+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
कोशीमा मन्त्रिपरिषद विस्तार :

डेढ महिना शेखरलाई पर्खिएर सरकारमा गयो संस्थापन समूह

ज्ञानेन्द्र कार्कीलाई पनि भाग, शेखरका लागि स्वास्थ्य मन्त्रालय

हरि अधिकारी हरि अधिकारी
२०८१ भदौ २८ गते १२:१९

२८ भदौ, विराटनगर । कोशी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । आन्तरिक किचलोका कारण भागबन्डा गर्न नसकेको नेपाली कांग्रेस डाक्टर शेखर कोइराला समूहलाई बाहिरै राखेर सरकारमा सहभागी भएको हो ।

कांग्रेसबाट मन्त्री बनाउने र सपथ गराउने निर्णय हुँदै गर्दा संस्थापनइतरका नेता शेखर भने सिंगापुर गएका छन् । शेखर निकट केन्द्रीय सदस्य सञ्जय गौतमका अनुसार आँखा उपचारका लागि शेखर बुधबार सिंगापुर गएका हुन् ।

९ वटा मन्त्रालय रहेको कोशीमा कांग्रेस एमालेबीच मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय बाहेक मन्त्रालय आधा–आधा बाड्ने सहमति भएको थियो । पूर्व सहमति अनुसार कांग्रेसले चार मन्त्री र २ राज्य मन्त्रीको नाम पठाउन सकेन् ।

शुक्रबार तीन मन्त्री र एक राज्यमन्त्रीले जिम्मेवारी सम्हाले । चारै जना संस्थापन समूहका हुन् । डाक्टर शेखर कोइराला समूहका लागि एउटा मन्त्रालय राखेर सरकारमा सहभागी भएको कांग्रेस प्रमुख सचेतक गोपाल तामाङले जानकारी दिए ।

शेखर समूहका प्रदेशमा आठ सांसद छन् । उनी निकट प्रदेश सांसद केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेसँग सहकार्य गर्दा आठ सांसदले केन्द्रको सत्ता समीकरण विरुद्ध हुने गरी विद्रोह गरेका थिए । एमालेसँगको पूर्व सहमति अनुसार शेखरले एउटा मन्त्री र एउटा राज्यमन्त्री पाउनेछन् ।

प्रदेशमा शेखरले दुई वटा मन्त्रालय दाबी गरेको थियो । शेखर समूहलाई मिलाउन भन्दै मन्त्रालय फुटाउने तयारी पनि भयो, तर आलोचना हुने भन्दै मुख्यमन्त्री हिक्मत कार्की तयार भएनन् ।

भागबन्डा गर्दा कांग्रेसले पाएको चार मध्ये दुई मन्त्रालयमा शेखर समूहको दाबी थियो । तर संस्थापन पक्षले एउटा मन्त्री र एउटा राज्यमन्त्री दिन तयार भयो । डेढ महिनासम्म दुवै समूह गलेनन् । त्यसपछि संस्थापन समूह सरकारमा जादा कोइराला समूह बाहिरै बस्यो ।

‘डेढ महिना पर्खदा उहाँ मान्नु भएन्, नमानेपछि माथिबाटै एउटा मन्त्रालय छाडेर सरकारमा जानु भन्ने कुरा आयो,’ कांग्रेस एक सांसदले भने,‘यति भएपछि आलोचना पनि टर्ने भयो ।’

कोशी सरकारमा कांग्रेसको नेतृत्व प्रदेश महामन्त्री समेत रहेका भौतिक पूर्वाधार मन्त्री भुपेन्द्र राईले गरेका छन् । उनी कृष्णप्रसाद सिटौला समूहका नेता हुन् । सिटौला समूहकै भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बनेका छन् ।

खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बनेका छन् । हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्कीको समूहका हुन् ।

१७ असारमा कांग्रेस एमालेबीच गठबन्धन बनेपछि ११ साउनमा कोशी प्रदेशमा माओवादी केन्द्रले सरकार छाडेको थियो । १२ गते कांग्रेसले ४ वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति गरेको थियो । तर आन्तरिक सहमति नजुट्दा कांग्रेस सरकारमा सहभागी नभइ कांग्रेस प्रदेशसभा बैठकमा सत्तापक्षमा बसेको थियो ।

मुख्यमन्त्रीसँग अझै दुई वटा मन्त्रालय

नयाँ सरकार विस्तार भएपछि कोशी प्रदेश सरकार १० सदस्यीय बनेको छ । ८ मन्त्री र दुई राज्यमन्त्री छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र स्वास्थ्य मन्त्रालय सम्हालेका छन् । यो मन्त्रालय डाक्टर शेखर कोइराला समूहका लागि राखिएको हो ।

मन्त्रीपरिषदको दोस्रो वरियतामा रहेका रामबहादुर मगर आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा छन् । शुक्रबार शपथ गरेका भौतिक पूर्वाधार मन्त्री राई तेस्रो वरियतामा छन् ।

त्यसपछिको वरीयतामा सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खानेपानी सिचाई तथा उर्जा मन्त्री एकराज कार्की, आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी, उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगाम, पर्यटन वन तथा वातावरण मन्त्री सदानन्द मण्डल छन् ।

राज्यमन्त्री सिर्जना राई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र भुमीप्रसाद राजवंशी भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

दुई दलबीच १३ सदस्यीय मन्त्रीमण्डल बनाउने सहमति छ । अब डाक्टर शेखर कोइराला समूहले मन्त्री र राज्यमन्त्रीको नाम दिएपछि एमालेले एक राज्यमन्त्री थप्नेछ ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?