News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थोक बजारमा १० प्रतिशत र स्थानीय हाटबजारमा ५० प्रतिशत स्टल किसानलाई उपलब्ध गराउने निर्णय गरेको छ।
- मन्त्रालयले किसानले आफ्ना कृषि उपज सिधै बजारका स्टलमार्फत बिक्री गर्न पाउने व्यवस्था मिलाएको छ।
- संघअन्तर्गत सञ्चालित ११ वटा कृषि थोक बजार र स्थानीय हाटबजारमा किसान बिक्री स्थल अनिवार्य रूपमा व्यवस्थित गरिने मन्त्रालयले बताएको छ।
९ वैशाख, काठमाडौं । बिचौलियाको तह कम गरी किसानलाई आफ्नो उत्पादनको उचित मूल्य दिलाउने उद्देश्यले कृषि तथा पशुपन्छी विकास मन्त्रालयले थोक बजारमा १० प्रतिशत स्टल र स्थानीय हाटबजारमा ५० प्रतिशत स्टल किसानलाई नै उपलब्ध गराउने निर्णय गरेको छ ।
मन्त्रालयको यो निर्णयसँगै अब किसानले आफ्ना कृषि उपज सिधै बजारका स्टलमार्फत बिक्री गर्न पाउने भएका छन् । बजारमा कृषकहरूको पहुँचलाई सहज बनाउन ‘फार्मर्स सेड’ (किसान बिक्री स्थल) अनिवार्य रूपमा व्यवस्थित गर्न मन्त्रालयले निर्देशन दिएको छ ।
कृषि बजार विकास तथा व्यवस्थापन निर्देशिका, २०७३ अनुसार संघअन्तर्गत सञ्चालित ११ वटा कृषि थोक बजारका साथै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति र स्थानीय तहमा सञ्चालित हाटबजारहरूमा किसान सेडको संरचना भए/नभएको यकिन गरिनेछ ।
यदि संरचना भएर पनि सञ्चालनमा नरहेको भए त्यसलाई यथाशक्य छिटो सञ्चालन र व्यवस्थापनमा ल्याइने मन्त्रालयले बताएको छ । मन्त्रालयको यस निर्णयअनुसार स्वदेशी उत्पादन, स्थानीय, रैथाने तथा व्यावसायिक उपजहरू नेपाली किसानमार्फत नै बिक्री हुने व्यवस्था मिलाइनेछ ।
जसअन्तर्गत थोक बजारमा कम्तीमा १० प्रतिशत स्टल कृषक समूह वा सहकारीमार्फत सञ्चालन हुने गरी किसान सेड अनिवार्य गरिएको छ । त्यसैगरी, स्थानीय हाटबजारमा कुल क्षेत्रफलको कम्तीमा ५० प्रतिशत स्थान स्थानीय उत्पादनलाई नै उपलब्ध गराई बिक्री वितरणको प्रबन्ध मिलाइने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4