
८ फागुन, काठमाडौं । नेपालमा पछिल्लो १० वर्षमा १८ वटा जहाज ठूलो दुर्घटनामा परेको तथ्यांक छ । यस्तो दुर्घटनामध्ये धेरैजसो दुर्घटना जहाज अवतरणका क्रममा हुने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले देखाएको छ ।
प्राधिकरणको ‘एभिएसन सेफ्टी रिर्पोट २०२१’ अनुसार सन् २०११ देखि २०२० को बीचमा भएका दुर्घटनामा धेरैजसो दुर्घटना जहाज अवतरणका दौरान भएका छन् । कुल दुर्घटनामध्ये ३७ प्रतिशत जहाज दुर्घटना अवतरण गर्दा भएका छन् । तर, यस्तो दुर्घटनामा मानवीय क्षतिको तथ्यांक भने छैन । यो तथ्यांक हेलिकोप्टर र मनोरञ्जनात्मक उडानमा प्रयोग हुने अल्ट्राफ्लाइट दुर्घटनाबाहेक यात्रुबाहक व्यावसायिक हवाईजहाजहरुको मात्र हो ।
मानवीय क्षति भएका दुर्घटनाहरु जहाज आकासमा उड्दाउड्दै भएको घटनामा बढी पाइएको छ । ‘ल्याण्डिङ’का क्रममा शून्य मानवीय क्षति हुँदा ‘इनरुट’ मा भएको बेला हुने दुर्घटनामा ४४ प्रतिशत मानवीय क्षति भएको छ । इनरुटमा भने कुल दुर्घटनाको २६ प्रतिशत मात्र दुर्घटना संख्या रहेको छ । यो रिर्पोटमा नेपालमा दर्ता भएका जहाजहरुको मात्र दुर्घटनाको विवतरण उल्लेख गरिएको छ । यसबीचमा बंगलादेशमा दर्ता भएको यूएस बाङ्लाको ठूलो जहाज दुर्घटनामा परेको थियो ।
पछिल्लो समय नेपालमा सन् २०२० मार्चमा नेपालगञ्ज विमानस्थलमा नेपाल एयरलाइन्सको वाई १२ जहाज दुर्घटनामा परेको थियो । त्यसयता ‘इन्सिडेन्ट’हरुको रिर्पोटिङ भए पनि ठूलो दुर्घटना भने भएको छैन । उडानका क्रममा हुने दुर्घटनामा कठिन परिस्थितिमा जहाजलाई नियन्त्रणमा लिन नसक्दा बढी दुर्घटना हुने गरेको छ । चरा तथा जनावरका कारण धावनमार्गमा आउने अवरोधले समेत जहाज दुर्घटनामा भूमिका खेलेको छ ।
सन् २०२० मा मात्र कुल २१३ वटा हवाई सुरक्षा सम्बन्धी घटनाहरु प्राधिकरणमा रिर्पोटिङ भएको छ । यसमा धावनमार्गदेखि इनरुटमा देखिएका समस्यासम्म उल्लेख छन् । जसमा जनावर र पन्छीको गतिविधि समेत पर्छ । सन् २०२० मा एउटा दुर्घटना, १३ वटा गम्भीर घटना र १९९ वटा घटनाहरु रेकर्डमा रहेको प्राधिकरणले जनाएको छ ।
कुन वर्ष कति दुर्घटना, कति मानवीय क्षति ?
वर्ष | दुर्घटना संख्या | मानवीय क्षति |
२०११ | २ | १९ |
२०१२ | ३ | ३४ |
२०१३ | २ | ० |
२०१४ | १ | १८ |
२०१५ | ० | ० |
२०१६ | ४ | १५ |
२०१७ | २ | ० |
२०१८ | २ | ३ |
२०१९ | १ | ३ |
२०२० | १ | ० |
साना जहाज बढी दुर्घटनामा
पछिल्लो १० वर्षको ट्रेण्ड हेर्दा नेपालमा साना जहाजको दुर्घटना दर बढी छ । १९ सिट भन्दा कम क्षमताका जहाज दुर्घटनाको दर सबैभन्दा बढी ७३ प्रतिशत रहेको छ । दोस्रो स्थानमा हेलिकोप्टर दुर्घटना रहेको छ । विगतमा एकल इन्जिनयुक्त जहाज दुर्घटनाका दुई घटना भएका थिए । यी दुर्घटनामा चार जनाको मृत्यु भएको थियो । १९ सिट भन्दा ठूलो क्षमताका जहाज दुर्घटना भने यस अवधिमा भएको छैन । मनोरन्जनात्मक प्रयोजनमा उडान अनुमति पाएका अल्ट्राफ्लाइट दुर्घटनाका तीन वटा घटना भएका छन् ।
प्राधिकरणको रेकर्ड अनुसार अवतरणका क्रममा ‘मल्टिइन्जिन’ जहाज बढी दुर्घटनामा पर्दा समेत मानवीय क्षति हुने गरी भएको रेकर्ड छैन । तर, जहाज उडिसकेपछि विभिन्न फेजमा भएको दुर्घटनामा भने मानवीय क्षति हुने गरेको छ । यसमा ‘अप्रोच’, ‘इनरुट’ र ‘क्लाइम’ फेजमा भएका दुर्घटनामा मानवीय क्षति हुने गरेको पाइएको छ ।
दुर्गमका विमानस्थल बढी खतरनाक
प्राधिकरणको तथ्यांक अनुसार नेपालमा दुर्गम भेगका विमानस्थल बढी खतरपूर्ण रहेको देखिएको छ । दुर्घटनाको दर र मानवीय क्षति समेत यी विमानस्थल र सो विमानस्थलका लागि उडेको समयमा हुने गरेको छ ।
पछिल्लो १० वर्षमा दुर्गम भेगमा मानवीय क्षति हुने गरी कुल ८ वटा जहाज दुर्घटनामा परेका थिए । विमानस्थल अनुसार भएको दुर्घटनामा सबैभन्दा जोखिमपूर्ण विमानस्थल जोमसोम मानिएको छ । यो विमानस्थलमा पछिल्लो १० वर्षमा दुई दुर्घटनामा १५ जनाको मृत्यु भएको छ । लुक्ला विमानस्थलमा दुइ दुर्घटना भएका छन्, जसमा ५ जनाको मृत्यु भएको छ । डोल्पा, जुम्ला र सिमिकोट विमानस्थलमा समेत यस अवधिमा एक/एक दुर्घटनाको रेकर्ड छ । यी विमानस्थल दुर्गम भेगमा अवस्थित छन् । छिनछिनमा अदलबदल भइरहने मौसम, छोटो धावनमार्ग र पर्याप्त सुरक्षा प्रवन्धको अभावका कारण यी भेगको उडान बढी जोखिमपूर्ण देखिएको हो ।
प्रतिक्रिया 4