
१७ फागनु, काठमाडौं । वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई धितोपत्र दलाल (ब्रोकर) व्यवसायीको रुपमा कारोबार गर्न अनुमति दिन तयारी थालिएको छ । यसका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नै ब्रोकर सम्बन्धी कार्यविधि बनाउने भएको छ ।
५ वर्ष अघि ब्रोकर लाइसेन्सको विषयमा निकै बहस भएको थियो । धितोपत्र सम्बन्धी नियमावलीले बजार निर्मातालाई नै ब्रोकर सम्बन्धी कार्यविधि बनाउने अधिकार दिएको छ । नियमावलीले भनेको बजार निर्माता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हो ।
नेप्सले कार्यविधि बनाएर ब्रोकर कम्पनीहरु छनोट गरेर बोर्डमा पठाउनु पर्नेछ । कार्यविधि अनुसार छनोट गरेर सिफारिस गरेका कम्पनीहरुलाई धितोपत्र बोर्डले सञ्चालन अनुमति (लाइसेन्स) दिने व्यवस्था रहेको छ । तर बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानाले बोर्डले सिधै लाइसेन्स दिन सक्नेगरी नियमावली बनाएर अर्थमन्त्रालयमा स्वीकृतिका लागि पेश गरेका थिए ।
बोर्डका तत्कालीन अध्यक्ष ढुंगाना र नेप्सेका तत्कालीन कार्यकारी प्रमुख चन्द्रसिंह साउदबीच राम्रो सम्बन्ध थिएन । नेप्सले आफ्ना काम कारबाहीमा सहयोग नगरेको भन्दै अध्यक्ष ढुंगानाले नियमावली नै अर्को बनाएर नेप्सेको सहभागिता बिनै लाइसेन्स दिन सकिने व्यवस्था प्रस्ताव गरेका थिए । तर त्यो नियमावलीमा अर्थमन्त्रालयले सहमति दिएन ।
अर्थमन्त्रालयले नियमावलीको मस्यौदा बोर्डलाई नै फिर्ता पठाइदिएको थियो । पछि साउद र ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा जोडिएपछि पदबाट बाहिरिनु पर्यो । त्यस यता चर्चामा नरहेको लाइसेन्सको विषय बोर्ड र नेप्से दुवै कार्यालयमा नयाँ नेतृत्व आएपछि भने यो चर्चामा छ ।
बोर्ड स्रोतका अनुसार अब नेप्सेलाई बाइपास नगर्ने नीति बोर्डले लिनेछ । नियमअनुसार ब्रोकर छनोट सम्बन्धी कार्यविधिको अख्तियार नेप्सेले नै पाउनेछ । नेप्सेले सिफारिस गरेको आधारमा नै ब्रोकर लाइसेन्स दिन बोर्ड तयार छ । यस विषयमा अर्थमन्त्री जनार्दन शर्मा सकारात्मक देखिएका छन् । केही दिन अघि अर्थमन्त्रालयमा अर्थमन्त्रसिँग भएको छलफलमा पनि बोर्डका अध्यक्ष रमेशकुमार हमाल, नेप्सेका सीईओ कृष्णबहादुर कार्कीलाई नियम अनुसार नै काम गर्नु भनेर निर्देशन दिएका थिए ।
लाइसेन्सको पर्खाइमा ११ बैंक
वाणिज्य बैंकका सहायक कम्पनीहरुलाई सञ्चालन अनुमति दिने तयारी पछि बैंकहरुले तदारुकता देखाए । नेप्सले पनि ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि, २०७६’ तयार पारेको थियो । तर धितोपत्र बोर्ड त्यसबेला अर्कै नियमावली बनाउने पक्षमा थियो । लाइसेन्स पाउने आशमा बैंकहरुले भने धमाधम कम्पनी रजिष्टारको कार्यालयमा सहायक कम्पनी दर्ता गराएका थिए ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालसम्म ११ वटा बैंकहरुले सहायक कम्पनी दर्ता गरेर ब्रोकर लाइसेन्स माग गर्दै निवेदन दिएका थिए । एनआईसी एसिया बैंकले एनआईसी एसिया सेक्युरिटिज कम्पनी दर्ता गरेर ब्रोकर लाइसेन्सका लागि नेप्सेमा निवेदन दर्ता गराएको छ भने सानिमा बैंकले सानिमा सेक्युरिटिज कम्पनी दर्ता गराएर लाइसेन्स माग गरेको छ । निवेदन दिएको लामो समयसम्म पनि प्रक्रिया भने अघि बढेको छैन ।
कुन बैंकले कुन कम्पनी दर्ता गराए ? तालिकामा हेर्नुहोस् :
सि.नं. | बैंकको नाम | सहायक कम्पनी |
१ | एनआईसी एसिया बैंक | एनआईसी एसिया सेक्युरिटिज |
२ | सानिमा बैंक | सानिमा सेक्युरिटिज |
३ | माछापुच्छ्रे बैंक | माछापुच्छ्रे सेक्युरिटिज |
४ | सिटजन बैंक | सीबीआईएल सेक्युरिटिज |
५ | मेगा बैंक | मेगा स्टक मार्केट |
६ | नेपाल बंगलादेश बैंक | एनबीबीएल सेक्युरिटिज |
७ | कुमारी बैंक | केबीएल सेक्युरिटिज |
८ | ग्लोबल आईएमई | जेबीएनएल सेक्युरिटिज |
९ | सेञ्चुरी बैंक | सेन्चुरी स्टक |
१० | सिभिल बैंक | सिभिल सेक्युरिटिज |
११ | प्रभु बैंक | प्रभु सेक्युरिटिज |
बैंकर्स संघको फ्लोअप
चार वर्ष अघि नै केही बैंकहरुले ब्रोकर लाइसेन्स माग गर्दै सहायक कम्पनी दर्ता गरेर नेप्सेमा निवेदन दिएका थिए । कम्पनी रजिष्टारमा दर्ता भइसकेपछि त्यसलाई नियमित नवीकरण गर्नु पर्ने हुन्छ । तर लामो समयसम्म नेप्सेले निर्णय नदिंदा ती बैंकका सहायक कम्पनीहरु अलमलमा छन् ।
चार वर्षसम्म पनि लाइसेन्स दिने वा नदिने भन्ने विषयमा केही जानकारी नआएको भन्दै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संगठन नेपाल बैंकर्स संघले यस विषयमा चासो देखाएको छ । नेप्सलाई पत्राचार नै गरेर बैंकर्स संघले ब्रोकर लाइसेन्स सम्बन्धी प्रक्रिया कहाँ पुग्यो भनेर चासो राखेको थियो ।
बैंकर्स संघबाटै पत्र आएपछि नेप्सले पनि आवश्यक निर्देशन जारी गरिपाउँ भन्दै नियामक निकाय धितोपत्र बोर्डमा पत्राचार गरेको थियो । तर नेप्सेले पत्रको जवाफ भने पाएको छैन । प्रवक्ता मुराहरि पराजुलीले पत्र पठाएको पुष्टि गरे । तर नेप्सले पठाएको पत्रको जवाफ भने प्राप्त नभएको उनले बताए ।
प्रतिक्रिया 4