काठमाडौं । भान्छामा खाना पकाउन कुन इन्धन प्रयोग हुन्छ ? सहरमा बस्ने अधिकांशको जवाफ हुन्छ- ग्याँस । केहीले बिजुली पनि भन्लान् । किनकि इन्डक्सन र इन्फ्रारेड चुलो प्रयोग गर्नेहरु पनि निकै बढेका छ ।
तर यी सबै आयातीत साधन हुन् । लागत त छँदैछ, नेपाल भित्र्याउँदा कर पनि तिर्नुपर्छ । तर के तपाईंलाई थाहा छ, बिक्रेट जस्ता इन्धनको स्रोतले पनि घरको चुलो बाल्न सक्छौं । जुन आयातीत होइन, नेपालमै बन्छ । खर्च पनि उत्तिकै कम लाग्छ । त्यति मात्र होइन, यो वातावरणमैत्री पनि छ ।
तर विडम्बना बहुउपयोगी हुँदाहुँदै पनि यो उद्योग फस्टाउन सकेन ।
के हो ब्रिकेट प्यालेट ?
वनजंगलमा खेर गइरहेको वनस्पति, धानको भुस, काठको धुलो, वनमारा लगायत खेर गइरहेको पात-पतिङ्गर पेलेर तयार पारिने इन्धनलाई ब्रिकेट भनिन्छ । यो दुई आकारमा बनाइन्छ । सानो आकारलाई पेलेट र ठूलो आकारलाई ब्रिकेट भनिन्छ ।
जैविक ऊर्जा व्यवसायी संघका अध्यक्ष सुशील ज्ञवालीका अनुसार यो नवीनतम वैकल्पिक उर्जा हो । यो तयार पार्नका लागि त्यति गाह्रो छैन । ‘यो बनाउन कुनै रासायनिक मिसाउनु पर्दैन । ठूला मेसिन लाग्दैन, पात-पतिङ्गर र भुसलाई सुकाएर मेसिनले पेलेर निकालिन्छ । सो निकालिएको धुलोलाई डल्ला बनाएर ब्रिकेट पेलेट बनाइन्छ । ब्रिकेट भएको चिसोपन नियन्त्रण निकालेर बनाइन्छ,’ उनी भन्छन्, ‘यो साधन वातावरणमैत्री र सस्तो पनि छ । तर बजार फस्टाउन सकेको छैन ।’
ब्रिकेट गाउँघरको चुलोमा मात्र नभई अहिले सहरका ठूला-ठूला रेस्टुरेन्टमा पनि प्रयोग हुन थालेको छ । यो एक वैकल्पिक ऊर्जा हो । यसको प्रयोग बढाउने हो भने ग्यासमा भर पर्न नपर्ने विज्ञहरु बताउँछन् ।
कस्तो अवस्थामा प्रयोग हुन्छ ?
ज्ञवालीका अनुसार हाम्रो घरको भान्छा, निरन्तर खानेकुरा पकाइरहनुपर्ने ठूला होटल, रेस्टुरेन्ट, सुनचाँदीका गहना बनाउने वर्कसप, कागज कारखाना, इँटाभट्टा, चिया कारखाना, डेरी कारखानामा ब्रिकेटको प्रयोग धेरै हुन्छ ।
पहिले नवजात शिशु सेक्न तथा कोठा न्यानो बनाउन मात्र चल्तीमा रहेको ब्रिकेट घर मात्र होइन होटल, रेस्टुरेन्ट, उद्योग तथा व्यावसायिक प्रतिष्ठानमा पनि प्रयोग हुन थालेको ज्ञवाली बताउँछन् ।
विश्वमा लोकप्रिय, नेपालका लागि नौलो
ज्ञवालीका अनुसार ब्रिकेट नेपालको लागि मात्र नौलो हो । अमेरिका, युरोपेली मुलुक र भारतमा धेरै पहिलेदेखि ब्रिकेटको प्रयोग भइरहेको छ । नेपाल जस्तो देश, जहाँ ब्रिकेट पाउने कच्चा पदार्थ खेर गइरहेको छ, ब्रिकेट नौलो भएका छन् ।
‘नेपालमा यतिकै खेर गइरहेको पात-पतिंगरलाई विश्वले चिनेर सदुपयोग गरिरहको छ । तर नेपाल जस्तो देश जहाँ अथाह जंगल छ, यसको सदुपयोग भएको छैन,’ उनी भन्छन् ।
ब्रिकेटको नेपालमा सुरु भएको धेरै भएपनि गति लिन सकेको थिएन । जतिबेला भारतीय नाकाबन्दीले गर्दा सर्वत्र खाना पकाउने ग्यासको हाहाकार मच्चिएको थियो, त्यसबेला भरपर्दो विकल्प बनेको थियो ब्रिकेट ।
नाकाबन्दीको कारण खाना पकाउने ग्यास र इन्धनको अभाव भएपछि ब्रिकेटको प्रगोग र माग बढेको थियो । जसकारण थोरै भएपनि ब्रिकेट उद्योगले गति लिन थालेको थियो । तर बजारीकरण अझै हुनसकेको छैन ।
‘भारतले लगाएको नाकाबन्दीले पनि हामी कति अरुमा आश्रित छौं भनेर देखायो,’ उनले भने, ‘यसको प्रभावकारिता तथा महत्व बुझाएर ग्यास जस्ता आयातीत इन्धनलाई प्रतिस्थापन गर्नुपर्ने देखिन्छ ।’
एउटा ब्रिकेटले चारजना परिवारका लागि दैनिक खाना पकाउन सकिन्छ । तर यो बजारीकरण गर्न नसक्दा घरायसी प्रयोजनमा खासै प्रयोगमा आउन सकेको छैन । हाल तराई क्षेत्रका औद्योगिक क्षेत्रले यसको बजारीकरण गरिरहेका छन् ।
झापादेखि कन्चरपुरसम्म यसको उत्पादन हुन्छ । बिस्तारै यसको उद्योगले गति लिन थालेको छ । ब्रिकेटको प्रयोग र यसमा गर्न सकिने सुधारबारे अध्ययन पनि भइरहेको ज्ञवाली बताउँछन् ।
नेपालमा यसको सम्भावना
नेपालमा वनपैदावार, सहरबजार तथा घरायसी र औद्योगिक प्रतिष्ठानबाट निस्किने जैविक फोहोरबाट चारकोल, ब्रिकेट निर्माण गरी कोइला र इन्धनको खपतलाई न्यून गर्न सकिने प्रशस्त सम्भावना रहेको ऊर्जा तथा वातावरण केन्द्रका अध्यक्ष डा. कृष्णराज श्रेष्ठ बताउँछन् ।
नेपालमा १८ हजारभन्दा बढी सामुदायिक वन रहेको र हरेक वर्ष त्यस्ता सामुदायिक वनमा झाडी सफाइ गर्न वर्षेनी ५-६ लाख रुपैयाँ खर्च हुन्छ । यस्ता खेर गएका फोहोरलाई प्रयोग गरेर चारकोल र ब्रिकेट निर्माण गर्न सकिए उल्टै लाखौं रुपैयाँ आम्दानी हुने, स्थानीयस्तरमा रोजगारी सिर्जना हुनुका साथै वातावरण प्रदूषण न्यूनीकरणमा योगदान पुग्ने मात्र नभई जंगलको अवस्थामा पनि सुधार आउने डा. श्रेष्ठ बताउँछन् ।
ब्रिकेट पुराना नोटलाई व्यवस्थापन गर्न समेत उपयोग हुन थालेको छ । नेपाल राष्ट्र बैंकले पुराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि ब्रिकेट प्रयोग गर्दै आएको छ ।
चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिंदै आइएकोमा मेसिनको प्रयोगमार्फत स-साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट नै ब्रिकेट उत्पादन भइरहेको ज्ञवाली बताउँछन् ।
त्यस्तै, वनजंगलमा आगलागी हुनुको मुख्य कारण झाडीको व्यवस्थापन नहुनुलाई लिन सकिन्छ । यदि यसको सदुपयोग भए आगलागीका घटना समेत न्यूने ज्ञवाली बताउँछन् ।
‘ब्रिकेट सफा इन्धनको स्रोत भएकाले यसको प्रयोगले प्रदूषण पनि कम हुन्छ,’ उनी भन्छन्, ‘ब्रिकेटले खेतबारीमा फस्फोरस ब्याक्टेरियाको संरक्षण गर्छ र पानीमा चिसोपन कायम राख्न पनि उपयोगी हुन्छ ।’
त्रिवि शिक्षण अस्पतालका श्वासप्रश्वास तथा दमरोग विशेषज्ञ डा. नीरज बमका अनुसार यसमा ग्यासमा जस्तो कुनै रसायनको मिसावट अत्याधिक नहुने हुँदा श्वासप्रश्वाससम्बन्धी जोखिम कम हुन्छ । त्यसैले, सस्तो, स्वदेशी उत्पादन र स्वास्थ्य मैत्री यस्ता उत्पादनलाई सरकारले प्रोत्साहन गर्नुपर्छ ।
‘गाउँघरमा दाउरामा खाना पकाउने आमा, दिदीबहिनीहरुमा धुवाँबाट निस्कने हानिकारक कणले दीर्घकालीन दमको समस्या गराउँछ । तर, ब्रिकेटमा तुलनात्मकरुपमा कम मात्रामा यस्ता कण निस्कन्छन् । यदि ब्रिकेटलाई भान्छामा ल्याउन सके धुवाँबाट निम्तिने स्वास्थ्य समस्याको जोखिम कम हुने देखिन्छ,’ डा. बम भन्छन्, ‘यस्ता उत्पादनलाई पक्कै पनि बढावा दिनुपर्छ ।’
बामे सर्दै गर्दा सरकारको अंकुश
भर्खरै बामे सर्दै गरेको ब्रिकेटको उत्पादनमा सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर अंकुश लगाउन खोजेको ज्ञवालीको भनाइ छ ।
‘बजेटले यी वस्तुहरुमा पनि भ्याट लगाएर सरकारले भर्खरै उदाउँदै गरेका वन पैदावारमा आधारित ब्रिकेट र पेलेट उद्यमहरू बन्द हुने अवस्था आएको छ,’ उनी भन्छन्, ‘यसले स्वदेशी उत्पादनमा अंकुश लगाएको त होइन भन्ने देखिन्छ ।’
ग्याँसको पहुँच नभएका वा ब्रिकेट प्रयोग गर्नैपर्ने बाध्यतामा रहेका उपभोक्तालाई निरुत्साहित पारेको उनी बताउँछन् ।
प्रतिक्रिया 4