+
+
Shares

किसानले ५० रूपैयाँ दर्जनमा बेच्ने केरा उपभोक्तालाई ३०० !

केराको उत्पादन लागत, श्रम र जोखिम किसानहरुले व्यहोरिरहे पनि अन्तिम मूल्यको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन् ।

सुवास पण्डित सुवास पण्डित
२०८३ वैशाख ७ गते ९:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चितवन र झापाका किसानले केराको उत्पादन प्रतिदर्जन ५० देखि ८० रुपैयाँमा बेच्दा उपभोक्ताले २५० देखि ४०० रुपैयाँसम्म तिर्नुपरेको छ।
  • नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्तले बिचौलियाले मूल्य अभाव देखाएर किसान बाहेक अरुले नै लाभ लिइरहेको बताउनुभयो।
  • भारतीय केराको आयातमा रोक लगाइएको भए पनि बजारमा मनपरी मूल्य बढेको र सरकारले बिचौलियाको मनपरी भाउ रोक्नुपर्ने पन्तले बताउनुभयो।

७ वैशाख, चितवन । यतिबेला बजारमा केराको मूल्य अस्वाभाविक रूपमा बढेको गुनासो छ । उपभोक्ताले प्रतिदर्जन तीन सय देखि चार सय रुपैयाँसम्म तिर्नुपरेको गुनासो बढिरहेका बेला किसानहरुले भने आफ्नो उत्पादन प्रतिदर्जन ५० रुपैयाँकै हाराहारीमा बेचिरहेको बताएका छन् ।

किसानहरुका अनुसार उत्पादन लागत, श्रम र जोखिम उनीहरूले व्यहोरे पनि अन्तिम मूल्यको ठूलो हिस्सा बिचौलियाले लिइरहेका छन् । चितवन र झापाका किसानले जिनाइन केरा प्रतिदर्जन ५० रुपैयाँ, मालभोग ८० रुपैयाँ र चिनी चम्पा ५०–६० रुपैयाँमा बिक्री गरिरहेका छन् । तर यही केरा उपभोक्तासम्म पुग्दा प्रतिदर्जन २५० रुपैयाँभन्दा बढी नाफा थपिएको देखिन्छ ।

व्यवसायिक केरा खेती हुने चितवनका किसानले जिनाइन केरा प्रति दर्जन ५०, मालभोग केरा ८०, चिनी चम्पा ५० देखि ६० रुपैयाँ दर्जनमा बेचिरहेका छन् । तर, विचौलियाहरुले चितवनमा ५० मा किनेको केरालाई उपभोक्तासम्म लैजादा दर्जनमै २५० रुपैयाँभन्दा बढी नाफा खान थालेका छन् ।

चितवनमा झण्डै ५५ विगाहामा केरा खेती गरेका किसान यज्ञ सुवेदीले आफूहरुले केराको मूल्य नबढाएको र सबै मूल्य बिचौलियाहरुले नै लिएको बताए । ‘केरा लगाउने हामी, दु:ख गर्ने हामी, लगानी गर्ने हामी, घामपानी खाने हामी, मल नपाएर पीडित हुने हामी, हावाहुरी र रोगले केरा सखाप पार्दा क्षति भोग्ने हामी तर, केरा उठाएकै भरमा अकुत नाफा खाने अरु नै भए,’ किसान सुवेदीले भने, ‘किसानहरुले न उत्पादनको सही लागत पाएका छन् न उपभोक्ताले सस्तोमा केरा पाएका छन् ।’

उनले नेपाली बजारमा अनियन्त्रित ढंगले बढाइएको केराको मूल्यका बारेमा सरकारले नै चासो राख्नुपर्ने बताए ।

नेपाल केरा उत्पादक महासंघका अध्यक्ष विष्णुहरि पन्त पनि केरा अभावजस्तो देखाएर मूल्य बढाएर किसान बाहेक अरुले नै लाभ लिइरहेको बताउँछन् । उनका अनुसार चैत, वैशाख, जेठमा केराको माग बढी हुने र उत्पादन पनि राम्रो हुन्छ । ‘विगतका वर्षहरुमा पनि यो सिजनमा केराको मूल्य अन्य सिजनमा भन्दा बढी नै हुने गर्दथ्यो तर यसपटक केराको अभाव जस्तो देखाएर मूल्य बढाउने काम भैरहेको छ,’ अध्यक्ष पन्तले भने, ‘यो गर्नु गलत छ, किसानलाई कुनै राहत छैन, बिचमा बसेर अरुले नै लाभ लिइरहेका छन् ।’

झापाको झापा गाउँपालिकामा व्यवसायिक केरा खेती गर्दै आएका किसान चन्द्रबहादुर बस्नेत पनि आफूले अहिले प्रति दर्जन ५० रुपैयाँको दरले केरा बेचिरहेको बताए । उनले अनलाइनखबरसँग भने, ‘हामीले प्रति दर्जन ५० रुपैयाँमा केरा बेचिरहेका छौं । उपभोत्तासम्म पुग्दा ३००/४०० पुगेको कुरा सुन्दा अचम्म लागिरहेको छ ।’

चितवनका केरा किसान सुवेदीका अनुसार चितवनको खेतबारीबाट उठाएको केरा दुई तह पार गरेर उपभोक्तासम्म पुग्छ । उनले भने, ‘हामीले कतिमा बेच्यौं, उपभोक्ताले कतिमा किने, बीचमा उठाउनेले कति लिए सबै छर्लङ्ग छ, हामीले केही भन्नै पर्दैन नी ।’

उनले आफूहरु केरा उत्पादक किसान भएकाले केरा बजारमा पठाउनैपर्ने बाध्यतामा रहेको बताए । ‘किसानले खेती पनि गर्ने अनि आफैंले बेचेर हिँड्न मिलेन’ सुवेदी भन्छन्, ‘न माउको थुनमा, न बच्चाको पेटमा जस्तो भाछ के भन्ने ?’

‘भारतीय केरा आयात खुला गर्ने प्रयास’

भारतबाट टिआर–४ रोग आएपछि चितवनमा केराखेती नष्ट हुने अवस्थामा पुगेको थियो । तर, पछि जैविक सुरक्षा अपनाएर भारतीय केरा आयातमा कडाइ गरेपछि केराको उत्पादन बढ्न थालेको छ ।

महासंघका अध्यक्ष पन्तले पछिल्लो समयमा केरा खेती लगाउने किसानहरुको संख्या बढ्न थालेको बताए । महासंघका अध्यक्ष पन्तका अनुसार चितवनमा वार्षिक ६ अर्ब र देशभर १३ अर्बकाे काराेबार हुने गरेको छ । अहिले चितवनमा मात्रै ६ लाख बिरूवा थप भएको र देशभर २५ लाख नयाँ बिरुवा राेपिएकाे छ ।

‘६ लाख बेर्ना बढेका छन्, अरु थपिने क्रममा छन्, केरामा देशलाई आत्मनिर्भर बनाउन हामी जुटेका छौं,’ अध्यक्ष पन्त भन्छन्, ‘तर उपभोक्तालाई केराको अभाव देखाएर भारतीय केरा आयात खुला गर्ने प्रयास भैरहेको छ ।’

भारतीय केरामा रोक लगाउने निर्णय गत असोजको पहिलो साता भएको थियो । सो निर्णयको कार्यान्वयन भने गत पुसयता भएको छ । भारतीय केरा आउन बन्द भएको कारण देखाउँदै बजारमा मनपरी भाउ बढाइएको बुझाइमा केरा किसान छन् । असार–साउन लागेलगत्तै केरा किसानहरुले अझै सस्तोमा केरा बेच्ने उनले बताए ।

नेपालमा वार्षिक ९ लाख मेट्रिक टन केराको खपत हुने अनुमान छ । त्यसमध्ये ७ लाख मेट्रिक टन नेपाली उत्पादनको र २ लाख मेट्रिक टन भारतीय केराको खपत हुने गरेको छ ।

भारतीय केराको आयातलाई रोक्ने कामलाई निरन्तरता दिने हो भने युवा केरा किसानहरु व्यवसायिक खेती गर्न उत्सुक भएर लाग्ने अध्यक्ष पन्तको भनाइ छ । ‘मैले ३५ विगाहामा अहिले केरा लगाएको छु, म यसलाई बढाउँछु, अरु साथीहरुले पनि बढाउनुहुन्छ,’ अध्यक्ष पन्त भन्छन्, ‘नेपाललाई पुग्ने केरा उत्पादन गर्न हामी सक्छौं तर बिचौलियाले मनपरी लिने भाउ रोक्ने काम त सरकारले गर्नपर्‍यो, हामीलाई वातावरण बनाइदिन पर्‍यो ।’

७ रुपैयाँ प्रति कोसा बेचेको केरा उपभोक्ताले ३० रुपैयाँ हालेर किन्दा बीचको २३ रुपैयाँ कसले खान्छ भनेर सरकारले खोजी गर्नुपर्ने पन्तको भनाइ छ ।

उनका अनुसार चितवनमा मात्रै ७० देखि ७५ मेट्रिक टन केरा उत्पादन हुँदै आएको छ । वार्षिक २ अर्बको कारोबार केराको हुने गरेको छ ।

नेपालमा मालभोग, जिनाइन, विलियम, चिनी चम्पा जातका केरा लगाउने गरिन्छ । किसानले सबैभन्दा बढी जिनाइन र मालभोग केरा लगाउने गरेका छन् ।

लेखक
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?