
१९ फागुन, काठमाडौं । स्थापनाको १२ वर्षपछि मण्डला नाटकघर बिहीबारदेखि काठमाडौंको थापागाउँस्थित आफ्नै भवनमा सरेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले मण्डलाका दुई नयाँ नाटकघर उद्घाटन गरे ।
उपराष्ट्रपति पुनले नयाँ भवनमा मञ्चन सुरु गरिएको नाटक ‘रोगन’को पनि अवलोकन गरे । कला, साहित्य र संस्कृतिको सम्वद्र्धन गर्ने दायित्व सरकारको भएको बताउँदै उनले मण्डलाको नाट्य यात्राको सफलताको कामना गरे ।
२०० सिट क्षमताको ठूलो अडिटोरियम र बाल नाट्यकक्षसहित दुईवटा नाटक घर रहेको नयाँ मण्डलामा अन्य सुविधा पनि उपलब्ध छन् । ३० आना जग्गालाई भाडामा लिएर मण्डलाले आफ्नै नाटकघर निर्माण गरेको थियो । नयाँ भवनमा नाटकघरसहित क्याफे, पुस्तकालय, पार्किङ र रेसिडेन्सी आवाससम्मको सुविधा उपलब्ध छन् । नयाँ भवनमा आउटडोर पर्फमेन्स गर्न मिल्ने सुविधा पनि छ ।
बिहीबारदेखि मञ्चन सुरु गरिएको नाटक ‘रोगन’ नियमित रुपमा मण्डलामा प्रदर्शन सुरु भएको छ । राजन खतिवडा निर्देशित नाटकलाई संयोग गुरागाईंले लेखेका हुन् ।
अहिले मण्डलासँग पाँचवटा नाटक पाइपलाइनमा रहेको जानकारी सचिव समेत रहेका अभिनेता विजय बरालले दिए । ‘अब लगातार पाँचवटा नाटक केही महिनासम्म हामी मञ्चनको तयारीमा छौं,’ बरालले अनलाइनखबरसँग भने, ‘कोरोनाले प्रभावित नाट्य क्षेत्रलाई लयमा फर्काउन अब मण्डलाले काम गर्नेछ ।’
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4