
२० पुस, काठमाडौं । अभिनेत्री वर्षा राउत र अभिनेता तथा व्यवसायी सञ्जोग कोइरालाबीचको सम्बन्ध धेरैका लागि उदाहरण बन्ने गरेको छ । एकअर्कालाई हरेक पाइलामा साथ दिँदै आएका उनीहरुले ६ वर्ष लामो प्रेम सम्बन्धलाई चार वर्षअघि विवाहमा परिणत गरेका हुन् ।
वर्षा चलचित्रको काममा बढी व्यस्त छिन् भने सञ्जोग आफ्नो व्यवसायमा नै सक्रिय छन् । वर्षा र सञ्जोगको सामाजिक सञ्जाललाई फलो गर्ने हो भने यी दुईले घुमघामका तस्वीरदेखि एकअर्कासँग रमाएका थुप्रै तस्वीर पोष्ट गरेका थिए ।
तर, अभिनेत्री वर्षा राउतको इन्स्टाग्रामबाट भने केही दिनयता सञ्जोगसँगका अधिकांश तस्वीर हटेका छन् । वर्षाले सञ्जोगसँग खेलेका विज्ञापनका भिडियो र फोटो बाहेक दुई जनाका अन्य तस्वीर हटाएकी छन् ।
सञ्जोगको इन्स्टाग्राममा भने वर्षासँगका तस्वीर सबै हेर्न सकिन्छ । नेपाली चलचित्रको लभ बर्डको रुपमा चिनिएका वर्षा र सञ्जोगले केही दिनअघि चिया अड्डाको नयाँ शाखा उद्घाटन समारोहमा एकसाथ अन्तर्वार्ता दिएका थिए ।
तर, वर्षाको इन्स्टाबाट सञ्जोगसँगका अधिकांश तस्वीर हट्नुले उनीहरुको सम्बन्धमा कतै चिसोपना आएको त होइन भन्ने अड्कल उनीहरुका फ्यानहरुले लगाएका छन् ।
यस विषयमा अनलाइनखबरसँग कुरा गर्दै वर्षाले भनिन्, ‘हाम्रो झगडा पर्दा मैले दुईजनाको सबै फोटो अर्काइभमा राखेकी हुँ, कहिलेकाहीं त श्रीमानलाई घुर्की देखाइहालिन्छ नि ।’
प्रतिक्रिया 4