+
+

सीसीटीभी फुटेज खै ? मेटियो !

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १९ गते १७:१८

१९ असार, काठमाडौं । आर्थिक वर्ष २०७९/८० बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको आरोप अर्थमन्त्री जनार्दन शर्माल अस्वीकार गरेपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय छानबिन समिति बनाउन र सीसीटीभी फुटेज हेर्न माग गर्‍यो । तर संसदीय छानबिन समिति बनाउन न सत्तारुढ दलहरु तयार भए, न अर्थ मन्त्रालयले सीसीटीभी फुटेजबारे केही बोल्यो ।

उपभोक्ता हित संरक्षण मञ्चले २४ भदौ २०७८ बेलुका ११ बजेदेखि २५ गते बिहान ६ बजेसम्म र १४ जेठ २०७९ बेलुका ६ बजेदेखि १५ गते बिहान ६ बजेसम्मको सीसीटीभी फुटेज माग गर्दै सूचनाको हक अन्तर्गत निवेदन दियो ।

सूचनाको हकसम्बन्धी ऐन अनुसार नै निवेदन परेपछि अर्थ मन्त्रालयले आइतबार जवाफ दिएको छ ।

मन्त्रालयको योजना अनुगमन तथा मूल्यांक महाशाखाले निवेदकलाई दिएको जवाफमा सीसीटीभी फुटेजको अभिलेख १३ दिनसम्म मात्र रहने उल्लेख छ । मन्त्रालयको पत्रमा भनिएको छ, ‘…..मन्त्रालयमा जडान भएको सीसीटिभी फुटको क्षमता र जडान भएको क्यामराका आधारमा बढीमा १३ दिनसम्मको मात्र अभिलेखमा रहने र त्यसअघिको अभिलेख क्रमशः मेटिँदै जाने …. ।’

यसअनुसार मन्त्रालयसँग बजेट सार्वजनिकको अघिल्लो दिन १४ जेठ गतेको सीसीटीभी फुटेज सुरक्षित छैन । कानुनका जानकारहरुले तोकिएको समयसम्म फुटेज सुरक्षित नराख्नुलाई कानुनको बर्खिलाप भएको बताएका छन् ।

गृह मन्त्रालयले जारी गरेको सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि–२०७२ (२०७५मा संशोधित) ले सार्वजनिक निकायले ३ महिनासम्म सीसीटीभी फुटेजको अभिलेख सुरक्षित राख्नुपर्छ भनेको छ । फुटेजहरु अनुसनधानको सिलसिलामा नेपाल प्रहरीसहित सरकारी निकायले माग गरेमा तुरुन्त उपलब्ध गराउनुपर्ने र मनिटरिङ रुमको सबै जवाफदेहिता सम्बन्धित निकायको हुने कार्यविधिमा व्यवस्था छ ।

सीसीटीभी फुटेज नजोडेमा वा अभिलेख सुरक्षित नराखेमा विद्युतीय कारोबार ऐनअनुसार कारबाही हुने गृह मन्त्रालयले जारी गरेको कार्यविधिमा उल्लेख छ ।

तर अर्थ मन्त्रालयले १३ दिनको मात्र सीसीटीभी फुटेज सुरक्षित हुने बताउनुले थप आशंका बढाएको छ ।

‘मञ्चलाई अर्थ मन्त्रालयले कानुन अध्ययन गरेन भन्ने लाग्दै लाग्दैन, कानुनले अनिवार्य राख्नुपर्ने सीसीटीभी फुटेज राखेन भन्ने कल्पना गर्न पनि सकिँदैन,’ मञ्चका महासचिव विष्णु तिमिल्सिना भन्छन्, ‘अर्थ मन्त्रालयले कानुन र सत्य छल्न पाउँदैन । फुटेज दिन अनुरोध गर्दै हामी पुनः कानुन बमोजिम निवेदन दिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?