
६ माघ, काठमाडौं । ‘पार्टी भनेको फहराइरहेको झण्डा हो ..। बाँकी दिनहरू हेर्ने र पर्खिने पक्षमा छु’, जाजरकोट एमाले उपाध्यक्षमा पराजित भएपछि नवराज सिंहले लेखेका छन् । जिल्ला अध्यक्ष निर्वाचित खिमबहादुर शाहीलाई बधाई दिंदै सिंहले खबरदारी पनि गरेका छन् ।
निर्विरोध नेतृत्व चयनको प्रयत्न सफल नभएपछि जाजरकोट जिल्ला नेतृत्व चयन गर्न खिमबहादुर र करबीर शाहीले प्यानल बनाएरै प्रतिस्पर्धा गरेका थिए । करबीरको प्यानलबाट सिंह उपाध्यक्षका प्रत्यासी थिए । तर इतर प्यानलका गोपाल बटालासँग पराजित भए ।
चुनावी परिणाम स्वीकार्दै सिंहले सामाजिक सञ्जालामा थप लेखेका छन्, ‘आफूले भनेको मान्नेहरू मात्रै कार्यकर्ता हुन् । बहस छलफल गर्ने र असहमति राख्नेलाई दुश्मनको व्यवहार गर्ने तरिकाले पार्टी एउटा प्राइभेट लिमिटेड कम्पनीमा रूपान्तरण भएर जानेछ ।’
एमालेले यसपटक जिल्ला नेतृत्व चयन सकभर निर्विरोध गर्न निर्देशन दिएको थियो । तर जाजरकोटमा चुनावी प्रतिस्पर्धा भयो, पराजित हुनेले परिणाम स्वीकार गरे । जाजरकोट सहित सुर्खेत, कास्की, कैलाली, कञ्चनपुर, अछाम, ताप्लेजुङ, कपिलवस्तु, बागलुङ लगायत २२ जिल्लामा मतदानबाट नेतृत्व चयन भएका छन् ।
जबकि पार्टी विभाजनको पृष्ठभूमि भएकाले प्यानल बनाएर मतदान गर्न एमाले नेतृत्वले रोक लगाएको थियो । तर केन्द्रको निर्देशनले सबै ठाउँ काम गरेन ।
आन्तरिक प्रतिस्पर्धाको प्रणाली अवलम्बन गरेका एमाले नेताहरू भने प्रतिनिधिहरुबाट नेतृत्व चयन हुँदा झनै संगठन चलायमान बनेको दावी गर्छन् । ‘एमालेमा आन्तरिक प्रतिस्पर्धा हुँदैन, नेतृत्वको वरिपरि भए मात्रै नेता भइन्छ भन्ने सोचलाई केही हदसम्म भए पनि रोक्न सकियो । यसले त खुशी तुल्याएकै छ’, कञ्चनपुर एमाले नेता जगतबहादुर सिंह अनलाइनखबरसँग भन्छन् ।
कञ्चनपुर एमाले जिल्ला अधिवेशनमा सिंह अध्यक्षका उम्मेद्वार थिए । तर उनी सुरेन्द्र विष्टसँग पराजित भए । यहाँ पनि विष्ट र सिंहले प्यानल बनाएरै नेतृत्व लिन प्रतिस्पर्धा गरेका थिए । सिंह भन्छन्, ‘आन्तरिक निर्वाचन हो । हार-जीत हुन्छ । मुख्य कुरा पार्टीमा विधि र पद्धति कायम राख्ने कुरा हो । यसमा हामी सफल भएका छौं । यसकारण कोही दुःखी हुनुपर्ने छैन ।’ सिंहले विष्टलाई सफल कार्यकालको शुभकामना र जितको बधाई दिइसकेका छन् ।
सिंह र विष्टलाई हारजितको मनोविज्ञानबाट उठ्न नेताहरुले पनि सार्वजनिक आग्रह गरेका छन् । ‘जितेकाले घमण्ड र हारेकाले मनोबल गिराउने वातावरण नबनोस्, सबैमा एकताको भाव जागोस् …!’ केन्द्रीय सदस्य कमला बोहोराले लेखेकी छन्, ‘पराजितहरू पनि उत्तिकै संघर्ष र ठूलो इतिहास बोक्नुभएको नेता कमरेडहरू हो । उहाँहरूलाई पार्टीको र पार्टीलाई उहाँहरूको अत्यन्तै आवश्यकता छ ।’
‘टीकेप्रथा’मा असन्तुष्टि, केहीले पार्टी परित्याग
अहिलेसम्म ६४ भौगोलिक र दुई गैरभौगोलिक जिल्ला नेतृत्व चयन भएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ । एमाले नेताहरूले केन्द्रको निर्देशन बमोजिम अधिकांश जिल्लामा निर्विरोध नेतृत्व चयन भएको बताइरहेका छन् । तर केन्द्रको निर्देशनले सफल मानिएको निर्विरोध नेतृत्व चयन प्रक्रिया अपनाइएका कतिपय जिल्लामा शपथ समेत हुनसकेको छैन । नेतृत्वबाट एकतर्फी घोषणा गरेर निर्विरोध भनिएको, तर शपथ समेत हुन नसकेको मकवानपुर एक उदाहरण हो ।
२३ पुसमा उद्घाटन भएको मकवानपुर एमालेको ११औं जिल्ला अधिवेशनमा एकलाल श्रेष्ठ र बद्री लम्साल अध्यक्षका प्रत्यासी थिए । दुवैले प्यानल बनाएर उम्मेद्वारी दिएका थिए । तर श्रेष्ठ निर्विरोध अध्यक्ष भएको घोषणा गरियो । लम्सालले आफ्नो उम्मेद्वारी कायमै रहेकाले निर्विरोध नभएको वक्तव्य निकाले । ‘अन्य कुराहरू हुँदै गर्लान् । तर अहिलेसम्म मेरो उम्मेदवारी कायमै छ । म निर्वाचन प्रक्रियाको पक्षमा छु’, लम्साल भन्छन् । लम्सालको अडान र असन्तुष्टिकै कारणले केन्द्रले निर्विरोध चयन भनेको मकवानपुर जिल्ला नेतृत्व अन्योलमा छ । शपथ समेत हुनसकेको छैन ।
मकवानपुर जस्तै शपथ नरोकिए पनि अधिकांश जिल्लाको असन्तुष्टि सार्वजनिक भएको छ । असन्तुष्टि भए पनि व्यक्त गर्न नसक्नेको पंक्ति अझ ठूलो रहेको नेताहरु बताउँछन् । ‘बोलौं भने अन्य अवसरबाट समेत बञ्चित भइएला भन्ने डर । नबोलौं भने कसरी चित्त बुझाउने ?’ मकवानपुरका एक नेता भन्छन् ।
केन्द्रको निर्देशन पालना गर्न अपनाइएको अध्यक्ष मण्डलबाट जबर्जस्त नेतृत्व घोषणाको शैलीले कतिपय पुराना र जिल्लामा बलियो प्रभाव राख्ने नेताहरुले पनि पार्टी परित्यागसम्म घोषणा गरेका छन् ।
विद्यार्थी र किसान आन्दोलन हुँदै दाङ एमालेको नेतृत्व गरिसकेका टीकाराम खड्काले जिल्ला अधिवेशनकै कारण राजनीतिबाटै विश्राम लिने घोषणा गरेका छन् । २४ पुसमा राति एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्विरोध भएको घोषणा गरिएपछि खड्काले राजनीतिक विश्रामको निर्णय लिएका हुन् । नेतृत्व चयन प्रक्रियाप्रति उनको असन्तुष्टि छ ।
अर्घाखाँची जिल्ला नेतृत्व चयन प्रक्रियालाई लिएर राष्ट्रिय युवा संघका केन्द्रीय सचिव गोविन्दप्रसाद भुसालले पार्टी परित्यागकै घोषणा गरे । वडा, नगर हुँदै केन्द्रीय सचिव बनेका भुसालले एमालेभित्र चरम गुटबन्दी, व्यक्तिगत मनोमानी, चरम अवसरवाद, नातावाद, कृपावाद र नेतृत्वमा निरंकुशता रहेको निष्कर्ष सहित एमाले परित्याग गरे । अर्घाखाँची जिल्ला उपाध्यक्षका आकांक्षी खुबिराम आचार्य, अधिवेशनमा आफ्नो उम्मेद्वारीपत्र नै च्यात्ने काम भएको बताउँछन् । तर उम्मेद्वारी दरखास्त बापतको दस्तुर भने आचार्यलाई फिर्ता दिइएको थियो ।
२०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय एमाले पाल्पाका निवर्तमान उपाध्यक्ष मोहन थापा मगरले पनि पार्टी परित्याग गरेका छन् । अध्यक्ष पदका दावेदार मगरले अधिवेशनबाट नेतृत्व चयन गर्न अपनाइएको प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एमाले छोडेका हुन् । उनले अब सामाजिक क्षेत्रमा सक्रिय हुने बताएका छन् ।
निर्विरोध नेतृत्व चयनका नाममा अपनाइएको शैलीप्रति असन्तुष्टि जनाउँदै एमाले रुपन्देहीका नेता देवराज पोखरेलले पनि एमालेबाट अलग हुने घोषणा गरेका छन् । २८ वर्षदेखि राजनीतिमा सक्रिय पोखरेलले सामाजिक सञ्जाल मार्फत आफ्नो कुरा राखेर पार्टीबाट अलग भए । रुपन्देही एमाले अध्यक्षका उम्मेद्वार पुरुषोत्तम घिमिरेले त बन्दसत्रमा अध्यक्ष मण्डलले पदाधिकारीको नाम प्रस्ताव गर्नुलाई ‘शाही घोषणा’को संज्ञा दिएका थिए । ‘सहमतिका नाममा आफूले चाहेका व्यक्ति नै नेतृत्वमा आउनुपर्छ, फरक विचार राख्नेलाई आउन दिनुहुन्न भन्ने अभीष्ट देखियो’, घिमिरे भन्छन् । उनी १० बुँदे सहमति गरी एमालेमै बसेका नेता हुन् ।
संस्थापन पक्ष हाबी
पार्टी विभाजन भइरहँदा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका १० बुँदे पक्षधर र पूर्वमाओवादी तर्फका नेताहरु भने नेतृत्वमा न्यून संख्यामा आएका छन् । ५५ जिल्लाको नेतृत्वमा ओली निकट नेता चयन हुँदा १०बुँदे पक्षधर ७ र पूर्वमाओवादी दुई जिल्ला अध्यक्ष बने ।
१० बुँदे पक्षधर शरण राई (भोजपुर) हिरा केसी (बागलुङ), राजु पौडेल (पर्वत), जीतबहादुर मल्ल (मुगु), अमृतकुमार बिसी (सुर्खेत) विजयराज बिष्ट (प्युठान) र चक्र मल्ल (डोटी) अध्यक्ष बने । माओवादी पृष्ठभूमिका सूर्यप्रसाद गैरे (स्याङ्जा) र प्रेमसिंह धामी (दार्चुला) अध्यक्ष बनेका छन् । गैरे र धामी नेकपा विभाजनपछि एमालेतिर लागेका नेता हुन् ।
१०बुँदे र पूर्वमाओवादीको राम्रो पकड रहेको जिल्लामा पनि ओली निकट नेताहरु निर्वाचित भए । कतिपय जिल्लामा निर्वाचनका क्रममा संस्थापन इतर समूहका नेता पराजित भए पनि कतिपयमा निर्विरोधका नाममा पदाधिकारी बन्न दिइएन । जस्तो- कैलालीमा ओली निकट रतनबहादुर थापाले जित्दा उनकै प्यानलमा रहेका माओवादी पृष्ठभूमिका नेताहरु दानबहादुर विक सचिवमा र प्रेमबहादुर डगौरा उपसचिवमा पराजित भए ।
कैलाली, कञ्चनपुर, अछाम जस्ता १०बुँदे र माओवादी पक्षधरको राम्रै उपस्थिति रहेको जिल्लाको पदाधिकारीमा पनि संस्थापन हावी हुन पुग्यो । कञ्चनपुर अध्यक्षमा पूर्वमाओवादी माओवादी पृष्ठभूमिका वीरबहादुर थापा र ओली निकट सुरेन्द्र विष्ट बीच प्रतिस्पर्धा भएको थियो । थापालाई १०बुँदे पक्षधरले पनि साथ दियो । तर जित्न सकेनन् । अझ उनलाई माओवादी पृष्ठभूमिका नेता लेखराज भट्टकै समर्थन थियो ।
अछाममा पनि कञ्चनपुरकै जस्तो नतिजा आयो । १०बुँदे गरी एमालेमै बसेका नेता भीम रावल निकट प्रकाश शाह ओली निकट चन्द्र बोहरासँग पराजित भए ।
धर्मराएको प्रचलन
जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने एमालेले ‘आन्तरिक प्रतिस्पर्धाबाट श्रेष्ठता’ हासिल गर्नेलाई नेतृत्व निर्माणको आधारशिला मान्ने गरेको छ । मदन भण्डारीले अगाडि सारेको त्यो नेतृत्व निर्माणको सिद्धान्त यसपटक भने लागू हुन नसकेको एमालेकै नेताहरू बताउँछन् । ‘नेतृत्वको पछिल्लो अभ्यासले मदनले अगाडि सारेको प्रतिस्पर्धाको संस्कृतिमाथि गम्भीर प्रहार भएको छ’ एक एमाले नेता भन्छन्, ‘यसलाई नसच्याउने हो भने आगामी यात्रा थप कठिन हुनसक्छ ।’
ती नेता, एमालेभित्र देखिएको विचलनले पार्टीबाट नेता-कार्यकर्ता पलायन रोक्न मुश्किल पर्ने देख्छन् । ‘सहमतिमा नेतृत्व चयन नराम्रो होइन । तर, टिकेप्रथा एमालेको जगमाथिकै हमला हो । यसलाई सच्याउन सक्दा मात्रै एमाले एमाले रहन्छ’, उनको दाबी छ ।
तर, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल भने अहिले पार्टीभित्र गुटबन्दी नरहेकाले निर्विरोध नेतृत्व चयनको प्रक्रिया अवलम्बन गरिएको बताउँछन् । मतदानबाट नेतृत्व चयन भएको जिल्लामा पनि स्वस्थ प्रतिस्पर्धा भएको उनको दाबी छ । ‘पहिले एमालेमा माधव नेपाल समूह थियो । त्यो नभएपछि अहिले एमालेमा संस्थापन र गैरसंस्थापन छैन । एमाले एउटै हो, एउटै ताल र एउटै स्वरमा अगाडि बढ्छ’, रिजाल भन्छन् ।
प्रतिक्रिया 4