+
+
WC Series
Won Nepal
129/2 (15.5)
VS
Nepal win by 8 wickets
UAE
128/8 (20)
Shares

बजारमा मूल्यवृद्धि ‘सुनामी’, भान्सादेखि यातायातसम्म चौतर्फी मार

इन्धन मूल्यवृद्धिसँगै सुरु भएको शृङ्खलाबद्ध असरले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायात भाडासम्म छोएको छ, जसले आम उपभोक्ताको भान्साको बजेट नराम्ररी खलबलिएको छ ।

ऋतु काफ्ले ऋतु काफ्ले
२०८३ वैशाख ८ गते २०:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पश्चिम एसियामा उत्पन्न भूराजनीतिक तनावले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा नेपालमा इन्धन र दैनिक उपभोग्य वस्तुको मूल्यमा उल्लेख्य वृद्धि भएको छ।
  • नेपाल आयल निगमले चैत १ देखि वैशाख २ सम्म पटक–पटक इन्धन मूल्य समायोजन गरी पेट्रोल ६२ रुपैयाँ र डिजेल ९५ रुपैयाँले बढाएको छ।
  • काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात भाडा २५.९६ प्रतिशतले बढेर न्यूनतम २५ रुपैयाँ पुगेको छ भने तरकारी, फलफूल र पानीको मूल्य पनि महँगिएको छ।

८ वैशाख, काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व) मा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ, जसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परेको छ ।

इन्धन मूल्यवृद्धिसँगै सुरु भएको शृङ्खलाबद्ध असरले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, खानेपानी, फलफूलदेखि यातायात भाडासम्म छोएको छ, जसले आम उपभोक्ताको भान्साको बजेट नराम्ररी खलबलिएको छ ।

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजार पछ्याउँदै पछिल्लो समय पटक–पटक इन्धन मूल्य समायोजन गरेको छ । यसले गर्दा पेट्रोल, डिजेल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

इन्धनको मूल्य बढ्नासाथ त्यसको प्रत्यक्ष असर ढुवानी लागतमा परेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनदेखि मालवाहक ट्रकसम्मको भाडादर समायोजन गरेको छ ।

बढेको यही ढुवानी लागत हरेक सामान उत्पादन तथा वितरण खर्चमा जोडिँदा उपभोक्ता मूल्यमा थप चाप परेको हो । किसानले उपजको उचित मूल्य नपाउने तर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाले बजारमा सरकारी अनुगमनको प्रभावकारितामाथि पनि प्रश्न उठाएको छ ।

केहीमा राहत, धेरैमा आहत

नेपाली बजारमा गत वर्षको तुलनामा खाद्यान्न मूल्यमा तीव्र उतारचढाव देखिएको छ । चैत २०८१ को तुलनामा चैत २०८२ सम्म आइपुग्दा चामल, तेल र केही मसलाको मूल्य निकै बढेको छ ।

नेपाल खुद्रा व्यापार संघकाे तथ्यांक अनुसार गत वर्ष प्रतिकिलो १ सय ६० रुपैयाँ रहेको ताइचिन चिउराको मूल्य यस वर्ष ३० रुपैयाँ बढेर १ सय ९० कायम भएको छ ।

त्यसैगरी मुङ गेडाको मूल्य गत वर्ष १ सय ७० रहेकोमा ३० रुपैयाँ वृद्धि भई २ सय पुगेको छ भने १ सय ८० रहेको मुङ छाटा ३० रुपैयाँ बढेर २ सय १० पुगेको छ ।

खाने तेलतर्फ सनफ्लावर तेल गत वर्ष २ सय ५५ रुपैयाँ प्रतिलिटर रहेकोमा ४० बढेर २ सय ९५ पुगेको छ भने ३ सय २५ रहेको काँचो तोरीको तेल ५० बढेर ३ सय ७५ रुपैयाँ पुगेको छ । मसलातर्फ गत वर्ष ४ सय ५० रुपैयाँ रहेको बेसार पाउडर ५०  बढेर ५ सय कायम भएको छ ।

अन्य वस्तुमा १ सय १५ रुपैयाँको त्रिशूली पोखरेली चामल ५ रुपैयाँ बढेर १२०, १ सय ७० को बासमती चामल १० बढेर १ सय ८०, १ सय ९० को मुङ खोस्टा दाल ३० बढेर २ सय २० र १ सय ६५ को मुसुरो दाल २५ बढेर १ सय ९० रुपैयाँ पुगेको छ ।

इन्धन मूल्य छोइनसक्नु

पश्चिम एसिया (मध्यपूर्व) युद्धले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र प्रशोधन शुल्क महँगिएपछि नेपाल आयल निगमले एक महिनाभित्रै कम्तीमा आधा दर्जन पटक इन्धनको भाउ बढाएको छ ।

१ चैत २०८२ देखि २ वैशाख २०८३ सम्मको छोटो अवधिमै गरिएको यस शृङ्खलाबद्ध मूल्यवृद्धिले बजारमा महँगी थेगिनसक्नु बनेको हो ।

एक महिनाअघि (चैत १ पूर्व) प्रतिलिटर १ सय ५७ रुपैयाँ रहेको पेट्रोल अहिले ६२ रुपैयाँ बढेर २ सय १९ पुगेको छ । त्यसैगरी १ सय ४२ पर्ने डिजेल र मट्टीतेल ९५ रुपैयाँ महँगिँदै २ सय ३७ रुपैयाँ पुगेको छ ।

इन्धनको यो मार भान्सादेखि हवाई उडानसम्म परेको छ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर १ सय बढेर २ हजार १० रुपैयाँ पुगेको छ भने आन्तरिक हवाई इन्धन मूल्य १ सय २७ बाट दोब्बरभन्दा धेरै बढेर २ सय ६२ पुगेको छ ।

अन्तर्राष्ट्रिय उडानको इन्धन समेत प्रतिकिलोलिटर ९ सय ६६ अमेरिकी डलरबाट ह्वात्तै बढेर १ हजार ७ सय १६ डलर पुगेको छ ।

उपभोक्ताको ढाड सेक्ने गरी यति भारी मूल्यवृद्धि गर्दा पनि निगम भने अझै घाटामै छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारकै कारण नेपालमा बाध्यताले मूल्य समायोजन गर्नुपरेको दाबी गर्दै आएको छ ।

खरिद लागतको तुलनामा अझै पूर्णरूपमा मूल्य नबढाइएको हुँदा निगमलाई हरेक १५ दिनमा ५ अर्ब ७५ करोड रुपैयाँ घाटा भइरहेको निगमको दाबी छ ।

एक महिनाको महँगी उतारचढाव

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चैत २०८२ मा देशभरिका मुख्य सहरमा गरेको बजार अनुगमन र मूल्य विश्लेषणले दैनिक उपभोग्य वस्तुको मूल्यमा अत्यधिक वृद्धि भएको देखाएको छ ।

विभागको प्रतिवेदन अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि र कच्चापदार्थ आयात महँगो भएका कारण खाद्यान्न, तरकारी, मासु र फलफूलको मूल्य अस्वाभाविक बढेको छ ।

विशेषगरी काठमाडौं उपत्यका सहित विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज र धनगढी जस्ता सहरमा उपभोक्ताले चर्को महँगी खेप्नुपरेको छ ।

बजारमा देखिएको चामलको मूल्यवृद्धि निकै आक्रामक छ । विभागको प्रतिवेदन अनुसार उपत्यकामा जनरल सोना मन्सुली चामलको मूल्य प्रतिकिलो ३६ रुपैयाँ (६१.०२ प्रतिशत) बढेर अहिले ९५ कायम भएको छ, जबकि यसअघि यसको मूल्य ५९ रुपैयाँमात्र थियो ।

त्यसैगरी स्टिम जिरा मसिना चामल ८७ बाट १५ रुपैयाँ (१७.२४ प्रतिशत) बढेर १ सय २ पुगेको छ । जनरल जिरा मसिना चामल ७६ बाट २० रुपैयाँ (२६.३२ प्रतिशत) वृद्धि भई ९६ कायम भएको छ भने बासमती चामल १ सय ६० बाट २५ रुपैयाँ (१५.६३ प्रतिशत) महँगिएर १ सय ८५ पुगेको छ ।

मकै र गहुँजस्ता खाद्यान्न पनि अछुतो रहेनन् । मकै प्रतिकिलो १ सय १३ बाट १४ रुपैयाँ (१२.३९ प्रतिशत) बढेर १ सय २७ पुगेको छ भने गहुँ र आटा ४४ बाट १६ रुपैयाँ (३६.३६ प्रतिशत) वृद्धि भई ६० कायम भएको छ ।

खाजाका लागि प्रयोग हुने मैदा, सुजी र ताइचिन चिउरामा ७५ रुपैयाँ (७८.९५ प्रतिशत) भारी वृद्धि भई ९५ बाट १ सय ७० पुगेको छ भने पातलो चिउरा ६७ बाट ७८ रुपैयाँ (११६.४२ प्रतिशत) बढेर १ सय ४५ कायम भएको छ ।

त्यसैगरी दाल र तेलको मूल्यमा पनि ठूलो अन्तर देखिएको छ । मुसुरो दाल १ सय ४८ बाट ३७ रुपैयाँ (२५ प्रतिशत) बढेर १ सय ८५ पुगेको छ भने मासको दाल १ सय ४८ बाट ८२ रुपैयाँ (५५.४१ प्रतिशत) महँगिएर २ सय ३० पुगेको छ ।

रहर दाल (पोलिस) १ सय ४८ बाट ७७ रुपैयाँ (५२.०३ प्रतिशत) बढेर २ सय २५ कायम भएको छ । मुगी, चना, राजमा, सेतो केराउजस्ता गेडागुडीमा प्रतिकिलो १ सय रुपैयाँसम्मको वृद्धि देखिएको छ ।

खाने तेलतर्फ तोरीको तेल प्रतिलिटर २ सय ७५ बाट ८५ रुपैयाँ (३०.९१ प्रतिशत) बढेर ३ सय ६० पुगेको छ भने भटमासको तेल २ सय ७७ बाट १३ रुपैयाँ (४.६९ प्रतिशत) बढेर २ सय ९० कायम भएको छ । दैनिक अत्यावश्यक वस्तु चिनी ८५ बाट १५ रुपैयाँ (१७.६५ प्रतिशत) महँगिएर १ सय पुगेको छ ।

तरकारी र फलफूलको मूल्यले पनि उपभोक्तालाई थप मर्का पारेको छ । प्रतिवेदन अनुसार आलु प्रतिकिलो १७ रुपैयाँसम्म महँगिएको छ भने काउली ५० रुपैयाँ बढेको छ ।

मसलातर्फ जिराको मूल्यमा ५ सयबाट २ सय रुपैयाँ (४० प्रतिशत) वृद्धि भई ७ सय पुगेको छ भने धनियाँ २ सय १० बाट ९० रुपैयाँ (४२.८६ प्रतिशत) बढेर ३ सय कायम भएको छ ।

फलफूलतर्फ अनार ३ सय १० रुपैयाँबाट १ सय ४० रुपैयाँ (४५.१६ प्रतिशत) बढेर ४ सय ५० पुगेको छ भने स्याउ २ सय २० बाट १ सय ४६ रुपैयाँ (६६.३६ प्रतिशत) वृद्धि भई ३ सय ६६ पुगेको छ ।

त्यस्तै सुन्तला १ सय ६० बाट ८० रुपैयाँ (५० प्रतिशत) महँगिएर २ सय ४० कायम भएको छ ।

मांसाहारी उपभोक्ताका लागि कुखुराको मासु किलोमा ८० रुपैयाँ र अन्डा प्रतिक्रेट १ सय ५० रुपैयाँ बढेको छ । विभागले अन्तर्राष्ट्रिय बजार र ढुवानी खर्चलाई मूल्यवृद्धिको मुख्य कारण माने पनि बजारमा हुने कृत्रिम अभाव र कालोबजारीले पनि यसलाई प्रश्रय दिएको देखिन्छ ।

एक वर्षमै तरकारी र फलफूल मूल्यमा अचाक्ली वृद्धि

पछिल्लो एक वर्ष अवधिमा तरकारी र फलफूल मूल्यमा अचाक्ली वृद्धि भएको छ । १ वैशाख २०८२ को तुलनामा १ वैशाख २०८३ मा भान्सामा दैनिक प्रयोग हुने हरियो तरकारीको मूल्य शतप्रतिशत भन्दा बढीले उकालो लागेको तथ्यांकले देखाएको छ ।

विशेषगरी काउली, बन्दा र भन्टाजस्ता तरकारीको भाउले आकाश छुँदा सर्वसाधारणको भान्साको बजेट नराम्ररी प्रभावित भएको छ ।

 

बजार तथ्यांक अनुसार सबैभन्दा बढी मूल्यवृद्धि स्थानीय काउली (ज्यापु) मा देखिएको छ । अघिल्लो वर्ष प्रतिकिलो २५ रुपैयाँमा पाइने यो काउली यस वर्ष १ सय ८० प्रतिशत बढेर ७० रुपैयाँ पुगेको छ । त्यसैगरी सामान्य स्थानीय काउलीको मूल्य पनि ठ्याक्कै दोब्बर अर्थात् शतप्रतिशत बढेर २५ बाट ५० रुपैयाँ पुगेको छ ।

हिउँदे तरकारीका रूपमा चिनिने लोकल बन्दाको मूल्यले पनि उपभोक्तालाई निराश बनाएको छ । गत वर्ष १२ रुपैयाँ ३३ पैसा प्रतिकिलोमा पाइने बन्दा अहिले १६३.५८ प्रतिशत महँगिएर ३२ रुपैयाँ ५० पैसा पुगेको छ ।

यस्तै भन्टाको मूल्यमा पनि अस्वाभाविक वृद्धि देखिएको छ । डल्लो भन्टाको मूल्य अघिल्लो वर्ष ३५ बाट ११४.२९ प्रतिशत बढेर ७५ रुपैयाँ पुगेको छ भने लाम्चो भन्टा ८३.३३ प्रतिशत बढेर ५५ रुपैयाँ पुगेको छ ।

तरकारी मात्र नभई गेडागुडी तथा कोसायुक्त तरकारीको भाउ पनि उस्तै आकासिएको छ । राजमा (घिउसिमी) को मूल्य प्रतिकिलो ७५ बाट बढेर १ सय २० रुपैयाँ पुगेको छ भने तने बोडी ५७.१४ प्रतिशत बढेर १ सय १० रुपैयाँ पुगेको छ । भिन्डी पनि प्रतिकिलो ६५ बाट १ सय २ रुपैयाँ ५० पैसा पुगेको छ ।

भान्सामा दैनिक स्वाद बढाउन प्रयोग गरिने हरियो लसुन र हरियो खुर्सानीको मूल्यले पनि उपभोक्ताको ढाड सेकेको छ । हरियो लसुन ५७.५८ प्रतिशत र हरियो खुर्सानी ५० प्रतिशतभन्दा बढीले महँगिएको छ ।

फलफूलतर्फ हेर्दा केराको मूल्यमा अचाक्ली वृद्धि देखिएको छ । अघिल्लो वर्ष प्रतिदर्जन १ सय ५० रुपैयाँमा पाइने केरा अहिले ५० प्रतिशत बढेर २ सय २५ पुगेको छ ।

माथिका सबै मूल्य होलसेल (थोक) हो । खुद्रा बजारमा भने यी तरकारी तथा फलफूल र चामलदेखि खानेतेल हरेक वस्तुको मूल्य छोइनसक्नु छ ।

तरकारी छिट्टै बिग्रिने (नाशवान) वस्तु भएकाले किसानहरू सस्तोमै उत्पादन बेच्न बाध्य छन् भने खुद्रा व्यापारीले इन्धन महँगिएको बहाना बनाएर उपभोक्तासँग अचाक्ली मूल्य असुलिरहेका छन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार इन्धन मूल्य बढे पनि कालीमाटीमा तरकारी आपूर्तिमा कुनै व्यवधान आएको छैन ।

‘बजारमा दैनिक साढे ६ सयदेखि ७ सय टन तरकारी नियमित आइरहेको छ,’ श्रेष्ठले भने, ‘तरकारी नाशवान वस्तु हो, ढुवानी भाडा बढ्यो भनेर किसानले तयार भएको बाली बारीमा त्यत्तिकै राख्न मिल्दैन, केही दिन कुरे पनि कुहिएर जाने डरले जसरी पनि बजारमा ल्याएर बेच्नैपर्ने किसान र व्यवसायीको बाध्यता छ ।’

अहिले बजारमा बर्खे तरकारीको सिजन सुरु भइसकेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार होलसेल बजारमा तरकारीको मूल्य घटे पनि उपभोक्ताले किन्ने खुद्रा बजारमा भने त्यसको उल्टो प्रभाव देखिएको छ ।

कालीमाटी तरकारी बजार

‘कालीमाटीमा मूल्य हेर्ने हो भने खासै वृद्धि भएको देखिँदैन, तर बाहिर खुद्रा बजारमा चाहिँ अचाक्ली महँगो छ,’ श्रेष्ठले भने, ‘कतिपय सामान त यहाँ बिक्री नै नभएर थन्किएका छन्, अहिले बर्खे तरकारीको सिजन सुरु भएको छ, सिमी त १० रुपैयाँमा बेच्छुभन्दा पनि बिक्री नहुने अवस्था छ ।’

उनका अनुसार अहिले आलु र प्याजको मूल्य पनि न्यून बिन्दुमै छ । यसका साथै सिमी, भन्टा, भिन्डीजस्ता बर्खे तरकारीको मूल्य अघिल्ला महिनाका तुलनामा होलसेल बजारमा निरन्तर घट्दो क्रममा छ ।

दाल, चामल, नुन, चिनीजस्ता नबिग्रिने (नन–पेरिसेबल) वस्तुमा इन्धन मूल्यवृद्धिको प्रत्यक्ष असर देखिए पनि तरकारीमा त्यस्तो नहुने श्रेष्ठको भनाइ छ ।

‘नबिग्रिने सामान व्यापारी आफूले भनेजस्तो मूल्य नपाए गोदाममा होल्ड गरेर राख्न सक्छन्, त्यसमा लागत बढेपछि सोझै मूल्य बढ्छ,’ उनले भने, ‘तर, तरकारीमा त्यस्तो हुँदैन, यो बजारको माग र आपूर्तिका आधारमा तय हुन्छ, इन्धनको मूल्य बढेपछि ढुवानी लागत बढेर किसानलाई पक्कै मर्का परेको छ ।’

पिउने पानी पनि महँगियो

इन्धन र अन्य सामग्रीको मूल्यवृद्धिको असर प्रशोधित पिउने पानी (जार र बोतल) मा पनि परिसकेको छ । नेपाल पानी उद्योग महासंघले  पानीको मूल्य बढाउनुपर्ने मुख्य कारणमध्ये कच्चापदार्थ अभाव बताएको छ ।

पानी प्याकेजिङ गर्न प्रयोग हुने प्लास्टिकका बोतल, जार र अन्य कच्चापदार्थ आपूर्ति बजारमा पर्याप्त नभएको महासंघको भनाइ छ ।

महासंघले गत शनिबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय र आन्तरिक कारणले उद्योग सञ्चालन गर्नै नसकिने अवस्था आएको भन्दै मूल्यवृद्धि गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको जनाइसकेको छ ।

महासंघका अनुसार पानी उद्योगमा प्रयोग हुने कच्चापदार्थ बोतल, क्याप, र्‍यापिङ रोल, जार र जारको क्याप लगायत सामग्रीको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको छ ।

त्यसैगरी पेट्रोलियम पदार्थ (डिजेल) को अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य बढेको छ ।

‘यो कुनै नाफामूलक निर्णय नभई बढेको उत्पादन लागत, ढुवानी खर्च, कच्चापदार्थ मूल्यवृद्धि र उद्योग सञ्चालनको वास्तविक अवस्थाबाट सिर्जित बाध्यात्मक परिस्थिति हो,’ महासंघले भनेको छ, ‘तसर्थ, महासंघ सम्पूर्ण सदस्य उद्योगीहरूलाई हाल कच्चापदार्थ तथा सञ्चालन लागतमा भएको मूल्यवृद्धि अनुपातमा उत्पादित पानीको मूल्य समायोजन गरी बिक्री–वितरण गर्न अनुरोध गर्दछ ।’

महासंघ अध्यक्ष विक्रम लिम्बू चेम्जोङका अनुसार देशभरिका अन्य प्रदेशमा पानीको मूल्य कति प्रतिशतले बढाउने भन्नेबारे यसअघि नै विज्ञप्ति मार्फत जानकारी गराइसकिएको छ । तर, काठमाडौं उपत्यकाको हकमा भने मूल्य समायोजनका लागि अन्तिम तयारी (होमवर्क) भइरहेको छ ।

‘हामीले काठमाडौं उपत्यकाका लागि पानीको मूल्य कति तोक्ने भनेर उपत्यका खानेपानी महसुल निर्धारण आयोगसँग छलफल गरेका छौं,’ अध्यक्ष चेम्जोङले भने, ‘आयोगले पनि यसमा चासो देखाएको छ, अबको एक–दुई दिनभित्रै उपत्यकामा पानीको मूल्य कति बढ्छ भन्ने ठ्याक्कै टुंगो लाग्ने छ र हामी सार्वजनिक गर्ने छौं ।’

सार्वजनिक यातायात भाडामा उस्तै सास्ती

पेट्रोलियम पदार्थको मूल्य आकासिएपछि काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको न्यूनतम भाडा नै महँगिएको छ । अब यात्रुले गाडी चढेर छोटो दुरी पार गर्दा पनि कम्तीमा २५ रुपैयाँ तिर्नुपर्छ जबकि यसअघि यो दर २० रुपैयाँमात्र थियो ।

सरकारकै स्वीकृतिमा २८ चैत २०८२ देखि लागु हुने गरी उपत्यकाभित्रको सार्वजनिक यातायात भाडामा २५.९६ प्रतिशत वृद्धि गरिएको छ ।

सहरी क्षेत्रमात्र नभई लामो दुरी र ढुवानीका साधनमा समेत भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका अनुसार लामो दुरीका यात्रुवाहक बस भाडा १६.७१ प्रतिशत बढेको छ । यसैगरी मालवाहक सवारीसाधनतर्फ तराईका सडकमा १५.७५ प्रतिशत र पहाडी रुटमा २१.६८ प्रतिशत ढुवानी भाडा बढाइएको छ ।

लेखक
ऋतु काफ्ले

काफ्ले अनलाइनखबरकाे बिजनेस ब्युराे संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?