
२६ पुस, काठमाडौं । साउथको सफल चलचित्र ‘विक्रम वेधा’को हिन्दी रिमेकमा अभिनेता हृतिक रोशन र सैफअली खानले काम गरेका छन् । हृतिकले दुबईमा यो चलचित्रको एक्सन दृश्यको छायांकन गरेका थिए । यस्तै, सैफले चलचित्रको छायांकन १२ दिनसम्म लखनउमा गरेका थिए ।
गत वर्षको डिसेम्बरमा छायांकन सकिएको यो चलचित्रको कुनै पनि तस्वीर भने सार्वजनिक भएको थिएन । तर, हृतिकको सोमबार परेको जन्मदिनको अवसरमा निर्माणपक्षले उनको फस्टलुक सार्वजनिक गरेको छ । चलचित्रमा हृतिक ‘वेधा’को भूमिकामा छन् ।
हृतिक सोमबारबाट ४८ वर्षमा प्रवेश गरेका छन् । उनले आफ्नो तस्वीर शेयर गर्दै वेधा मात्र लेखेका छन् ।
यो चलचित्रले ग्याङस्टार र प्रहरीको कथा भन्छ । चलचित्रमा हृतिक ग्याङस्टारको भूमिकामा देखिएका छन् । यो चलचित्रलाई टी सिरिज र रिलायन्स इन्टरटेन्मेन्टले प्रस्तुत गरेका हुन् । पुष्कर र गायत्रीले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर २२ तारिखबाट रिलिज हुँदैछ ।
हृतिकको पछिल्लो चलचित्र ‘वार’ले बक्स अफिसमा धुम मच्चाएको थियो । चलचित्र हिट भएपछि उनको माग बलिउडका एक्सन जनराका चलचित्रमा फेरि बढेको छ ।
प्रतिक्रिया 4