
२६ फागुन, काठमाडौं । पेट्रोलियम पदार्थमा हालै भएको मूल्य वृद्धिले ढुवानी व्यवसाय संकटमा परेको भन्दै व्यवसायीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले ज्ञापन पत्र बुझाउँदै मूल्य वृद्धि फिर्ता नलिए ढुवानीका साधन घर ग्यारेजमा थन्काउने चेतावनी दिएका हुन् ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघको बिहीबार बसेको बैठकले मूल्य वृद्धि फिर्ता लिन माग गर्ने निर्णय गरेको थियो ।
महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले प्रेस विज्ञप्ति जारी गर्दै मूल्य वृद्धिले नेपाल ट्रक यातायात व्यवसायीलाई निकै समस्यामा पारेको बताएका छन् ।
मूल्य वृद्धि तत्काल फिर्ता वा भाडा समायोजन नगरिए सात दिनभित्र देशैभर ढुवानी ठप्प पार्ने चेतावनी महासंघले दिएको छ ।
महासचिव बानियाँले भने, ‘यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेलाई ढुवानी व्यवसायीको समस्याबारे हामीले अवगत गराएका छौं, उहाँ सकारात्मक नै हुनुहुन्छ, वास्तविक समस्या हलहुने हामीले आशा लिएका छौं ।’
प्रतिक्रिया 4