+
+
ब्लग :

महाव्याधिमा मनोरञ्जन क्षेत्रका श्रमिक महिला तथा किशोरी

हीरा दाहाल हीरा दाहाल
२०७९ भदौ २ गते १७:४७

सरिता (नाम परिवर्तन) मसाजमा काम गर्दै आएको १० वर्ष भयो । बिहान–बेलुकाको छाक टार्न र दुईवटा छोराछोरीलाई पाल्न तथा पढाउन उनले मसाजमा काम गरेर प्राप्त हुने आम्दानीबाट गुजारा चलाउँदै आएकी थिइन् । कोभिड–१९ महाव्याधिसँगै जब देश पूरै लकडाउनमा गयो, उनको हातमुख जोर्ने उपायहरू सकिए । उनीसँग दुई महिनाको लागि खान पुग्ने सामान भए पनि त्यसपछिको समय भने निकै कष्टपूर्ण बित्न थाले ।

सरिता जस्तै मनोरञ्जन क्षेत्रमा कार्यरत हजारौं महिला तथा किशोरी श्रमिकको दैनिकी अत्यन्तै दयनीय, कष्टपूर्ण र व्यवस्थापन नै गर्न नसकिने अवस्थामा पुगेको छ । यसको प्रत्यक्षदर्शी संस्थाहरूमध्ये ‘छोरी’ पनि एक हो । छोरी नामक गैरसरकारी संस्थाले विगतको दशकदेखि नै मनोरञ्जन क्षेत्रमा कार्यरत महिला श्रमिकहरूको लागि मनोविमर्श, पुनस्र्थापना, रोजगारको खोजीमा सहयोग लगायत उनीहरूको आवश्यकता अनुसारको सहयोग गर्दै आइरहेको छ ।

संस्थाले मनोरञ्जन क्षेत्रमा कार्यरत झण्डै ५ हजार महिला तथा किशोरीलाई राहत वितरण गरेको थियो । राहत सँगसँगै व्यक्तिगत परामर्शको कामलाई पनि छोरीले निरन्तरता दिंदै आइरहेको थियो ।

मनोरञ्जन क्षेत्रमा कोभिडले पारेको अध्ययन बुझ्न संस्थाले एक अध्ययन नै गरेको छ । सन् २०२१ मा मिश्रित विधिमार्फत गरिएको एक अनुसन्धानमा १५० जना मनोरञ्जन क्षेत्रमा कार्यरत किशोरी तथा महिला सहभागी भएका थिए ।

यस अध्ययनको उद्देश्य कोभिड–१९ मा महिला श्रमिकहरूको जीवनमा पारेको असरको पहिचान गर्नु थियो । खासगरी उनीहरूको आर्थिक अवस्था, काम गर्ने ठाउँको अवस्था, लकडाउनको समयमा उनीहरूको आर्थिक, सामाजिक र मनोसामाजिक अवस्थाको विश्लेषण गर्नुरहेको थियो ।

यस अध्ययनमा सहभागीमध्ये ४६ प्रतिशतले लकडाउनपछिको समयमा आफू बाँच्नको लागि यौन व्यवसाय सुरु गर्नुपरेको तितो यथार्थ सुनाएका थिए । अध्ययनमा सहभागीमध्ये ५२ प्रतिशतको आम्दानीको अवस्था कोभिड महाव्याधिपछि उल्लेख्य मात्रामा खुम्चिएको पाइयो । कोभिड महाव्याधिभन्दा अगाडि महिनाको २० हजार तथा त्योभन्दा माथि हुने आम्दानी लकडाउनको अवधिमा शून्यमा झरेको पाइयो ।

लकडाउन खुलेपछि पनि उनीहरूको कमाइ १० हजार भन्दा कममा नै अडिएको अध्ययनको क्रममा पाइयो । यसरी लकडाउनपछि व्यवसायहरू संचालन भएको अवस्थामा पनि उनीहरूको पहिलेजस्तो आम्दानी हुन सकेन ।

‘मेरो तीन वर्षको छोरालाई जाउलो खुवाउँथें । छोराले मासु खान मन लाग्यो ममी भनेर रुँदा पनि मैले उसको इच्छा पूरा गर्न सकिनँ । अहिले सम्झँदा पनि मन कुँडिएर आउँछ ।’

यसरी आम्दानी घट्नुको प्रमुख कारण मनोरञ्जन क्षेत्रमा आउने ग्राहकको कमि भएको अध्ययनमा सहभागीहरूले बताए । एकातिर कोभिडले गर्दा समग्र देशकै अर्थतन्त्रमा असर पार्‍यो भने अर्कोतिर मनोरञ्जन क्षेत्रमा जाने ग्राहकको कमिले उनीहरूको रोजगार तथा आर्थिक जीवनमा प्रत्यक्ष असर परेको देखिन्छ ।

लकडाउनको समयमा महिला श्रमिकले कसरी गुजारा गरेका थिए त भन्ने पक्षलाई हेर्दा अध्ययनमा सहभागी ९९.३ प्रतिशतले एकदमै थोरै पैसाले आफ्नो जीविकोपार्जन गरेको अनुभव सुनाएका थिए । मीना (नाम परिवर्तन)ले आफू कसरी बाँचेकी थिएँ भनेर सुनाउने क्रममा भनिन्, ‘म एकछाक मात्र खाना खान्थें । अनि मेरो तीन वर्षको छोरालाई जाउलो खुवाउँथें । छोराले मासु खान मन लाग्यो ममी भनेर रुँदा पनि मैले उसको इच्छा पूरा गर्न सकिनँ । अहिले सम्झँदा पनि मन कुँडिएर आउँछ ।’

केही सहभागीहरूले आफूले अलिअलि बचत गरेको हुनाले त्यसबाटै पुर्‍याएर खाएको अनुभव पनि सुनाए । तर ३६.७ प्रतिशतको कुनै पनि बचत थिएन । त्यसैले उनीहरूलाई महाव्याधिको बेला जीविका चलाउनको लागि निकै कठिन भएको पाइयो । अध्ययनमा सहभागीमध्ये ८७.३ प्रतिशतमा आत्महत्याको सोच आएको थियो । यसले उनीहरू कति कठिन अवस्थामा संघर्षरत थिए भन्ने प्रष्ट पार्छ ।

जीवनमा आएका बाधा तथा कठिन परिस्थितिलाई सामना गर्ने क्रममा उनीहरूमा मनोसामाजिक असर पनि धेरै परेको देखिन्छ । अध्ययनमा सहभागीमध्ये ५५.३ प्रतिशतले जीवनप्रति पूर्ण निराश बनेको कुरा सुनाएका थिए भने ५५.३ प्रतिशतले आफू जतिखेर पनि एक्लोपनको महसुस मात्र गर्न थालेको बताएका थिए ।

त्यसैगरी ६८ प्रतिशतमा निद्रा नलाग्ने समस्या बढेको पाइएको छ भने ७४ प्रतिशतमा रिस उठ्ने र ८.७ प्रतिशतमा बदलाको भावना बढेको अनुभव अध्ययनमा सहभागीको रहेको छ । त्यसैगरी ९२ प्रतिशतमा बढ्दो चिन्ताले गर्दा उनीहरू अस्थिर भएको पनि अध्ययनको क्रममा पाइएको छ ।

यति हुँदाहुँदै पनि भविष्यप्रतिको आश गर्न छोडिहाल्नुहुँदैन भन्ने सकारात्मक आश भएका सहभागी पनि नभएका हैनन् । ५४.७ प्रतिशतले भविष्यमा राम्रो जीवन होला, कोरोनाको डरलाग्दो अवस्थाबाट बाहिर निस्कन सकिएला भनेर आशापूर्ण जीवन बाँचेको सुनाएका थिए । ६० प्रतिशतले भने जीवन यस्तै असहज रहिनरहने र कुनै न कुनै दिन यो कहालीलाग्दो अवस्थाबाट छुटकारा पाइएला र राम्रो दिनको सुरुवात हुने कुराको अपेक्षा गरेका थिए ।

समग्रका कोभिड–१९ को कारणले गर्दा मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमिकहरूमा आर्थिक र मनोवैज्ञानिक रूपमा अप्ठेरो अवस्था भोग्नुपरेको देखिन्छ । रोजगारदाताले चासो नराख्ने, भएको रोजगारी गुमाउने, आम्दानीको विकल्पहरू सीमित भएको पाइयो ।

केही बचत गरेकाहरूले सोही रकम प्रयोग गरेको, सापटी र उधारोमा सामानहरूको व्यवस्था गरेको देखिन्छ । यी यावत् समस्याको कारण उनीहरूको मनोसामाजिक रूपमा जटिलता पैदा भएको देखियो । जस्तै, रिस उठ्ने, आत्तिने, चिडचिडाहट हुने, आत्महत्याको सोच आउने जस्ता अवस्था भोग्नुपरेको पाइयो ।

(लेखक छोरी नामक गैरसरकारी संस्थामा कार्यरत छिन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?