+
+

केशव स्थापित : घरदैलो भन्दा गुठियार भेटघाटमा जोड

घरदैलो टोलीसँग विदा भएपछि मेयरका उम्मेदवार स्थापित सवा ९ बजे सोह्रखुट्टेस्थित नेपा बैंक्वेटमा पुगे । त्यहाँ काठमाडौंका कला, संस्कृति र सम्पदा क्षेत्रका अगुवा स्थापितलाई पर्खेर बसेका थिए । काठमाडौंको चुनावमा यी अगुवाहरु भूमिका निर्णायक हुन्छ भन्ने बुझेका स्थापितले उनीहरुलाई करिब एक घण्टा भन्दा बढी समय दिए ।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ वैशाख २४ गते २०:४८

२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले बालाजु क्षेत्रमा शुक्रबार विहान बिहान ७ बजे घरदैलो गर्ने कार्यक्रम तय गरिएको थियो ।

बिहानभर पानी परेकाले करिब सवा ८ बजेमात्रै घरदैलो सुरु भयो । काठमाडौं महानगरपालिका–१६ मा पर्ने बालाजु बाइपास क्षेत्रमा मेयरका उम्मेदवार स्थापित र उपमेयरकी उम्मेदवार सुनीता डंगोलसहितको टोली साघुँरा गल्ली छिचोल्दै घरदैलोमा अगाडि बढ्यो ।

टीका र खादा लगाएका उम्मेदवार स्थापित र डंगोल हात जोड्दै अघि बढे । उनीहरुले मतदातासँग संवाद गरेनन्, एकोहोरो हिँडिरहे । टोलीमा रहेका केही कार्यकर्ताले नमुना मतपत्र र पर्चा बाँडे । अर्को कार्यक्रममा जान हतारिएका स्थापित र डंगोल आधा घण्टापछि घरदैलो टोलीसँग छुट्टिए । त्यसपछि वडाअध्यक्ष र वडासदस्यका उम्मेदवार र स्थानीय कार्यकर्तामात्र घरदैलो कार्यक्रममा रहे ।

उपमेयरकी उम्मेदवार डंगोललाई हामीले सोध्यौं, ‘कस्तो भयो घरदैलो ?

जवाफमा उनले भनिन्, ‘समग्रमा राम्रो भइरहेको छ, सकारात्मक ‘रेस्पोन्स’ पाइरहेका छौं, घरदैलो गरिरहँदा कर्तव्यबोध पनि हुँदो रहेछ ।’

महानगरपालिकाभित्र साँघुरा गल्लीभित्र पसेर भोट माग्दा कस्तो अनुभव भयो ? भन्ने प्रश्नमा डंगोलले गल्लीलाई काठमाडौंको ‘ब्युटी’ भनिन् ।

उनको भनाइ थियो, ‘काठमाडौंका गल्ली, चोकहरुको महत्व छ । कति ठाउँमा बाटो बनेको छैन भने कतिपय ठाउँमा हिलो–धुलो मात्रै भएको हामीले देख्यौं, भोग्यौं । यसको व्यवस्थापन गर्ने, बाटो बनाउने काम सानो देखिन्छ तर निकै नै महत्वपूर्ण छ । यसमा हामीले प्राथमिकता दिएर काम गर्नुपर्छ भन्ने बुझेको छु ।’

घरदैलो टोलीसँग विदा भएपछि मेयरका उम्मेदवार स्थापित सवा ९ बजे सोह्रखुट्टेस्थित नेपा बैंक्वेटमा पुगे । त्यहाँ काठमाडौंका कला, संस्कृति र सम्पदा क्षेत्रका अगुवा स्थापितलाई पर्खेर बसेका थिए । काठमाडौंको चुनावमा यी अगुवाहरु भूमिका निर्णायक हुन्छ भन्ने बुझेका स्थापितले उनीहरुलाई करिब एक घण्टा भन्दा बढी समय दिए । विहान ९ः४० देखि छलफलमा बसेका स्थापित ११ बजेमात्रै निस्किए ।

स्थापितका सहयोगी सुरेश किरणले काठमाडौंको भित्री सहरमा बस्ने, यहाँको भाषा, कला, संस्कृति, सम्पदा, संगीतको क्षेत्रमा लामो समयसम्म आवद्ध अभियन्तासँग छलफल गरिएको बताए ।

छलफलमा सहभागी अगुवाले स्थापितलाई केही सुझाव र सहयोगको वचन दिएको उनले बताए ।

‘अव्यवस्थित पार्किङ हटाउनुपर्छ, हरियाली बढाउनुपर्छ, ०७२ सालमा क्षति भएका र पुनर्निर्माण गर्न बाँकी सम्पदा पुनर्निर्माण गर्नुपर्छ र सडक विस्तारका नाममा स्थानीयको घर भत्काउनु हुँदैन’ छलफलका सहभागीले दिएको सुझावबारे सुरेशले भने ।

उनका अनुसार छलफलका सहभागीले स्थापितको नेतृत्वमा कला, संस्कृति र भाषाको संरक्षण हुने आशा व्यक्त गरेका थिए । ‘हामी जिताउनलाई सहयोग गर्छौं । जिताउनुपर्छ, उहाँले जित्नुभयो भने मात्रै कला संस्कृति, भाषा संरक्षण हुनुका साथै काठमाडौंको भित्री सहरको चासो पूरा हुनसक्छ भन्ने विश्वास उहाँहरुको छ’ सुरेशले भने ।

विहान ११ बजे सोह्रखुट्टेको छलफल सकिएपछि स्थापित जमलस्थित एल्लो प्यागोडा होटलतर्फ लागे जहाँ उनको चुनाव प्रचार–प्रसार कार्यालय छ । त्यहाँ उनले सञ्चार माध्यमका प्रतिनिधिहरुसँग छलफल गरे । चुनाव प्रचार–प्रसारलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे सुझाव लिए । त्यसपछि खाना खाएर केही समय आराम गरे ।

दिउँसो १ बजे स्थापित काठमाडौंका गुठियारसँगको छलफलमा सहभागी भए । मृत्यु संस्कार, जात्रा व्यवस्थापन र अरु सामाजिक कामको अगुवाइ पनि गुठीहरुले गर्छन् । काठमाडौंको चुनावमा जित र हारका लागि गुठी नै निर्णायक हुने ठानिन्छ । यस्तोमा आफ्नो ब्यस्त ‘सेडयुल’का बाबजुद पनि उनले गुठीयारसँग करिब तीन घण्टा बिताए ।

दिउँसो साढे ४ बजे स्थापित पुनः वडा नम्बर १६ को घरदैलोमा मिसिन आइपुगे । स्वयम्भूको भगवानपाउबाट सुरु भएको घरदैलोमा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पनि सहभागी थिइन् । स्वयम्भूका गल्ली चाहार्दा स्थापितलाई केही ठाउँमा शुभेच्छुकले टीका लगाइदिएर जितको शुभकाना दिए । केही ठाउँमा कार्यकर्ताले घरमै बोलाएर सगुन खुवाए ।

घरदैलोमा हिँडेको समूह र मतदाताबीचको खासै संवाद भएन । उम्मेदवार नमस्कार गर्दै अघि बढ्थे, कार्यकर्ताले घोषणापत्र र उम्मेदवारको चिनारी पत्र दिँदै जान्थे । करिब ५५ मिनेट घरदैलो टोलीसँगै हिँडेपछि स्थापित पुनः हतारमा छु भन्दै विदा भए ।

घरदैलोको अनुभव बताउनुहोस् भन्ने हाम्रो प्रस्तावमा उनले भने– ‘नो टाइम, नो टाइम ।’ स्थापितले छाडे पनि घरदैलो टोली भने नेता शाक्य र उपप्रमुखकी उम्मेदवार डंगोलसहित अगाडि बढिरह्यो ।

तस्वीर र भिडियो : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?