२८ साउन, काठमाडौं । काभ्रेको भुम्लु गाउँपालिका–९ मा वन्यजन्तुले क्षति गरेको भन्दै हप्तैपिच्छे निवेदन आउने गरेको छ । जंगली जनावरले गरेको बाली क्षतिको विवरण सहित वडा कार्यालयमा स्थानीय किसानले निवदेन दिन थालेका हुन् ।
‘बाली त सखाप पार्यो, पार्यो, अब मान्छेकै ज्यान खतरामा हुन थालिसक्यो’ वडाध्यक्ष दलबहादुर तामाङ भन्छन्, ‘साँझ–बिहान स्यालको आतंकले गर्दा एक्लै हिंड्न नै गाह्रो भएको छ ।’
तामाङका अनुसार अहिले बाँदर, स्याल, दुम्सी र बँदेलको मुख्य समस्या छ । मकैको सिजन भएर बाँदरको धेरै आतंक छ । स्याल पनि पछिल्लो समय बढेको छ । यो महिना मात्रै वडामा ५-६ वटा निवेदन आइसकेको उनले बताए ।
‘पहिले–पहिले प्लास्टिकको बन्दुक पड्काएर भगाउने गरिन्थ्यो, तर अहिले त्यसले पनि काम गरेन । त्यसले बाँदर अटेर भइसकेको छ’, तामाङ भन्छन् ।
उनले आएको निवेदन गाउँपालिकामा लगेर विपद् व्यवस्थापन समिति मार्फत अनुगमन गरेर क्षतिपूर्ति दिने तयारी रहेको बताए ।
भुम्लु गाउँपालिकाका अनुसार वडा नम्बर १, २, ३, ४, ९ र १० मा रहेको खेतबारीमा बँदेल पसेर अन्नबाली नष्ट गरिरहेको छ ।
मकवानपुर भीमफेदी गाउँपालिकामा पनि अहिले बँदेल, बाँदर आतंक उस्तै छ । ‘हाम्रोतिर काउलीको बिरुवा राख्ने बेला भएको छ । प्लास्टिकले छोपेर बिरुवा उमारेर ड्याङ बनाएर मसिना बिरुवा लगाउनुपर्छ । त्यो बिरुवा हरिण, मृगको हुल पसेको दिन एउटै रहँदैन’ ९ नम्बरकी स्थानीय मनमाया तामाङ भन्छिन्, ‘काउलीको बिरुवा टपटप टिपेर एकैछिनमा बीउ सक्काउँछ, गाउँमा जनावर मार्ने मान्छे पनि छैन । १५ वटा सम्मको हुल पस्यो भने ५ मिनेटमा सखाप हुन्छ ।’
तामाङका अनुसार दशैंका लागि बजार लैजान लगाइने काउली प्रतिबिरुवामा २–४ रुपैयाँसम्म लगानी पर्ने तामाङले बताइन् ।
काभ्रे र मकवानपुर मात्रै होइन, अहिले वन्यजन्तुका कारण बालीमा क्षति पुगेको देशभरिको अवस्था उस्तै छ ।
कैलालीमा २० साउनमा बाघले स्थानीयका ७ बाख्रा खायो । टीकापुर नगरपालिका–१ ब्लक नम्बर १७ बस्ने बिजुसिंह विष्ट, दुर्गा परियार र राजु ओलीको गोठबाट बाघले बाख्रा खाएपछि स्थानीय अहिले चिन्तित छन् । कैलाली प्रहरीका अनुसार बाघले विष्ट र परियारको गोठबाट ३–३ बाख्रा खाएको, बस्नेतको गोठबाट एक बाख्रा खाएको र एक बाख्रालाई घाइते बनाएको थियो ।
झिमरुक गाउँपालिका–४ का स्थानीय पूर्वशिक्षक भरतविक्रम जिसीले गाउँमै बस्न नसक्ने अवस्था रहेको बताए ।
‘अहिले घरमा राखेको मकैका झुत्ता पनि रहँदैन, बारीमा त ध्वस्त नै हुन्छ । यहाँका मान्छेहरू अहिले बसाइँ सर्नुपर्ने स्थिति आइसकेको छ,’ जिसीले अनलाइनखबरसँग भने, ‘विशेषगरी बाँदर र बँदेलको आतंक छ । मकैमा घोगा हालेदेखि नै बाँदरबाट जोगाउन गाह्रो छ, जोगाइहाले पनि घरभित्र नै आएर उपद्रो मच्चाउँछ । घरमा बच्चाबच्ची मात्रै छाडेर निस्किन सक्ने अवस्था नै छैन ।’
जिसीका अनुसार गाउँपालिका वडामा स्थानीय किसानले बारम्बार अनुरोध गरे पनि गाउँपालिकाबाट सहयोग नपाएको गुनासो गरे ।
‘अब यो गाउँमा वन्यजन्तुले लखेटेर पनि बस्न नसिकने भइसक्यो । जायजेथा अन्त हुनेले गाउँ नै छाड्ने भइसके । बस्न सक्ने स्थिति नै छैन, जे अन्न बाली, तरकारी लगाए पनि भित्र्याउन पाइन्न । गाउँमा बसेर खेती नै गर्न नसकेपछि कसरी बस्नु र ?’ उनले भने ।
गाउँपालिका महासंघको ध्यानाकर्षण
देशभरिका ग्रामीण क्षेत्रमा वन्यजन्तुका कारण किसानलाई समस्या सिर्जना भएपछि १० साउनमा नेपाल गाउँपालिका राष्ट्रिय महासंघले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिलाई वन्यजन्तु नियन्त्रणका लागि सहजीकरण तथा क्षतिपूर्तिका लागि राहत उपलब्ध गराउनुपर्ने माग गरेको थियो ।
महासंघले समितिलाई भनेको थियो– ‘अधिकांश ग्रामीण क्षेत्रमा बाँदर, बँदेल, दुम्सी, नीलगाई लगायत वन्यजन्तुबाट कृषि बालीमा गरिरहेको क्षति र मानव बस्तीमा गरिरहेको अतिक्रमणका कारण नागरिकहरू बसाइँ सर्न बाध्य हुने, कृषि पेशाबाट पलायन हुने कार्य तीव्र भइरहेको छ ।’
गाउँ नै रित्तिने जोखिम बढिरहेको भन्दै महासंघले जोखिम कम गर्न वन्यजन्तु नियन्त्रण र व्यवस्थापन गर्न बेग्लै संघीय कानुन सहित कार्यक्रम तत्काल कार्यान्वयनमा ल्याउन माग गरेको थियो ।
महासंघले समितिलाई उक्त माग राखेपछि संघीय संसदको कृषि समितिले २३ साउनमा वनमन्त्री, सचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशकसँग छलफल गरेको थियो ।
अध्ययन गर्न एक महिना समय
समितिले वन्यजन्तु सम्बन्धमा रहेका कानुनी जटिलता समेतका विषयमा आवश्यक अध्ययन गरी एक महिनाभित्र समितिमा प्रतिवेदन पेश गर्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको थियो ।
समितिले वन्यजन्तुबाट कृषि क्षेत्रको हानिनोक्सानी रोक्न आवश्यकता अनुसार भौतिक संरचना समेत निर्माण गर्ने कार्य गरी क्षतिको न्यूनीकरण गर्न वन तथा वातावरण, कृषि तथा पशुपन्छी विकास, भौतिक पूर्वाधार र अर्थ मन्त्रालयलाई निर्देशन दिएको थियो । यस्तै क्षतिपूर्ति र राहतका लागि पनि समितिले आवश्यक काम गर्न निर्देशन दिएको थियो ।
तालिम लिएकाले नै सुरु गरेनन् काम
कृषि मन्त्रालयले भने देशभरि वन्यजन्तुका कारण कषि बालीमा पुगेको क्षतिबारे गम्भीर रहेको जनाएको छ ।
‘समितिको निर्देशन पनि आएको छ, गुनासो पनि आएको छ । हामीले वन मन्त्रालयको समन्वयमा काम गरिरहेकै छौं’, मन्त्रालयका प्रवक्ता डा. हरि केसीले भने ।
नेपालले २ चैत २०८० मा १० पशुचिकित्सक र पाँच रेन्जरलाई बाँदर नियन्त्रणका लागि तालिम लिन भारत पठाएको थियो । तत्कालीन कृषि समिति सभापति डा. आरजु राणाले भारतीय दूतावासको पहलमा हिमाञ्चल प्रदेशमा तालिमको लागि पहल गरेर पठाएकी थिइन् । तर, तालिम लिएकाले भने अहिलेसम्म काम गरेको जानकारी कृषि मन्त्रालयलाई छैन ।
‘तालिम लिएर आएको चाहिं थाहा छ तर काम कहाँ गरिरहनुभएको भन्ने थाहा छैन । पशु प्राविधिक हाम्रो भए पनि काम लगाउने मन्त्रालय वन हो । त्यही भएर पनि हुन सक्छ, तर मन्त्रालयलाई तालिम लिएर आएकाहरूले काम सुरु गरेको जानकारी छैन’, डा. केसीले भने ।
वन मन्त्रालयका प्रवक्ता वद्रीराज ढुंगानाले मन्त्रालय अन्तर्गत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मार्फत वन्यजन्तु नियन्त्रणको काम भइरहेको बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालका अनुसार तालिम लिएर आउनेले औपचारिक काम अझै सुरु गरेका छैनन् ।
‘उहाँहरूले तालिम लिएर आउनुभयो, तर अभ्यास मात्रै गरिरहनुभएको छ । स्पष्ट काम सुरु भएको छैन’, ढकालले अनलाइनखबरसँग भने ।
विभागका तर्फबाट क्षति राहतको काम भइरहे पनि सबैले आ–आफ्नो ढंगले दिंदा प्रभावकारी भइरहेको छैन । ‘राहत स्थानीय तह, प्रदेशले पनि दिइरहेको हुन्छ । क्षतिको यकिन विवरण पनि हुँदैन तर राहतको काम भइरहेको छ’, उनले भने ।
उनले बाँदर नियन्त्रण गर्न प्रतिवेदन तयारीको काम भइरहेको भन्दै बँदेललाई जस्तै किसानका लागि हानिकारक वन्यजन्तुमा समावेश गर्न माग भइरहेको बताए ।
‘अहिले हामी प्रतिवेदन बनाउँदैछौं, कृषि समितिलाई उक्त प्रतिवेदन बुझाउँछौं । त्यसपछि थप कुरा आउँछ’, उनले भने ।
प्रतिक्रिया 4