
२४ साउन, वीरगञ्ज । बाराबाट प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका वडा नं ७ बेनौली बस्ने २१ वर्षीय विशाल कुमार सहनी, २० वर्षीय भोला पटेल, २० वर्षकै वृजमोहन साह सोनार, बिजय पटेल, २४ वर्षीय हरिनारायण पटेल, २३ वर्षीय बरक सहनी रहेका छन् ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार बारा जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीका घटनाहरू बढेपछि निगरानी बढाइएको थियो । सोही क्रममा साउन १९ गते बरियारपुरबाट २ थान मोटरसाइकल चोरी गरेर भाग्दै गर्दा बिशाल र भोला पक्राउ परेका थिए ।
बरियारपुरबाट पक्राउ परेका उनीहरुविरुद्ध चोरी मुद्दामा बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने म्याद अनुमति लिई थप अनुसन्धान अघि बढाईएको थियो ।
उनीहरुसँग गरिएको बयानको आधारमा थप ४ जनालाई पक्राउ गर्नुको साथै १० वटा चोरीका मोटरसाईकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
‘ ६ जना एउटै गाउँका हुन्, कम्तिमा २ सय वटा जति मोटरसाईकल चोरेको अनुमान छ । मोटरसाईकल चोरेर भारतको मोतिहारी पठाउने गरेका रहेछन् ।’ उनले भने ‘ ठूलै ग्याङ समात्न सफल भएका छौं । भारततिर सघाउनेहरुको पनि खोजी गरिरहेका छौं । ’
३ जना सवारी धनी मात्रै सम्पर्कमा आएको बताउँदै प्रहरी उपरीक्षक बोगटीले अन्य सवारी धनी पनि पत्ता लगाउने र जाहेरी दर्खास्त लिने जानकारी दिए ।
प्रतिक्रिया 4