
२३ असार, दाङ । असार नेपाली किसानहरु धेरै व्यस्त हुने महिना हो । धान रोप्ने समय भएकाले किसानहरु विहानदेखि साँझसम्म खेतमै व्यस्त हुन्छन् । असारलाई माना रोपेर मुरी फलाउने महिना पनि भनिन्छ ।
दाङ जिल्लाका अधिकांश ठाउँमा अहिले बर्खे धानको रोपाइँ चलिरहेको छ । तर बंगलाचुली गाउँपालिका–४ डाबरका किसानलाई भने रोपाईं गर्नुअघि चैते धान भित्र्याउने चटारो छ ।
गत वैशाखको पहिलो साता रोपेको चैते धान असार महिनामा पाक्छ । मंसिरमा पाक्ने धान रोपाइँ गर्नुअघि किसानहरु चैते धान भित्र्याउने चटरोमा हुन्छन् । बंगलाचुली–४ डाबरका किसान रत्न थापाको करिब ६ कठ्ठामा चैते धान पाकेको छ । यो वर्ष धान राम्रो फलेकामा उनी खुशी छन् । ‘चैतेधान भित्र्याएपछि बर्खे धान रोप्ने तयारीमा छौं’ उनले भने ।
बंगलाचुली गाउँपालिका–४ की रेश्मा गिरी पनि खेतमै छिन् । ‘चैते धान थन्क्याउन व्यस्त छौं’, उनले भनिन्, ‘अब बर्खे सिजनका लागि ब्याड तयार हुँदैछ । केही दिनमा रोपाइँ हुन्छ ।’ असार महिनामा दैनिकजसो पानी पर्ने हुनाले किसानलाई धान भित्र्याउन समस्या छ । यो क्षेत्रका धेरैजसो किसानले खेतमा चैते र बर्खे दुबैथरि धान रोप्छन् ।
दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ र ४, घोराही उपमहानगरपालिका वडा नं. १ र देउखुरीका केही ठाउँमा किसानले चैते धान रोप्ने गरेका छन् । हिउँदमा पनि सिंचाइको राम्रो सुविधा भएको खेतमा मात्र चैते धान रोप्न सकिन्छ । केही वर्ष अघिसम्म सरकारले किसानलाई चैते धान रोप्न प्रोत्साहन स्वरुप बीउ निःशुल्क रुपमा दिँदै आएको थियो । तर अहिले बीऊ पनि दिन छोेडेको किसानहरु बताउँछन् ।
कृषि ज्ञान केन्द्र दाङका अनुसार जिल्लामा दुई हजार पाँच सय हेक्टर भन्दा बढी क्षेत्रमा चैते धान खेती हुँदै आएको छ । जिल्लामा करिब ३९ हजार ९०५ हेक्टर खेती योग्य जमिनमध्ये ३५ हजार हेक्टरमा धान खेती हुन्छ ।
हेर्नुस तस्वीरहरु :
प्रतिक्रिया 4