
१५ पुस, काठमाडौं । चिकित्सा शिक्षा आयोगले पारामेडिक्सतर्फ विद्यार्थी संख्या कम भएर कलेजहरुले पठन पाठन गराउन नमान्ने समस्या समाधान हुने बताएको छ ।
चिकित्सा शिक्षा आयोगले छात्रवृत्तिमा निकै कम विद्यार्थी मात्र उतीर्ण गरेको भन्दै कतिपय कलेजले पारामेडिक्सका विषय अध्यापन गराउन नसक्ने बताएका थिए । त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयले विद्यार्थी संख्या कम भएकोले सबै कलेजहरुको विद्यार्थी कुनै एक सम्बन्धित कलेजमा पढाउन दिन आयोगसँग अनुमति मागेको थियो ।
आयोगले पूर्वाञ्चल विश्वविद्यालयको उक्त प्रस्ताव कार्यकारी समितिबाट स्वीकृत भएको बताएको छ । आयोगका उपसचिव सेमन्तराज कोइरालाले सूचना जारी गरी भनेका छन्, ‘…आयोगबाट म्याचिङमा छात्रवृत्तितर्फ विश्वविद्यालयमार्फत भर्ना भएका र न्युन संख्यामा विद्यार्थी भर्ना भई शिक्षण संस्थानमा अध्ययन गर्न असमर्थ भएका विद्यार्थीहरुको व्यवस्थापनका लागि विश्वविद्यालयसँग प्रस्ताव माग गरिएकामा विश्वविद्यालयहरुबाट पेश भएको प्रस्ताव कार्यकारी समितिबाट स्वीकृत भएको छ ।’
पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुले पारामेडिकल अन्र्तगतका बीएससी नर्सिङ, बीपीएच, बी फर्माका विद्यार्थी संख्या कम भएको भर्ना गर्न मानेका थिएनन् ।
विश्वविद्यालयले बीएससी नर्सिङ नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसन र काठमाडौं मोडल हस्पिटल स्कुल अफ नर्सिङमा पढाउने प्रस्ताव आयोगमा पठाएको थियो ।
त्यस्तैगरी बीफर्मा र बीपीएचका लागि कान्तिपुर मेडिकल कलेज, लिटिल बुद्घ कलेज अफ हेल्थ साइन्सेज, होप इन्टरनेसनल कलेजमा पढाउने प्रस्ताव पठाएको थियो ।
प्रतिक्रिया 4