टुराँ एण्ड बारमा पुग्यो । बिहेको भोजमा बिहानैदेखि खुवाइराखेको मासु खाद्य निरीक्षक श्रेष्ठको टोलीले गरेको प्रारम्भिक अनुसन्धानमा अस्वाभाविक रुपले गन्हाएको पुष्टि भयो ।

‘मासु खानाका लागि योग्य नहुने गरी गन्हाएको पाएपछि हामीले भोजमा सहभागीलाई मासु नखान आदेश दियौं,’ विभागमा खाद्य निरीक्षक श्रेष्ठले अनलाइनखबरसँग भने । मासु गन्हाउनुको कारण खोज्दा पार्टी प्यालेसले मासुको भण्डारणमा गम्भीर लापरबाही गरेको पाइएको उनले बताए ।

बिग्रिएको फ्रिजमा केही दिनदेखि मासु राखिएको र त्यसलाई नै पकाउँदा अस्वाभाविक रुपमा गन्हाएको श्रेष्ठले बताए । खाद्य स्वच्छताको आधारभूत मापदण्ड पनि पार्टी प्यालेसले पालना नगर्दा बिग्रिएको मासु उपभोक्तासम्म पुगेको विभागको प्रारम्भिक अनुमान छ ।

पार्टी प्यालेसले सफा र निश्चित तापक्रममा फ्रिज राख्नुपर्नेमा त्यसो नगरेको, मासु र अन्य वस्तु फ्रिजमा अव्यवस्थित ढंगबाट भण्डारण गरेको र पाकेको र नपाकेको खाद्यान्न एकै ठाउँमा राखेको पाइएको विभागको भनाइ छ । यस्तै पार्टी प्यालेसको भान्सा पनि सफा र सुरक्षित नपाइएको विभागले जनाएको छ ।

पार्टी प्यालेस सिल, गन्हाएको मासु परीक्षणमा

पार्टी प्यालेसले खाद्य स्वच्छता ऐन विपरीत कार्य गरेपछि विभागले बुधबार देखिनै पार्टी प्यालेसको सबै प्रकारको सेवालाई निलम्बन गरेको विभागकी महानिर्देशक वैद्यले जानकारी दिइन् ।

उपभोक्ताको स्वस्थ्यमा गम्भीर लापरबाही भएको घटनामा थप अनुसन्धान गरिरहेको भन्दै विभागले गन्हाएको मासु प्रयोगशाला परीक्षणमा पठाएको उनले बताइन् ।

खाद्य ऐनअनुसार होटल रेष्टुराँका लागि बनाइएको मापदण्ड तत्काल कार्यान्वयन गर्न पार्टी प्यालेसलाई निर्देशन दिइएको पनि उनको भनाइ छ । प्रयोगशाला परीक्षणको रिपोर्टपछि मात्रै पार्टी प्यालेसको कारोबार खोल्नेबारे निर्णय लिने विभागले जनाएको छ ।

सञ्चालक भन्छन् : गल्ती भयो

पार्टी प्यालेसले भने गल्ती भएको स्वीकार गरेको छ । गत बुधबार बिहान ११ बजेदेखि दुई सिफ्टमा ४८५ जनालाई खाना खुवाएको र घाम लाग्ने ठाउँमा रहेको बफेटको मात्रै मासु गन्हाएको पार्टी प्यालेसका सञ्चालक विकासकुमार प्रधानले बताए । उनले मासुको गुणस्तरमा शंका नगर्न आग्रह गरे ।

पार्टी प्यालेसको माथिल्लो तलामा र भुइँतलाको चौरमा गरी दुई ठाउँमा त्यो दिन भोज रहेको र चौरको भोजको मासुमा समस्या देखिएको दाबी सञ्चालक प्रधानको छ । चौरमा रहेको बफेट सेटको खसीको मासु हल्का फरक देखिनेबित्तिकै पार्टीको आयोजक बेहुली पक्षलाई जानकारी गराएको तर उनीहरुले ठीक छ भनेको प्रधानको दाबी छ ।

तर केही व्यक्तिले हल्ला फिँजाएको सञ्चालक प्रधानले बताए । ‘तिनै केटाहरुले सरकारी निकायलाई खबर गरेछन्, साढे ४ बजेतिर उहाँहरु आएर बन्द गराउनुभयो’ सञ्चालक प्रधानले भने ।

उनले गुणस्तरहीन खाद्यान्न बेच्ने आफ्नो मनसाय नभएको पनि बताए । ‘म पहिलो पटक यो व्यवसायमा आएको हुँ, केही कुरा जान्न बाँकी पनि छ तर मैले गुणस्तरहीन र स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्ने गरी सेवा दिन चाहेको होइन, मेरो दिन दशा बिग्रिएछ,’ प्रधानले भने ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?