
२९ मंसिर, काठमाडौं । राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा.डा. रमेशकान्त अधिकारीले आधा जनसंख्यालाई दुवै डोज खोप दिएपछि बुस्टर डोज दिन सकिने बताएका छन् ।
स्वास्थ्य मन्त्रालयको बुधबारको नियमित प्रेस ब्रिफिङमा प्रा. डा. अधिकारीले खोप लगाउने उमेर समूहका ५० प्रतिशतभन्दा बढीलाई दुबै मात्रा खोप दिएपछि मात्रै बुस्टर डोज दिन सकिने बताएका हुन् ।
पछिल्लो समय कोरोना महामारीको नयाँ भेरियन्ट फेला परेकाले फ्रन्टलाइनरलाई भए पनि बुस्टर डोज दिनुपर्ने माग भइरहेका बेला खोप सल्लाहकार समितिका अध्यक्षको यस्तो प्रतिक्रिया आएको हो ।
उनले भने, ‘जबसम्म ५० प्रतिशत जनसंख्यालाई पूर्ण मात्रा खोप लगाउन सकिँदैन तबसम्म बुस्टर डोज दिन सकिँदैन ।’
उनले अघि भने, ‘केही व्यक्ति मात्रै सुरक्षित भएर यो रोगबाट हामी सुरक्षित हुन सक्दैनौं । जबसम्म सबै सुरक्षित छैनन् तबसम्म म सुरक्षित हुनसक्छु भन्ने कुरा कसैले पनि नसोचे हुन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि यही सिद्धान्तलाई महत्व दिएको छ ।’
डब्ल्यूएचओले विकसित मुलुकहरुलाई पनि बारम्बार आफू मात्रै सुरक्षित हुने बाटोतर्फ नलाग्न घच्घचाइरहेको प्रा.डा. अधिकारीको भनाइ छ ।
कहिले पुग्छ ५० प्रतिशतलाई खोप ?
स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल आगामी १५ दिनभित्रमा पूर्ण खोप लगाउने लक्षित जनसंख्या ५० प्रतिशत पुग्ने अनुमान गरेका छन् ।
मंगलबारसम्म लक्षित जनसंख्याको ४७ प्रतिशतलाई पूर्ण खोप दिइसकेको भन्दै उनले बढीमा १५ दिनभित्र पूर्ण खोप पाउने लक्षित जनसंख्या ५० प्रतिशत पुग्ने उनको अनुमान छ ।
पछिल्लो समय दैनिक दुई लाख जनसंख्यालाई खोप लगाउने लक्ष्यका साथ खोप अभियान सञ्चालन भइरहेको उनको भनाइ छ ।
बुस्टर डोजको रुपमा कुन खोप लगाउने ?
पछिल्लो समय बुस्टर डोज लगाउने सम्बन्धमा धेरैको चासो बढेको प्रा. डा. अधिकारी बताउँछन् ।
डा. अधिकारीले भने, ‘डब्ल्यूएचअको अध्ययनको आधारमा पहिला जुन खोपको मात्रा लगाएको हो त्यही खोप लगाउन उपयुक्त हुन्छ ।’
ज्येष्ठ नागरिकलाई अतिरिक्त खोप
डा. रमेशकान्त अधिकारीले जेष्ठ नागरिक तथा दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको अतिरिक्त खोप दिन सिफारिस गरिएको बताएका छन् ।
भेरोसेल खोपको दुवै मात्रा लगाएका ६० वर्ष पुगेका, दीर्घ रोगी तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिलाई अतिरिक्त खोप दिन सिफारिस गरिएको बताए ।
सल्लाहकार समितिले ६० वर्ष पुगेका, दीर्घरोगी, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरु जसले भेरोसेल खोपको दुवै मात्रा लगाएका छन् त्यस्ता व्यक्तिलाई भेरोसेल खोपको थप एक मात्रा लगाउन सिफारिस गरेको प्रा. डा. अधिकारीले जानकारी दिए ।
सरकारले पनि सल्लाहकार समितिले सिफारिस गरेअनुसारकै लक्षित समूहलाई भेरोसेलको अतिरिक्त खोपको मात्रा दिने उनको भनाइ छ ।
प्रतिक्रिया 4