
१३ जेठ, विराटनगर । नेकपा एमालेले जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुख उम्मेदवारको नाम टुङ्गो लगाएको छ ।
शुक्रबार बसेको बैठकले प्रमुख अजम्बर राई र उपप्रमुख उषा झा ठाकुरलाई बनाउने निर्णय गरेको जिल्ला सचिव रुपेश खतिवडाले जानकारी दिए ।
सुन्दरहरैचा नगरपालिकाका बासिन्दा राई नेकपा एमाले प्रदेश १ कमिटी सदस्य हुन् । रंगेली नगरपालिकाकी ठाकुर अनेमसंघमा आवद्ध छिन् ।
जिल्ला समन्वय समिति मोरङमा नेकपा एमालेको एकल बहुमत छ । दुवै जना स्वत निर्वाचित हुनेछन् । १७ वटा पालिका रहेको मोरङका ३४ प्रमुख उपप्रमुख मतदाता छन् ।
नेकपा एमालेबाट मात्रै २१ जना प्रमुख उपप्रमुख छन् । बहुमतका लागि १८ मत आवश्यक पर्छ । नेपाली कांग्रेसबाट १२ प्रमुख उपप्रमुख र माओवादी केन्द्रका एक जना उपप्रमुख छन् ।
राई र ठाकुर निर्वाचित जनप्रतिनिधि होइनन् । उनीहरुलाई पालिकाको कार्यपालिका निर्वाचन मार्फत ल्याउने एमालेको तयारी छ ।
बैठकले निर्वाचित जनप्रतिनिधिहरुका लागि निर्देशिका पनि जारी गरेको सचिव खतिवडाले बताए । बैठकले जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि जेठ २२ गते विराटनगर बोलाउने निर्णय पनि गरेको छ ।
सचिव खतिवडाका अनुसार केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलको उपस्थितिमा मतदातालाई धन्यवाद दिने कार्याक्रम आयोजना गर्ने निर्णय भएपनि मिति भने तय भएको छैन ।
प्रतिक्रिया 4