६ मंसिर, हेटौंडा । क्यान्सरका बिरामी खोज्न १२ जना चिकित्सकको टोली मकवानपुरको गाउँ आइपुगेको छ ।
नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टर काठमाडौं र सिल्भरलाइन अस्पतालका विशेषज्ञ चिकित्सकहरुको टोलीले मकवानपुरगढी गाउँपालिका–४, स्थित सहिद रुद्र स्मृति सामुदायिक स्वास्थ्य इकाई भवनमा क्यान्सर रोगसँग सम्बन्धित स्वास्थ्य जाँच गरेको हो । पाठेघर तथा स्तन क्यान्सर र पोष्टेडसँग सम्बन्धित रोगका बिरामीको स्वास्थ्य जाँच गरिएको छ ।
चार जनालाई पाठेघरको क्यान्सर देखिएको कार्यक्रम संयोजकसमेत रहेकी स्थानीय आयोजक जागरण बचत तथा ऋण सहकारी संस्थाकी मेनुका दाहालले जानकारी दिइन् । पाठेघरसँग सम्बन्धित क्यान्सरको जाँच १६० जनाले गराएका थिए । ‘पाठेघरमा क्यान्सरका संक्रमण देखिएकाहरूलाई तत्काल उपचार गराउन चिकित्सकको टोलीले सुझाएको छ,’ दाहालले भनिन् ।

७० जनाले पोष्टेड रोगको जाँच गराउँदा र ९७ जनाले भिडियो एक्सरेको सेवा पनि लिए । गाउँका ३२० जनाले स्वास्थ्य जाँच गराएका हुन् । गाउँमै पुगेर क्यान्सरका बिरामी खोज्न रोटरी क्लब मकवानपर, हेटौंडा र यालाले कार्यक्रमको आयोजना गरेको थियो ।
क्यान्सर जस्तो जटिल रोगको संक्रमण खोज्न गाउँसम्मै चिकित्सकको टोली आउँदा ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको कार्यक्रम संयोजक दाहालले बताइन् । स्थानीयले पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर परीक्षण, पुरुषमा हुने प्रोस्टेट क्यान्सर परीक्षणका साथै फिजिसियन सेवा, भिडियो एक्स–रेलगायतका स्वास्थ्य सेवा पनि पाएका थिए ।
अघिल्ला वर्षहरुमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई मात्र स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा यस वर्षदेखि पालिकाभरका सबै नागरिकलाई लक्षित गरी स्वास्थ्य जाँचको अबसर प्रदान गरिएको दाहालले जानकारी दिइन् । सहकारीले हरेक तीन तीन वर्षमा क्यान्सर परिक्षण शिविरको आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया 4