
२६ फागुन, काठमाडौं । आईसिसी क्रिकेट विश्वकप लिग टू काे तयारीका लागि श्रीलंकामा रहेकाे नेपाली क्रिकेट टिमले तेस्राे अभ्यास खेलमा श्रीलंका पुलिसलाई १ सय ४४ रनको फराकिलो अन्तरले पराजित गरेकाे छ ।
नेपालले प्रस्तुत गरेको ३ सय ३२ रनको लक्ष्य पछ्याएको श्रीलंका पुलिस ३६.५ ओभरमा १० विकेट गुमाउँदै १८७ रनमा अलआउट भयाे ।
श्रीलंका पुलिसका लागि सि शिल्भाले सर्वाधिक ६४ रन बनाए र मधुशान्का ५० रनमा अविजित रहे । नेपालका लागि तीव्र गतिका बलर करण केसीले सर्वाधिक ३ विकेट लिएका छन् । सागर ढकाल र सन्दीप लामिछाने र कमल सिंह ऐरीले २-२ विकेट लिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेकाे नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३३१ रन बनाएको थियो ।
नेपालका लागि युवा ब्याटर रोहितकुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल र करण केसीले अर्धशतकीय इनिङ्स खेले । तेस्रो नम्बरमा ब्याटिङमा आएका युवा खेलाडी रोहितकुमार पौडेलले सर्वाधिक ७२ रनको योगदान दिए ।
नेपाललाई ओपनर आसिफ शेख र कुशल भुर्तेलले उत्कृष्ट सुरुवात गरेका थिए । कुशल र आशिफले क्रमशः ५७ र ५२ रन बनाए । आरिफ शेख ३५, विनोद भण्डारी ३, भीम सार्की २ र पवन सरार्फ ३ रनमा आउट भए ।
तल्लोक्रममा करण केसीले अविजित ५३ रनको इनिङ्स खेले । कमलसिंह ऐरी ४५ रनमा अविजित रहे । आठौं विकेटका लागि करण र कमलले उत्कृष्ट साझेदारी गरे ।
प्रतिक्रिया 4