
१ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-२७ को छुस्याबहाल अगाडिको बहीलाछीमा पुरातात्विक उत्खनन् सकिएको छ । शुक्रबारदेखि सुरु गरिएको उत्खनन् तीन दिनसम्म चलेको थियो ।
वडा कार्यालय बनाउन लागिएको ठाउँमा मध्यकालीन पाटी रहेको भन्दै स्थानीय तथा अभियन्ताहरुले विरोध गरेपछि निर्माण रोकेर सुरु गरिएको उत्खनन्मा अभियन्ता र स्थानीयले दाबी गरेअनुसारको प्रमाण नभेटिएको पुरातत्व विभाग स्रोतले जनाएको छ । उत्खनन्को क्रममा श्री ३ जुद्ध १९९४ लेखिएको इँटा र त्यसबाट बनेको ढलको संरचना भेटिएको छ । त्यसभन्दा तल्लो तहमा खनेर हेर्दा थप संरचना नभेटिएको विभाग स्रोतले जनाएको छ ।
तर पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने उत्खनन् सकिएपनि त्यसको प्रतिवेदन तयार भइनसकेकाले प्राप्त सामग्रीबारे बताइहाल्न नमिल्ने बताए । दुई÷तीन दिनमा प्रतिवेदन तयार पारेपछि त्यहाँ भेटिएका वस्तु सार्वजनिक गरिने जानकारी पनि उनले दिए ।
ठमेलस्थित ज्याठामा रहेको मल्लकालीन छुस्याबहालको सम्मुखमा बहीलाछी फल्चा थियो कि थिएन भन्नेमा स्थानीयको दुई मत थियो । अभियन्तासहितको एउटा पक्षले त्यहाँ फल्चा रहेको दाबी गरेको थियो भने स्थानीय क्लबका सदस्यसहितको अर्को पक्षले त्यसलाई खण्डन गर्दै आएको थियो ।
तर बहीलाछी सांस्कृतिक महत्वको ठाउँ रहेको भन्दै पुरातत्व विभागले गत माघ २७ गते वडा कार्यालयलाई पत्र लेख्दै ध्यानाकर्षण गराएको थियो । पछि सो क्षेत्र पुरातात्विक महत्वको रहे नरहेको यकिन गर्न उत्खनन् गरिएको थियो ।
प्रतिक्रिया 4