
काठमाडौं । पछिल्लो समय केही मानिस तेलको प्रयोग नगर्ने र गर्नैपरे पनि सकेसम्म कम प्रयोग गर्ने गरिरहेका छन् । शरीरलाई चिल्लो पदार्थ पनि आवश्यक हुन्छ भनेर चिकित्सक बताउँछन् ।
तर यसरी तेलको प्रयोग नै नगर्नु स्वास्थ्यको दृष्टिकोणबाट कति उपयुक्त हुन्छ ?
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टरार्ईका अनुसार चिल्लो तेलयुक्त खाना स्वास्थ्य त्यसमा पनि मुटुका लागि हानिकारक हुन्छ ।
‘सामान्यतयाः स्याचुरेटेट फ्याट तथा चिल्लो तेलयुक्त खाना स्वास्थ्य तथा मुटुको निम्ति हानिकारक नै मानिन्छ,’ उनी भन्छन्, ‘तर शरीरलाई आवश्यक फ्याट पनि चाहिने भएकाले तेलबाट पूर्ण रुपमा टाढा बस्दा यसको अभावमा शरीरमा उल्टै विभिन्न समस्या देखिन थाल्छन् ।’
मीठो खानाको नाममा प्रयोग गरिने अत्यधिक तेलले शरीरलाई बेफाइदा गर्ने र शरीरमा कोलेस्ट्रोलको मात्रालाई बढाउने डा. भट्टराई बताउँछन् । ‘यसले मुटुको नलीमा अवरोध सिर्जना गरी हृदयघात समेत गराउने जोखिम हुन्छ । भान्सामा तरकारी पकाउन प्रयोग गरिने तेलको मात्रा नै शरीरको लागि पर्याप्त हुन्छ,’ उनी भन्छन् ।
विशेषगरी एनिमल फ्याट अर्थात् माछामासुबाट प्राप्त हुने बोसोयुक्त चिल्लो पदार्थ भने सामान्य तेलको तुलनामा शरीरको लागि हानिकारक मानिने उनले सुनाए । यस्तै हाल बजारमा मुटुलाई बलियो बनाउने तेल भन्दै तेलको उचित गुणस्तर मापनबिना नै गलत प्रचारप्रसार गरिरहेको उनी बताउँछन् ।
‘हाल बजारमा विभिन्न कम्पनीहरुले तेलले मुटुलाई बलियो बनाउँछ भनेर विज्ञापन पनि गरेको देखिन्छ । तर यसबारे हालसम्म कुनै वैज्ञानिक अनुसन्धान भने भएको देखिंदैन,’ उनी भन्छन् ।
यता पोषणविद् उमा कोइराला पनि बजारमा उपलब्ध तेल गुणस्तरीय नहुने कुरा स्वीकार्छिन् । ‘नेपाली बजारमा खुल्ला बजार भएको हुँदा उच्चगुणस्तरका तेल कमै मात्र देखिन्छन् । जुन नामको तेल हो, वास्तवमा त्यो तेल शुद्ध छ छैन भनेर नाप्ने गुणस्तर मापन गर्ने नियन्त्रण गर्ने निकाय कमजोर छ,’ उनी भन्छिन् ।
नियममा गुणस्तरहीन सामग्री बेच्न नपाइने र बेचिएको पाइएमा दण्ड सजायको प्रावधान भए पनि उचित कारवाही हुन नसकेको कोइराला बताउँछिन् ।
‘त्यसैले तेल किन्नुअघि हामीले तेल कतिको गुणस्तर छ छैन भनेर सजग हुन जरुरी छ । सम्भव भएसम्म हाम्रो वरपर पाइने रायो, तोरी र सूर्यमुखीको तेल बनाएर खान सकिन्छ,’ उनी भन्छिन्, ‘यी बाहेक नरिवल, एभोकार्डो, सोयाबिन, क्यानोला आदिको पनि धेरै गुणले भरिपूर्ण हुन्छ र स्वास्थ्यका हिसाबले पनि प्रयोग गर्न सकिन्छ ।’
तेल सेवनको सन्दर्भमा हालसम्म मानिसहरुमा भ्रम रहेको उनी बताउँछिन् । ‘अहिले स्वस्थ रहने बहनामा अत्यधिक तेलको प्रयोग गर्ने र अर्को तेलको प्रयोग गर्दै नगर्ने दुई किसिमका समूहहरु विभाजित भएको देखिन्छ, ती दुवै स्वास्थ्यका निम्ति हानिकारक हुन्,’ उनी भन्छिन् ।
शरीरमा कोलेस्ट्रोलको मात्रा बढी हुने व्यक्ति तेल तथा घिउको प्रयोग बढी गर्नाले मुटुरोग सम्बन्धी सम्भावना बढेर जाने उनी बताउँछिन् ।
‘शरीरमा कोलेस्ट्रोल सुगर नियन्त्रणमा छ वा छैन त्यसतर्फ सजग रहनुपर्छ भने शरीरमा कोलेस्ट्रोल र सुगर बढी भएका २० वर्ष उमेरमाथिकाले चिल्लोजन्य पदार्थ सेवनतर्फ विशेष ध्यान दिनुपर्छ,’ कोइराला भन्छिन् ।
हाम्रो भान्सामा तेलको प्रयोग बिना खानेकुरा नै कम बन्ने गर्छ र तेलजन्य खानेकुरा खाने बानी नै भइसकेको छ, यसको आफ्नो पौष्टिक महत्व छ । घिउ र तेल शरीरका लागि अत्यावश्यक पदार्थ पनि भएको उनको भनाइ छ ।
शरीरलाई कति मात्रामा चाहिन्छ तेल ?
सामान्यतया एउटा ठूलो चिया चम्चा तेलजन्य पदार्थ शरीरका लागि आवश्यक हुन्छ । सागसब्जीमा हालेको तेलले नरम पनि बनाउने र शरीरलाई चाहिने पौष्टिक तत्व पनि पूरा गर्छ ।
तर हिजोआज बदलिंदो जीवनशैली र खानपानमा आएको परिवर्तनले चिल्लो पदार्थले भरिएका खानेकुराको मात्रा पनि बढिरहेको छ । त्यसैले खानेकुरामा तेल सीमित मात्रामा हाल्नुपर्ने हुन्छ । ‘तेल, घिउ नहाली खाना लामो समयसम्म राख्न बजारमा राखिएका खानमा तल र घिउको प्रशस्त मात्रामा प्रयोग गरिएको हुन्छ,’ पोषणविद् कोइराला भन्छिन् ।
‘माछामासु, अण्डा र दहीमा केही मात्रामा चिल्लो पदार्थ हुन्छ । यस्ता खानेकुरामा स्वतः चिल्लो पदार्थ हुने हुँदा तेल कम खान भनिएको हो, खाँदै नखानु भनिएको होइन,’ उनी भन्छिन्, ‘तारेको खानेकुराबाट भने टाढै रहनुपर्छ ।’
प्रतिक्रिया 4