+
+

सत्ता गठबन्धनबाट ६ महानगरमा को–को बन्लान् मेयरको उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १७:२८

७ वैशाख, काठमाडौं । भागबन्डाको जटिताबीच सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचनमा देशका ११ उपमहानगरपालिका सहित ६ महानगरको टुंगो लगाएको छ ।

बुधबार सार्वजनिक सहमतिअनुसार यी स्थानीय तहमा अब गठबन्धनका साझा उम्मेदवार उठ्नेछन् । ‘वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा तपसिल बमोजिमका दलहरुले तपसिल बमोजिम उम्मेदवारी दिने सहमति गर्‍यो,’ सहमतिपत्रमा उल्लेख छ, ‘सहमति बमोजिम गर्न गराउन आआफ्ना राजनीतिक दलका निकायहरुलाई निर्देश गरिन्छ ।’

सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले तीन महानगर र अन्य तीन दलले एक÷एक वटा महानगरको नेतृत्व लिने छन् । नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरको नेतृत्व लिने छ । माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगंज महानगरको नेतृत्व लिने छन् । योसँगै महागरमा गठबन्धनका उम्मेदवार को होला भन्ने चासो बढेको छ ।

काठमाडौं

०७४ को स्थानीय तह निर्वाचनमा एमालेले जितेको काठमाडौं महानगरमा यसपाली गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले उम्मेदवारी दिंदै छ । नेपाली कांग्रेसलाई काठमाडौं महानगरको नेतृत्व दिने सहमति भएसँगै प्रमुखमा कसलाई अघि सारिन्छ भन्ने चासो बढेको छ । नेपाली कांग्रेसले अलिहेसम्म औपचारिकरुपमा नामअघि नसारेको भए पनि सिर्जना सिंहलाई प्रमुख बनाउने तयारी गरिरहेको छ ।

महानगर कार्यसमितिले आकांक्षीका नाम केन्द्रलाई सिफारिस नगर्दै सिंहलाई उम्मेदवार बनाउन नेताहरु सहमत भएका छन् । उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नी हुन । काठमाडौं कांग्रेसको राजनीतिमा सिंहको पकड छ । सिर्जनालाई मेयर बनाउन कांग्रेस सभापति शेरबहादुर देउवा पनि सकरात्मक छन् । सिर्जनालाई काठमाडौं महानरपालिका मेयरको उम्मेदवार बनाउने भन्नेबारेमा मंगलबार बसेको गठबन्धनको बैठकमा समेत कुराकानी भएको थियो ।

ललितपुर

ललितपुर महानगरका लागि नेपाली कांग्रेसबाट सात जनाको नाम सिफारिस भएको छ । कांग्रेस ललितपुर महानगर कार्यसमितिले महानगर कमिटीका सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ, प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरिबाबु महर्जन, अहिलेकी उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको छ । हालका मेयर चिरिबाबु महर्जन र प्रेमकृष्ण महर्जन बलिया दाबेदार हुन ।

पोखरा

पोखरा महानगरको नेतृत्व पाएको नेकपा एकीकृत समाजवादीले प्रमुखका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार कास्की जिल्ला कमिटीले दिलु पन्त, श्रीनाथ बराल र धनराज आचार्यको नाम सिफारिस गरेको थियो । यी मध्ये प्रमुखमा धनराज आचार्यलाई अघि सार्ने सम्भावना रहेको नेकपा एकीकृत समाजवादीका नेताहरु बताउँछन् । धनराजलाई मेयर बनाउनकै लागि अध्यक्ष माधवकुमार नेपालले अन्तिमसम्म पोखराको दावी छोडेका थिएनन् । कांग्रेस र एकीकृत समाजवादीका बीचमा सहमति जुट्न नसकेपछि भागण्डा अन्तिमसम्म पनि टुंगिन सकेको थिएन । तर मंगलबारको बैठकमा कांग्रेसलाई ७ उपमहानगरपालिकामा मेयर दिने सहमति भएपछि कांग्रेसले पोखराको दावी छोडेको थियो ।

भरतपुर

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरको नेतृत्व पाएको छ । माओवादीबाट हालकी मेयर रेनु दाहाल निर्विकल्प जस्तै छिन् ।

माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारीले प्रक्रिया पूरा गर्न अब जिल्लाबाट दाहालको नाम सिफारिस गर्ने जानकारी दिए ।

विराटनगर

बिराटनगर मेयर पाएको नेपाली कांग्रेसमा प्रमुखका लागि ७ जनाको नाम सिफारिस भएको छ । महानगर समितिले हालका मेयर भीम पराजुली, नगर सभापति दीपक चापागाईं, हालकी उपमेयर इन्दिरा कार्की, केन्द्रीय सदस्य अमृत अर्याल, डिला संग्रौला, जिल्ला उपसभापति नागेश कोइराला र प्रदेश सदस्य गोपाल रेग्मीको नाम सिफारिस गरिएको थियो ।

यी मध्य हालका मेयर पराजुली र संग्रौला बलिया उम्मेदवार हुन । नेपाली कांग्रेसको संस्थापन इतर समूह पनि सकारात्मक भएकाले संग्रौलालाई मेयरमा अघि सार्ने सम्भावना बलियो भएको कांग्रेस मोरङका नेताहरु बताउँछन् ।

वीरगंज

जनता समाजवादीले वीरगंज महानगरको नेतृत्व पाएको छ । २०७४ मा जनता समाजवादी (तत्कालीन संघीय समाजवादी)बाट निर्वाचित मेयर नेकपा एमाले प्रवेश गरेपछि राजेशमान सिंह निर्विकल्प जस्तै बनेका छन् ।

हालै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट जसपामा प्रवेश गरेका उनलाई वीरगञ्जको मेयरका लागि जसापाले नामसमेत सिफारिस गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?