
११ पुस, काठमाडौं । भारतमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमित निरन्तर बढ्न थालेका छन् । ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेसँगै भारतका कैयौं राज्यमा उच्च सतकर्ता अपनाउन थालिएको छ ।
भारतका १७ वटा राज्य र युनियन टेरिटरीमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । आइतबारसम्म ओमिक्रोन संक्रमितको कुल संख्या ४२२ पुगेको छ । ओमिक्रोनको कुल संक्रमितमध्ये १३० जना निको भएको भारतीय समाचार माध्यमले जनाएका छन् ।
संक्रमितमध्ये महाराष्ट्र र दिल्लीमा सबैभन्दा धेरै छन् । महाराष्ट्रमा हालसम्म १०८ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ भने दिल्लीमा ओमिक्रोन संक्रमितको संख्या ७९ पुगेको छ ।
त्यस्तै, गुजराजतमा ४३, तेलङ्गानामा ४१, केरलामा ३८ र तमिलनाडुमा ३४ मा ओमिक्रोन पुष्टि भएको छ । कर्नाटकमा ३१ र पश्चिम बंगालमा ६ जनामा यो भेरियन्ट देखा परेको छ भने हरियाणा, ओडिसा र आन्ध प्रदेशमा ४-४ जना संक्रमित भएका छन् ।
ओमिक्रोन फैलिएका अन्य राज्यमा जम्मू-कश्मिर (३ जना), उत्तर प्रदेश (२ जना) रहेका छन् भने युनियन टेरिटरी चन्डीगढ र लद्दामा पनि १-१ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको छ ।
ओमिक्रोन संक्रमित बढ्न थालेसँगै कर्नाटकमा मंगलबारदेखि १० दिनसम्म रात्रिकालीन कर्फ्यू लगाइने भएको छ । त्यहाँका स्वास्थ्यमन्त्री के. सुधाकरले डिसेम्बर २८ गतेदेखि राति १० बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू लगाइने बताएका हुन् ।
योसँगै हालसम्म भारतका ७ राज्यमा रात्रिकालीन कर्फ्यू लगाएको छ । यसअघि महाराष्ट्र, मध्य प्रदेश, गुजरात, हरियाणा, कर्नाटक र उत्तर प्रदेशमा राति १० बजेदेखि ५ बजेसम्म कर्फ्यू लगाइएको छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4