
५ माघ, काठमाडौं । नेपाल सरकारका मन्त्रालय र मातहतका निकायसँग कुल १ खर्ब ८० करोड रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति रहेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले आर्थिक वर्ष २०७६/७७ बाट ‘नेपाल सरकारको सार्वजनिक सम्पत्तिको अवस्था’ अध्यावधिक गर्न थालेको हो । तर, सार्वजनिक सम्पत्तिको व्यवस्थापनको थिति कमजोर हुँदा भएका सम्पत्ति पनि सही तरिकाबाट विवरणमा समेटिन नसकेको देखिन्छ ।
आर्थिक वर्ष २०७७/७८ मा संघीय मन्त्रालय, निकाय र ती अन्तर्गतका कार्यालयले आफूसँग कुल १ खर्ब ८० करोड रुपैयाँको बराबरको सम्पत्ति रहेको विवरण महालेखा नियन्त्रक कार्यालयलाई बुझाएका छन् । यसअघि आर्थिक वर्ष २०७६/७७ मा मात्र ९० अर्ब रुपैयाँ बराबरको मात्र सम्पत्ति विवरण अध्यावधिक भएको थियो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार प्रत्येक सरकारी कार्यालयले आफ्नो हक स्वामित्वमा रहेको सम्पत्तिको लेखांकन, उपयोग तथा संरक्षण गर्नुपर्छ । ती निकायले पठाएको विवरणका आधारमा महालेखा नियन्त्रक कार्यालयले एकिकृत विवरण राख्ने गरि सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली बनाइएको छ ।
सोही प्रणालीमा समावेश भई कार्यालयहरुले उपलब्ध गराएको विवरणका आधारमा यस्तो आंकडा आएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अहिले अधिकांश सरकारी निकायले आफुसँग रहेको सार्वजनिक सम्पत्तिको वर्तमान बजार मूल्य अनुसार वास्तविक मूल्यांकन गरिसकेका छैनन् । सोहीकारण सम्पत्ति समेत अपेक्षाभन्दा कम देखिएको छ ।
सबैभन्दा बढी गृहको सम्पत्ति
कार्यालयका अनुसार सबैभन्दा बढी सम्पत्ति गृह मन्त्रालयले देखाएको छ । सो मन्त्रालयको सम्पत्ति २७ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । रक्षा मन्त्रालयले २१ अर्ब ९२ करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको तथ्यांक देखाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६ अर्ब २० करोड रुपैयाँ बराबरको सम्पत्ति देखाएको छ । अर्थ मन्त्रालयले ४ अर्ब ६७ करोड रुपैयाँ देखाएको छ । सबैभन्दा कम आदीवासी तथा जनजाती आयोगको १७ लाख रुपैयाँको सम्पत्ति मौज्दात रहेको देखिएको छ ।
कुन निकायसँग कति रकम बराबरको सम्पत्ति ?
निकाय | परिमाण | रकम |
राष्ट्रपति | ३०८३९ | १८ करोड ७७ लाख |
उपराष्ट्रपति | ३७९५ | ७ करोड ५७ लाख |
प्रदेश प्रमुख | १२१८२ | ११ करोड २६ लाख |
संघीय संसद | २३३४४७ | ४ करोड ४६ लाख |
अदालत | १४४५७१० | ३ अर्ब ५० करोड |
अख्तियार दुरुपयोग अनुसन्धान आयोग | ५७९६९ | ६६ करोड ५९ लाख |
महालेखा परीक्षकको कार्यालय | ३६९३४ | ११ करोड ६ लाख |
लोकसेवा आयोग | १३७९९० | ३३ करोड ३४ लाख |
निर्वाचन आयोग | १७१५१८ | १ अर्ब ४२ करोड |
राष्ट्रिय मानवाधिकार आयोग | ४१७२२ | १३ करोड ६२ लाख |
न्याय परिषद् | ५५० | ५ करोड ७१ लाख |
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग | १९३४३ | ९ करोड ४३ लाख |
राष्ट्रिय महिला आयोग | २४०३३ | ५ करोड ६९ लाख |
राष्ट्रिय दलित आयोग | १९२७ | २ करोड ४९ लाख |
राष्ट्रिय समावेशी आयोग | १०४७ | ३ करोड ६७ लाख |
आदिवासी जनजाति आयोग | ४४ | १७ लाख |
मधेशी आयोग | १६२५५ | ४ करोड ९ लाख |
थारु आयोग | ३६०२ | २ करोड ७६ लाख |
मुस्लिम आयोग | ५५४२८ | ४ करोड ६७ लाख |
राष्ट्रिय योजना आयोग | ४६५७९२ | ४१ करोड ४३ लाख |
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण | २७८९८९ | ७८ करोड ७४ लाख |
कुन मन्त्रालयसँग कति सम्पत्ति ?
महालेखाले हरेक वर्ष वित्तीय आम्दानी र खर्चको हिसाव पठाउँदा आफुसँग भएको सम्पत्तिको विवरण समेत पठाउन भनेपछि अहिले निकायहरुले यस्तो हिसाव पठाउन थालेका छन् ।
यद्यपी विस्तृत मूल्यांकनसहित सरकारी सम्पत्तिको हिसाव भने गरिएको छैन । महालेखामा विभिन्न मन्त्रालयले पठाएको सम्पत्तिको विवरण यस्तो छ ?
मन्त्रालय | परिमाण | रकम |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय | ६६०४१० | २ अर्ब ५२ करोड |
अर्थ मन्त्रालय | २३६९४८३ | ४ अर्ब ६७ करोड |
उद्योग, वाणिज्य तथा आपूर्ति | ११४३८९४ | ६४ करोड ९० लाख |
उर्जा, जलस्रोत तथा सिंचाई | १०८३७७६ | ३ अर्ब ४० करोड |
कानून, न्याय तथा संसदीय मामिला | ८२६७२ | २२ करोड १९ लाख |
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय | ४५२१४७९ | ४ अर्ब २६ करोड |
खानेपानी मन्त्रालय | ४७५२९४ | ७३ करोड ७९ लाख |
गृह मन्त्रालय | ८५६८९८६ | २७ अर्ब ७४ करोड |
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय | १२६८५१ | ५६ करोड ९ लाख |
परराष्ट्र मन्त्रालय | ८५६३६७ | ५५ करोड २३ लाख |
वन तथा वातावरण मन्त्रालय | २४०३४२४ | ९७ करोड ९३ लाख |
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण | ३१३१९५० | ३ अर्ब ७ करोड |
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय | ७९८४१३ | ६ अर्ब २० करोड |
महिला, बालबालिका तथा जेष्ठ नागरिक | ५९४२१ | ९ करोड ३३ लाख |
युवा तथा खेलकुद मन्त्रालय | २२१५४ | ११ करोड ७० लाख |
रक्षा मन्त्रालय | १६७८८२७ | २१ अर्ब ९२ करोड |
शहरी विकास | ५५२९९० | १ अर्ब २९ करोड |
शिक्षा, विज्ञान तथा प्रविधि | ४९३६५२ | १ अर्ब ८ करोड |
संचार तथा सूचना प्रविधि | ७९६६७९० | ६ अर्ब २० करोड |
संघीय मामिला तथा सामान्य प्रशासन | ३४३९३२ | १ अर्ब ३३ करोड |
स्वास्थ्य तथा जनसंख्या | १०७८७६९१ | ४ अर्ब ६९ करोड |
श्रम, रोजगार तथा सामाजिक सुरक्षा | २७५४८० | २७ करोड ३४ लाख |
स्रोत : महालेखा नियन्त्रक कार्यालय
प्रतिक्रिया 4