+
+

‘गाली गर्ने कार्यक्रम’ भन्दै किन रिसाएर हिँडे मेयर बालेन ?

अमृत चिमरिया अमृत चिमरिया
२०७९ जेठ ३१ गते २०:१९

३१ जेठ, काठमाडौं । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो ।

सो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए । अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन् ।

काठमाडौं आएपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको ‘काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’मा सहभागी भएर धेरै खुसी लाग्यो ।’

साहले संघ र प्रदेश सरकारले गरेको कार्यक्रमलाई किन गाली गर्ने कार्यक्रमको संज्ञा दिए त ? उक्त अभिमुखीकरणमा सहभागी एक जनप्रतिनिधिका अनुसार बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले मन्तव्यमा राखेको धारणाप्रति बालेनले असन्तुष्टि जनाएका हुन् ।

जम्मकट्टेलले भने- बञ्चरेडाँडामा फोहोर लैजान पाइँदैन 

धादिङबाट प्रदेशसभामा निर्वाचित जम्मकट्टेलले  काठमाडौंको फोहोर व्यवस्थापनको विषय उठाएका थिए ।

‘काठमाडौंबासीको फोहोरको जिम्मा धादिङ र नुवाकोटका जनताले किन लिनुपर्ने ? कुनै पनि हालतमा काठमाडौंको फोहोरको असर धादिङ र नुवाकोटको जनताले सहँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।

बञ्चरेडाँडा क्षेत्रका वासिन्दाको अवरोधका कारण जेठको करिब २० दिन काठमाडौंको फोहोर उठ्न सकेको थिएन । सहरी विकास मन्त्रालयसँग स्थानीय वासिन्दाको सहमति भएपछि गत हप्तादेखि बञ्चरेडाँडामा फोहोर व्यवस्थापन सुरु भएको छ ।

मन्त्री जम्मकट्टेलले आफ्नो मन्तव्यको अन्तिममा ‘काठमाडौंलाई सुझाव’ भन्दै काठमाडौंले बञ्चरेडाँडामा फोहोर लान नपाउने घोषणा गरेका थिए । ‘काठमाडौंको फोहोरको विषयमा ०६३ सालको अन्तरिम व्यवस्थापिकामा चुनिएदेखि म धेरै लागेको छु । अहिले पनि म त्यही निर्वाचन क्षेत्रको बासिन्दा हो । त्यहीँको जनप्रतिनिधि हिसाबले म भन्दैछु काठमाडौंले अब बञ्चरेडाँडामा फोहोर लैजान पाउँदैन ।’

उनले काठमाडौं महानगरपालिकाप्रति लक्षित गर्दै एउटा पालिकाले अर्को पालिकामा हस्तक्षेप गर्न नपाउने समेत बताए । मेयर साह भने मन्त्री जम्मकट्टेलले बोल्दाबोल्दै कार्यक्रम छाडेर निस्किएका थिए ।

मेयरलाई नदेखिपछि उपमेयर सुनिता डंगोललाई सम्बोधन गर्दै मन्त्री जम्मकट्टेलले सुझाव दिए ‘अब काठमाडौंमा वडाबाट फोहोर व्यवस्थापन सुरु गर्नुस, कुहिने र नकुहिने फोहोर छुट्याउनु नै वडाको मुख्य काम हो भनेर जिम्मा लगाउनुस् ।’

मेयर बालेन साहका स्वकीय सचिव भुपदेव साहले अभिमुखीकरण कार्यक्रम भनेर आरोप प्रत्यारोप हुन थालेपछि मेयर र उपमेयर कार्यक्रम छाडेर बीचैमा राजधानी फर्केको बताए ।

‘बागमती प्रदेशका मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम भन्दै बोलाइएको थियो तर अभिमुखीकरण भन्दा धेरै गालीगलौज भयो’ बालेनको भनाइ उधृत गर्दै भुपदेवले भने, ‘हाम्रो राजनीतिक संस्कार कस्तो छ भनेर यसले पनि देखाउँछ । हामीलाई काम गर्ने समय नपुगिरहेको बेला यस्तो कार्यक्रममा किन बस्ने भनेर काठमाडौं आएको हो ।’

बालेनले काठमाडौं महानगरपालिकाबासीको गाली खान तयार रहेको तर विना कारण अरुको गाली खानुपरेको र कार्यक्रमको शीर्षक भन्दा असम्बन्धित विषयमा छलफल केन्द्रित भएकाले छोडेर हिँडेको बताएका स्वकीय सचिव साहले जानकारी दिए ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?