
४ चैत, काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मकथा लोकार्पण गरिएको छ । शुक्रबार पाटन संग्रहालयमा एक समारोहको आयोजना गरी १०२ वर्षीय जोशीको आत्मकथा पुस्तक लोकार्पण गरिएको हो ।
जोशीलाई आत्मकथा लेखनमा लेखक तथा पत्रकार गिरिश गिरीले सहयोग गरेका हुन् । गिरीले शताब्दी पुरुष जोशीलाई पुस्तक हस्तान्तरण गर्दै पुस्तकको लोकार्पण गरिएको थियो ।
पुस्तकका विषयमा बोल्दै समालोचक तथा भाषाविद् ज्योति तुलाधरले जोशीको आत्मकथामा लोकसंस्कृतिलाई गहिरो रुपमा प्रस्तुत गरिएको बताइन् । जोशीसँग आफ्नो तीन दशक पुरानो चिनजान रहेको भन्दै उनले यो आत्मकथा मात्रै नभई नेपाली संस्कृतिको संस्मरण भएको बताइन् । कार्यक्रममा नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले जोशीले एक जुनीमा यति धेरै विधामा काम गरेको भन्दै प्रशंसा गरे ।
संस्कृतिविद् जोशीले पुस्तकले आफैंलाई चिन्ने मौका दिने बताए । ‘मभित्रको आफूलाई कसरी थाहा पाउने भन्ने हो । मैले आफूलाई आफैंले चिन्न खोज्दैछु,’ उनले भने ।
लेखक गिरिशले यो पुस्तक तयार पार्न सात महिना लागेको जानकारी दिए । उनले भने, ‘मैले गरिरहेको कामलाई थाँती राखेर किताब लेखेको थिएँ तब मात्रै सम्भव भयो ।’
बुकहिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य आठ सय रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया 4