८ मंसिर, काठमाडौं । सर्लाहीका सन्तोष महतो बिहान ९ बजे नै वीर अस्पताल अंकोलोजी विभागको ढोकामा पुग्छन् । उनको अनुहारमा आशा र निराशाको मिश्रण देखिन्छ ।
‘मेसिन बन्यो त ? आमालाई गाह्रो हुँदै गएको छ,’ विभागका कर्मचारीसमक्ष गुनासो गर्छन् ।
तर, कर्मचारीको जवाफले उनलाई निराश बनाउँछ, ‘छैन । कहिले बन्छ थाहा छैन ।’
लगातार तीन सातादेखि यही दृश्य दोहोरिइरहेको छ ।
सन्तोषकी सासु आमा ६९ वर्षीया रामकली देवीको स्तन क्यान्सर दोस्रो स्टेजमा छ । उनी वीरमा रेडिएसन थेरापीको पालो कुरेर बसेकी थिइन् । तर पालो आउनै लाग्दा टोमोथेरापी मेसिन बिग्रिएको खबर आयो । उनीहरू मेसिन मर्मत हुने आशामा बसे ।
तर, तीन हप्तासम्म पनि टोमोथेरापी मेसिन बन्न सकेको छैन ।
‘दुई दिन बिराएर सोध्न आउँछु,’ सन्तोषले गुनासो गरे, ‘सासुलाई वीरमा राम्रो उपचार हुन्छ भनेर पालो पर्खियो । निजीमा जान सक्ने आर्थिक अवस्था छैन । अलपत्रमा परेका छौं ।’
रामकलीलाई गत असोजमा नेसनल क्यान्सर हस्पिटलमा स्तनको शल्यक्रिया र केमोथेरापी दिइयो । त्यसपछि रेडियोथेरापीको पालो आयो । तर परिवारले निजी अस्पतालको थप खर्च धान्न नसक्ने भए । अनि उनीहरूको भरोसाको केन्द्र बन्यो, सरकारी अस्पताल वीर ।
चिकित्सकले केमोथेरापी सकेको तीन महिना भित्रमा रेडिएसन थेरापी दिँदा उपचार प्रभावकारी हुने बताएका छन् । रेडिएसनका लागि अन्य सरकारी अस्पतालमा उस्तै भिडभाड छ । तीन–चार महिना कुर्दा पनि पालो पाउन सम्भव छैन ।

‘निजी अस्पतालमा लैजान सक्ने क्षमता छैन । हामी जस्ता गरिबका लागि वीर अस्पतालको सेवा ठप्प हुँदा मर्कामा परेका छौं,’ सन्तोष भन्छन्, ‘कुर्दाकुर्दा ज्यान जाला भन्ने डर भइसक्यो ।’
उपचार समयमा नहुँदा क्यान्सर फैलिने जोखिम बढ्छ । त्यसकारण रामकलीको परिवार थप चिन्तामा छ ।
‘अन्य विकल्प हामीसँग छैन । मेसिन बन्छ भनेर कुर्दाकुदै स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ,’ सन्तोषले दुखेसो पोखे ।
बिरामीहरू रुँदै फर्किन्छन्
अर्की बिरामी हुन् ११ वर्षीया दीक्षा शाही ।
गत जेठमा दीक्षाको टाउको दुखाइ असामान्य भयो । थप परीक्षण गर्दा ब्रेन ट्युमर भएको पत्ता लाग्यो । नेपाल एपीएफ अस्पतालमा शल्यक्रिया भयो । चिकित्सकले रेडिएसन थेरापी गर्न सल्लाह दिए ।
त्यसपछि परिवारले गत साउनमा वीर अस्पतालमा रेडिएसन थेरापीका लागि नाम टिपाए ।
तर, पालो तीन महिनापछि मात्रै आयो । दैलेख दुल्लु नगरपालिका-१३ की दीक्षाको तिहारपछि उपचार सुरु भयो । १७ चक्र लगातार रेडिएसन गराइयो । त्यही बेलामा मेसिन बिग्रियो ।
चिकित्सकका अनुसार उनलाई २९ चक्र रेडिएसन दिनुपर्ने थियो । रेडिएसनका लागि वीर अस्पतालको टेमोथेरापी मेसिन एकदमै प्रभावकारी मानिन्छ । नेपालमा यस्तो मेसिन एउटा मात्रै छ ।

उक्त टोमोथेरापी मेसिनले अनियन्त्रित तवरमा वृद्धि हुने क्यान्सरको कोषलाई पुनः बल्झिन नपाउने गरी नष्ट गर्न मद्दत गर्छ । ट्युमरजन्य कोषमा मात्रै विकिरण लगाउने र बाँकी तन्तुहरूलाई बचाउने काम गर्छ । त्यसैले रेडिएसन दिनुपर्ने बिरामीको पहिलो केन्द्र वीर अस्पताल बनिरहेको छ ।
बीचमै उपचार रोकिएपछि दीक्षाको परिवार काठमाडौंका विभिन्न अस्पतालमा भौंतारिइरहेका छन् । सोमबार बिहान उनीहरू भक्तपुर क्यान्सर अस्पतालमा पुगेका छन् । ऋण गरेर ल्याएको पैसाले कतिन्जेल धान्ने चिन्ता थपिएको छ ।
‘मेसिन बन्छ भन्दा–भन्दै दुई हप्ता बित्यो । अहिले रेडिएसनको उपचारका लागि अन्य अस्पतालमा धाइरहेका छौं, तर कतै पालो पाइएको छैन,’ दीक्षाकी आमा पुष्पाले भनिन् ।
चिकित्सकका अनुसार पनि रेडिएसन दिएपछि बीचमा छोड्दा क्यान्सर फैलिँदै जान्छ । उपचार चक्र नै बिग्रिन्छ ।
‘बीचमा उपचार बन्द हुँदा क्यान्सर फैलिने डरले सताइरहेको छ । छोरीको अनुहार हेर्दा रुन मन लाग्छ,’ पुष्पा दिक्क मान्छिन्, ‘गरिबले उपचार पाउन मुस्किल छ ।’
०००
यस्तै अलपत्र परेकी छिन् दैलेखकी ६९ वर्षीया मैसरी खत्री ।
गत साउनमा निजामती अस्पतालमा परीक्षण गर्दा मैसरीको पाठेघरको क्यान्सर पुष्टि भयो । त्यसपछि वीर अस्पतालमा रेफर गरिएकी उनले तीन साइकल किमोथेरापी पूरा गरेकी छिन् ।
तीन महिना कुरेर बल्ल रेडिएसन थेरापीको पालो पाएकी उनलाई अघिल्लो हप्ताको मिति दिइएको थियो ।
तर, मेसिन तत्कालै नबन्ने भएपछि छोरा नेत्रले आमालाई आफन्तकहाँ लगेर राखेका छन् । ‘किमोथेरापी सकिएपछि रेडिथोथेरापी गर्नुपर्ने थियो । तर मेसिन बिग्रिएर उपचार रोकियो,’ नेत्रले भने ।
वीरमा मेसिन बिग्रिएपछि नियमित रेडिएसन थेरापी गराइरहेका २५ जना बिरामीको उपचार प्रभावित भएको छ ।
त्यसपछि नेत्रले रेडिएसन थेरापीका लागि सरकारी अस्पताल चहारे । तर पालोका लागि चार–पाँच महिना कुर्नुपर्ने जवाफ सुनेपछि उनी थप चिन्तामा छन् ।
निजी अस्पतालमा सरकारीको तुलनामा तेब्बरभन्दा बढी खर्च लाग्छ ।
‘सरकारी अस्पतालमा सस्तो र सुलभ हुन्छ भनेर आएका थियौं, तर यहाँ पनि बन्द भएपछि अर्को विकल्प भएन,’ नेत्रले गुनासो गरे, ‘ऋणपान गरेर ल्याएको पैसाले निजीमा केही दिन पनि उपचार हुँदैन ।’
यो समस्याले बिरामीहरूलाई आर्थिक र स्वास्थ्य दुवै असर पारेको छ । निजी अस्पतालमा रेडियोथेरापीको चक्र पूरा गर्न तीन लाखभन्दा बढी खर्च लाग्छ, जुन गरिब र विपन्न परिवारका लागि असम्भव छ ।

त्यसकारण भारत वा निजी अस्पतालमा लाग्ने लाखौं खर्च थेग्न नसकेर क्यान्सरका बिरामीलाई सरकारी अस्पतालमा पालो कुर्नुको विकल्प हुँदैन । सरकारी अस्पतालमा बारम्बार मेसिन बिग्रिँदा वा पर्याप्त उपकरण नहुँदा बिरामीको स्वास्थ्यमा थप असर परिरहेका छ ।
पालो कुर्दाकुँर्दै गुम्छ ज्यान
वीर अस्पतालको अंकोलोजी विभागमा तीन हप्तादेखि टोमोथेरापी मेसिन बन्द हुँदा सयौं क्यान्सर बिरामीको उपचार रोकिएको छ ।
नेपालमै एक मात्र रहेको अत्याधुनिक मेसिन बिग्रिएपछि गरिब तथा न्यून आय भएका बिरामी सबैभन्दा बढी मारमा छन् ।
अंकोलोजी विभागका प्रमुख तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यका अनुसार दैनिक २५ जना बिरामीले टेमोथेरापीबाट रेडिएसन थेरापी लिइरहेका थिए । अहिले ती सबैको उपचार बीचमै रोकिएको छ ।
क्यान्सरको कोष गुणात्मक रूपमा तीव्र गतिमा फैलिने भएकाले त्यसलाई रोक्न रेडिएसन थेरापी अत्यावश्यक मानिन्छ । यो थेरापीले क्यान्सर कोषलाई मार्ने र अन्य अंगमा फैलन नदिने काम गर्छ । प्रारम्भिक चरणदेखि गम्भीर अवस्थामा पुगिसकेका क्यान्सरका बिरामीहरूलाई थप हानि हुन नदिन पनि रेडिएसन थेरापी अपरिहार्य हुन्छ ।
वीरमा बिरामी तीन–चार महिना पालो कुरेर बसेका थिए । अहिले मेसिन बिग्रिँदा उनीहरू रोग झन् बढेर अन्यत्र महँगो शुल्क तिर्न बाध्य छन्- डा. विवेक आचार्य
ट्युमरको आकार, प्रकार र स्थानका आधारमा चिकित्सकले रेडिएसन थेरापीको मात्रा र पटक निर्धारण गर्छ । औषधिको डोज जस्तै यसको पनि निश्चित मात्रा हुन्छ र यो निर्णय सीटी स्क्यान रिपोर्टका आधारमा लिइन्छ । चिकित्सकको योजनाअनुसार समयमै र सही ढंगले थेरापी नलिँदा क्यान्सर बल्झिने उच्च जोखिम रहन्छ ।
रेडिएसन थेरापी गर्नका लागि सीटी स्क्यानको पालो चैतसम्म पुगिसकेको छ । अहिले वीरमा सीटी स्क्यानका लागि १०० भन्दा बढी र रेडिएसन थेरापीका लागि ४५ जनाभन्दा बढीले पालो कुरिरहेका छन् ।
विज्ञका अनुसार रोगको प्रकार र बिरामीको अवस्थामा निर्भर गर्दै सामान्यतया सातामा पाँच दिनका दरले पाँचदेखि सात सातासम्म रेडिएसन थेरापी दिइन्छ ।
डा. विवेकका अनुसार रेडिएसन थेरापीको पूरा चक्र चिकित्सकले तय गरेको योजनाअनुसार समयमै र नियमित रूपमा नलिँदा रोग बल्झिन सक्छ ।

‘बीचमा उपचार रोकिँदा क्यान्सर झन् फैलिन्छ । किमो गरेपछि दुई हप्ताभन्दा बढी ग्याप हुनु हुँदैनथ्यो,’ डा. आचार्य भन्छन्, ‘वीरमा बिरामी तीन–चार महिना पालो कुरेर बसेका थिए । अहिले मेसिन बिग्रिँदा उनीहरू रोग झन् बढेर अन्यत्र महँगो शुल्क तिर्न बाध्य छन् ।’
‘क्यान्सरका बिरामीका लागि एक दिनअघिको उपचारले ठूलो अर्थ राख्छ । बीच उपचार छोड्दा वा क्यान्सर पुष्टि भएर पनि महिनौं पालो कुर्नुपर्दा कतिपय बिरामीको मृत्यु समेत भइसकेको हुन्छ’
वीर अस्पतालमा टोमोथेरापीको पूरै कोर्स डेढ लाख रुपैयाँमा हुन्छ भने भारतमा त्यही उपचार गर्न ५ लाखभन्दा बढी लाग्छ ।
निजी अस्पतालमा पनि कम्तीमा ३ लाख रुपैयाँ लाग्ने गर्छ । ‘पैसा नभएका बिरामीलाई सहुलियत दिएर उपचार गर्ने गरेका थियौं । तर अहिले मेसिन बिग्रिँदा गरिब बिरामी मर्कामा परेका छन्,’ डा. आचार्यले भने ।
लामो समयसम्म पालो कुर्नुपर्दा शरीरभरि क्यान्सर फैलिएर बिरामीको मृत्यु समेत हुने गरेको डा. आचार्य बताउँछन् । ‘सीटी स्क्यानका लागि महिनौं पालो कुर्नुपर्ने बाध्यता छ । त्यसपछि रेडिएसन थेरापीका थप पालो कुर्नुपर्छ । क्यान्सरका बिरामीका लागि एक दिनअघिको उपचारले ठूलो अर्थ राख्छ,’ डा. आर्चाय भन्छन्, ‘बीच उपचार छोड्दा वा क्यान्सर पुष्टि भएर पनि महिनौं पालो कुर्नुपर्दा कतिपय बिरामीको मृत्यु समेत भइसकेको हुन्छ ।’
अस्पताल प्रशासनलाई टेमोथेरापी मेसिन बनाउन र नयाँ मेसिनका खरिद लागि पटकपटक अनुरोध गर्दा पनि समस्या समधान नहुन नसकेको उनले बताए ।
पुरानो भुक्तानी नदिँदा कम्पनीले मर्मत गर्न मानेन
वीर अस्पतालमा भएको टोमोथेरापी मेसिन क्यान्सर रोगीको उपचारका लागि अत्याधुनिक मेसिन हो ।
खरिद गरेर लामो समयसम्म सञ्चालनमा नआएको अत्याधुनिक टोमोथेरापी मेसिन दुई वर्ष नपुग्दै बिग्रिन पुग्यो ।
वि.सं. २०७५ मा वीरले करिब ४० करोड रुपैयाँ लागतमा मेसिन किनेको थियो । तर खरिद गरेको लामो समयसम्म पनि बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालको चौरमा छोपेर राख्दा खिया लागेर पूरै बिग्रिएको थियो । त्यसपछि सप्लायर्सले अर्को नयाँ उपलब्ध गराएर १८ भदौ २०८० मा वीर अस्पताललाई हस्तान्तरण गरेको थियो ।
पुस २०८० देखि सञ्चालनमा आएको टोमोथेरापी मेसिनले छोटो समयमै हजारौं क्यान्सर बिरामीलाई सस्तो दरमा सेवा दिएको थियो ।

विभागका एक चिकित्सकका अनुसार मेसिनको वारेन्टी अवधि बाँकी रहे पनि सप्लायर्सलाई अस्पताल प्रशासनबाट भुक्तानी नपाएको भन्दै मर्मत गर्न अस्वीकार गरेको छ ।
ती चिकित्सकले बताएअनुसार सप्लायर्सले नियमित मर्मतसम्भार गर्दै आएको थियो, तर लामो समयसम्म भुक्तानी नपाएपछि कम्पनीले इन्जिनियर पठाउन मानेको छैन ।
‘अस्पताल प्रशासनले अहिलेसम्म सप्लायर्सलाई मेसिनको भुक्तानी गरेको छैन । भुक्तानी नपाएपछि सप्लायर्सले पनि कम्पनीलाई पैसा दिएको रहेनछ,’ ती चिकित्सक भन्छन्, ‘भुक्तानी नपाएपछि कम्पनीले मर्मत गर्न मानेको छैन ।’
ती चिकित्सकका अनुसार बिरामी राख्ने बेड (टेबल टप) तल माथि नहुँदा रेडिएसन थेरापी दिन नसकिएको हो ।
अस्पतालका उपकुलपति डा. भुपेन्द्र बस्नेतले टेमोथेरापी मेसिनमा प्राविधिक समस्या देखिएको बताए । ‘कम्पनीसँग कुरा भइसकेको छ । मेसिनको मर्मत अनलाइनमार्फत नै हुन्छ,’ बस्नेतले भने, ‘केही दिन भित्रमै मेसिन सञ्चालन हुन्छ ।’
भुक्तानी नपाएको कारणले मर्मत नगरेको भन्ने प्रश्नमा डा. बस्नेतले ७० प्रतिशत भुक्तानी भइसकेको र पाँच वर्षसम्म चुक्ता गर्नुपर्ने सहमति भएकाले भुक्तानीको विषय प्रमुख नभएको बताए ।
समयमै क्यान्सर उपचार निकै महत्वपूर्ण हुन्छ । वीर अस्पतालमा तीन हप्तासम्म मेसिन नबन्दा सयौं बिरामीको जीवन अन्योलमा परेको छ ।
दिनहुँ बिरामी र आफन्तहरू अस्पताल परिसरमा आशा लिएर आउँछन्, तर मेसिन बिग्रिएको छ भन्ने जवाफ पाएपछि निराश भएर फर्किन बाध्य छन् ।
तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4