
म २०६७ सालमा सरकारी वकिल भएको हुँ, एकैपटक सह–सचिवबाट सेवा प्रवेश गरें ।
मेरो पहिलो पोस्टिङ दिपायलमा भयो । त्यहाँ छँदा मैले धेरैवटा मुद्दा हेरें, तर एउटा घटनाले मेरो दिमागमा एकदमै प्रभाव पार्यो । मेरो ब्रह्मले जो कसूरदार भनिएकी छिन्, उनी निर्दोष हुन् भनिरहेको थियो । तर, उनलाई सजाय भयो, सर्वोच्च अदालतले सजायलाई नै सदर गर्यो ।
यही घटनाले निर्दोषहरूले सजाय पाएको सन्दर्भमा मेरो विशेष रुचि रहन गयो, न्यायका लागि केही काम गरौं भन्ने सोच पलायो ।
गलत अभियोजनको केस अधिकतम जातीय आधारमा पनि भइरहेको हुन्छ, किन यस्तो भइरहेको छ भन्ने अध्ययनकै विषय होला । बाहुन, क्षेत्रीभन्दा अन्य जातमा बढी देखिन्छ, अनि बलात्कार, मानव बेचबिखन जस्ता केसमा धेरै देखिन्छ । त्यो घटनामा पनि कसूरदार भनिएकी महिला जातमा दमाई थिइन् ।
ती महिला ४५/५० हाराहारीको उमेरकी दलित थिइन् । उनी चाहिं कैलाली स्थायी घर भए पनि भारत दिल्लीको मेरठ भन्ने ठाउँमा बस्थिन् । विवाह गरेर घरजम गरेर बसेकी थिइन्, कैलालीस्थित माइतीमा आउजाउ गरिरहन्थिन् ।
माइतीमा आउँदा उनको एक जना छिमेकी केटीसँग भेट हुन्छ । उनको आमाको मृत्यु भएको हुन्छ, सौतेनी आमासँग बसेकी हुन्छिन् । उनले ‘म यहाँ बस्न नसक्ने भएँ, सौतेनी आमाले बस्न पनि दिन्नन् । खाना पनि दिन्नन्, मलाई जागिर गर्न लिएर जान’ भनेर आग्रह गर्छिन् ।
केटी नाबालिका थिइन्, ती महिलाले होइन, तिम्रो बाबु पनि छैनन्, घर छाडेर जानुहुँदैन भनेर सम्झाईबुझाई गर्न खोज्छिन् । तर होइन, म मर्ने भएँ, मलाई लैजानु, सौतेनी आमाले यसो गरिन् भनेर पटक–पटक भन्छिन् । त्यसपछि ती महिला उनलाई दिल्ली लिएर जान्छिन् ।
त्यहीबीचमा दिल्ली जाने किशोरीका बाबु फर्किन्छन् । उनी केटीलाई लिएर जाने महिलाको बाबुसँग भेट्न पुग्छन् । त्यसपछि अर्काको छोरी किन लगिस्, फिर्ता लिएर आइज् भनेर उनलाई घरबाट फोन जान्छ । उनले ठिक छ, जागिर खान जान्छु भनेर मेरो पछाडि लागेर आइन्, म घरैसम्म आउन चाहिं भ्याउँदिन, तर फलानो ठाउँसम्म आउनु म त्यहाँसम्म ल्याइदिन्छु भनिदिन्छिन् ।
पछि बालिकाको बुवा उनलाई लिन पुग्छन् । नेपाल फर्किंदा पनि ती महिलाले सहयोग गरेकी छन्, बाबुलाई नै बुझाएकी छन् । तर जिल्ला फर्किएपछि किशोरीका बुबाले उनै महिलाविरुद्ध मानव बेचबिखनको जाहेरी दिन्छन् । २०६७ सालमा यो मुद्दा उच्च अदालतमा आएको थियो ।
यो घटनामा महिलाले बालिकालाई बेच्न लगेको होइन भन्ने मलाई किन लाग्यो भने पहिलो कुरा उनको मनसाय त्यस्तो थियो भने बेच्नुपथ्र्यो । तर, उनले जागिर लगाइदिइन् । दोस्रो कुरा उनले आफ्नै बाबुलाई आएर लग भनेर फिर्ता गरिदिएकी छिन् । यति भएपछि उनले बेच्ने कुरा कहाँबाट आयो ?
तर, जिल्ला अदालतले बेचबिखन ठहर गर्यो, उच्चले पनि गर्यो । अदालतले नाबालकलाई बुबा-आमासँग छुटाउन पाइन्न भन्ने आधार टेक्दै दोषी ठहर्यायो । तर नाबालक भए पनि उद्देश्य के थियो भन्ने हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।
यो घटना मेरो दिमागमा बसिरहेको थियो, पछि अरू–अरू पनि यस्तै केस आइरहे । जे भने पनि सरकारी वकिल भनेको थुनाउने पेशा नै हो हाम्रो । तर म के भन्छु भने मान्छेलाई जसरी पनि थुनाउने होइन । यदि उसले अपराध गरेको छ भने ऊ थुनिनुपर्छ । उसले सजाय पाउनुपर्छ । तर यदि अपराध गरेको छैन भने निर्दोष मान्छे फस्नुहुँदैन । मुख्य कुरा यो हो ।
यही बीचमा म सन् २०१३ मा अमेरिका पढ्न जाने मौका पाएँ । एउटा ‘फेलोसिप’ मा जाँदा मैले त्यही मौकामा अमेरिकन युनिभर्सिटीमा कानुनमा स्नातकोत्तर पनि गरें । त्यतिबेला त्यहाँ ‘रङफुल कन्भिक्सन’ भन्ने विषय नै थियो । मलाई नेपालमा हुँदा एकखाले धारणा बोकेर हिंडेको थिएँ, अमेरिकामा त्यही कुरामा मिल्दो कोर्स भेटेपछि मलाई ओहो ! भन्ने भयो ।
नेपालमा कुनै पनि कानुनको विद्यार्थीले यो विषय पढ्दैनन् । नेपालमा यो विषय कोर्समै छैन । यो कोर्स नभएपछि मैले यो कुरा पढ्नुपर्छ भन्ने भयो । यो पढेर केही ज्ञान लिएपछि यो कुरा संसारभरि नै रहेछ भन्ने मलाई भयो ।
अमेरिकामा पनि रहेछ, यसबाट मैले के सिकें भने अमेरिका जस्तो ठाउँमा पनि मान्छेहरू झुटो अभियोजनको सिकार हुँदा रहेछन् भने हाम्रोमा कति होलान् ? हाम्रोमा ‘रिसर्च’ गरेका छैनौं, केही घटना त मैले आफैंले देखेको पनि छु । तर यस्तो संख्या कति छ भन्ने थाहा छैन । किनभने, यो कुरामा अध्ययन नै भएको छैन ।
हाम्रो राज्यका अंगले पनि दुई वटा कुरामा ध्यान दिनुपर्छ । तर दिइरहेको छैन । जस्तै, अपराध भइसकेपछि त्यसलाई सजाय गर्ने कुरामा चाहिं हामीले ध्यान दिएकै छौं । कतिपय छुटेका होलान्, केही अपवाद पनि हुन्छन् । अधिकतम सजाय गर्ने कुरामा ध्यान दिएका छौं । तर, त्यो अपराध नै नघट्ने कसरी होला भनेर उपाय खोज्नेतिर हामीले कहिल्यै पनि सोचेनौं ।
अपराध भएर सजाय दिनुभन्दा अपराध नै हुन नदिनु राम्रो हो नि ! हामीले त्यतातिर ध्यान दिएनौं । त्यतातिर ध्यान दिनुपर्छ । दोस्रो कुरा हामीले कहिलेकाहीं गलत मुद्दा चलायौं कि ? निर्दोष मान्छेहरू पनि जेल परे कि ? भनेर राज्यले कहिल्यै पनि सोचेको छैन ।
सरकारी वकिलले मुद्दा दर्ता गर्न लगेपछि जसरी पनि जेल हाल्ने भनेर सोच्छ । यस्तो खालको ‘स्कुलिङ’ भयो, मैले तालिम हुँदा हाम्रा सरकारी वकिललाई पनि भन्ने गरेको छु, हाम्रो काम निर्दोष मान्छे फसाउने र दोषी छ भने त्यसलाई छुटाउने पनि होइन ।
दोषी छ, अपराध गरेको छ, सजाय पाउनुपर्छ । निर्दोष छ, छुट्नुपर्छ । निर्दोष तपाईंलाई लाग्छ भने प्रमाणले निर्दोष देखिन्छ भने त्यो मान्छे जसरी पनि थुनामा जानुपर्छ भनेर जबरजस्त लेख्ने, बहस गर्ने, जबरजस्त प्रमाण संकलन गरेर नयाँ प्रमाण सिर्जना गर्ने जस्ता कार्य हाम्रो जिम्मेवारी होइन ।
किनभने, हामी राज्यका तर्फबाट काम गर्छौं । राज्यले काम गर्दा निष्पक्ष ढंगले काम गर्नुपर्छ भन्ने मेरो बुझाइ हो । मैले सरकारी वकिललाई यही भनेको छु । तर हाम्रा सरकारी वकिलहरूको ‘स्कुलिङ’ नै त्यो हामीले लगाएको मुद्दा हो, हामीले लगाएको मुद्दा जित्नैपर्छ भन्ने सोचाइ रहेछ ।
म चाहिं त्यो पक्षमा छैन । किनभने, हामीले लगाएका शतप्रतिशत मुद्दा सही छन् भनेर म भन्दिनँ । कतिपय मुद्दा गलत पनि छन्, त्यो हामीले स्वीकार्नुपर्छ । गलत अभियोजन हुनुका पछाडि पनि विभिन्न कारण छन् ।
म त के भन्छु भने सरकारी वकिलले कुनै पनि मुद्दा हार्दैन, हामी सबै मुद्दा जित्छौं । किनभने, जहाँ बलियो प्रमाण छ, जहाँ अपराध भएको छ, त्यो मान्छेलाई हामी मुद्दा चलाउँछौं । त्यसलाई अदालतले कसूर ठहर गर्छ, जेल पठाउँछौं, हामीले जित्यौं ।
तर कहिलेकाहीं हामी निर्दोष मान्छेलाई पनि मुद्दा चलाइरहेका हुन्छौं । निर्दोष मान्छेलाई मुद्दा चलाउँदा प्रमाण पुग्दैन । उसले अदालतबाट सफाइ पाउँछ भने त्यसलाई पनि हामीले जितेको मान्नुपर्छ । किनभने, हामी राज्य हौं, राज्यको तर्फबाट काम गर्दा राज्यले हारेको हो त ? होइन, त्यो पनि हामीले जितेकै हौं भन्ने सोच्नुपर्छ ।
यदि सरकारी वकिलले लगेको कुनै मुद्दा फेल भयो, अदालतले सफाइ दियो भने त्यहाँ कहिलेकाहीं के अपराधै भए पनि त्यहाँ प्रमाण संकलनको कमजोरी हुनसक्छ ।
हो, सरकारी वकिलको कमजोरी भयो, बहसमा कमजोरी भयो, अथवा न्यायालयको कमजोरीका कारण मुद्दा हारियो भने चाहिं हामी सचेत हुनुपर्छ । होइन, साँच्चै ‘फेक केस’ अभियोजन भएको थियो र सरकारी वकिलले हार्यौं भने त्यो राम्रो हो भन्ने किसिमले हेर्नुपर्छ । त्यो पनि हाम्रो जितै हो भन्ने सोच्नुपर्छ ।
(नायब महान्यायाधिवक्ता पाण्डेयसँग अनलाइनखबरकर्मी गौरव पोखरेलले गरेको कुराकानीमा आधारित ।)
प्रतिक्रिया 4