+
+

जता गए पनि अबको प्रधानमन्त्री तपाईं नै हो भन्छन् : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ३ गते २०:५९

३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवसर पाए मुलुकको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ।

हिमालय टेलिभिजनको ‘यक्ष प्रश्न’ कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले चुनावपछि प्रधानमन्त्री को बन्ने भन्ने विषयमा सत्ता गठबन्धन भित्र छलफल नभएको तर अवसर पाए आफूलाई नेतृत्व गर्ने इच्छा भएको बताएका हुन् ।

‘म प्रधानमन्त्रीको निम्ति भन्नेमा त छैन । तर, अवसर आयो भने देशको नेतृत्व गर्नुपर्छ र एकचोटी आर्थिक विकासबारे प्रचण्डको के रछ भन्ने स्थापित गर्नुपर्छ भन्ने आकांक्षा छ । आकांक्षा नै नभएको होइन’ प्रचण्डले भने ।

पहिलो पटक प्रधानमन्त्री हुँदा भौतिक पूर्वाधार विकासमा ध्यान दिएको, मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोरको परिकल्पना र विद्युतीकरणको परिकल्पना अगाडि सारेको र दोस्रो पटक प्रधानमन्त्री हुँदा राष्ट्रिय एकता र विकासको मोडल र लोकतन्त्रको सुदृढिकरणमा ध्यान दिएको प्रचण्डको भनाइ छ ।

तर, विगतमा अनुभव र समयको कमीका कारण प्रभावकारी काम गर्न नसकेको भन्दै उनले भने, ‘पहिलो (प्रधानमन्त्रीको कार्यकाल) ९ महिना झिलिमिली भयो त्यो मलाई । दोस्रो पटक अलि सचेत भएर मधेश, पहाड, हिमाल जोड्ने, चुनावतिर देशलाई लैजाने र विकासमा प्रचण्डले गर्न सक्दो रैछ, चाहँदो रैछ भन्ने बनाउन खोजेँ’ प्रचण्डले भने ।

अब तेस्रो पटक प्रधानमन्त्री बन्ने अवसर पाए विकासमा फड्को मार्ने गरी काम गर्ने उनको दाबी छ । उनी भन्छन्, ‘अब त मलाई धेरै अनुभव भइसक्यो । जनताले पनि मलाई भरोसा गरेकै देख्छु म । त्यो भरोसालाई देशको नेतृत्व गरेर आर्थिक विकासमा फड्को हान्ने, केही ठूला परियोजना र केही साना परियोजनाको संयोजनमार्फत फड्को हान्न मन छ मलाई ।’

आफ्नो चाहनामा शेरबहादुर देउवा सकारात्मक रहेको आफूले ‘स्मेल’ पाएको पनि उनको दाबी छ । ‘शेरबहादुर देउवाजीले पोजेटिभ्ली नै सोच्नुभएको स्मेल आउँछ मलाई । हिजो (३० असोज २०७९) माधवजी (माधवकुमार नेपाल)ले जसरी बोल्नुभयो जनभावना बोलेको जस्तो मान्छु म । एउटा त्यो पनि स्मेल हो म ठान्छु’ प्रचण्डले भने ।


असोज ३० गते काठमाडौं क्षेत्र नम्बर २ मा भएको सत्ता गठबन्धनको कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले शेरबहादुर देउवा र प्रचण्डलाई देखाउँदै वर्तमान प्रधानमन्त्री र भावी प्रधानमन्त्री यहीँ छन् भनेका थिए ।

प्रचण्डले प्रधानमन्त्रीका लागि मरिहत्ते नगर्ने र अवसर आए चाहिएन पनि नभन्ने पटक–पटक दोहोर्‍याए । तर, राजनीतिक दल, वौद्धिक जगत, सुरक्षा निकायका अधिकारीहरु, कर्मचारी क्षेत्रका व्यक्तिहरु सबैले आफूलाई भावी प्रधानमन्त्रीका हेरेर सम्बोधन गर्ने गरेको उनले जिकिर गरे ।

‘अब त प्रधानमन्त्री तपाईं नै हो भन्छन् जता गए पनि । म रेसमा छैन भनिराख्या छु तर, पनि सबैले भन्छन् । म अध्ययन गर्दैछु मान्छेहरु किन मलाई अहिले नै प्रधानमन्त्री जस्तो गरेर हेरिराख्या छन् जताततै ? कहीँ कार्यक्रम भयो भने वक्ताहरुले त्यसरी नै बोल्छन् । हुँदा हुँदा माधव नेपालजीले नै बोलिदिनुभयो । यसले गर्दा मलाई स्मेल त आउँछ । तर, प्रधानमन्त्री भए ठीक छ तर, नत्र भन्ने खालको मेरो छैन’, प्रचण्डले भनेका छन् ।

अन्तर्वार्ताको क्रममा प्रस्तोताले फेरि प्रश्न गर्छन्, ‘गोरखाले आउँदो पाँच वर्षमा अर्को एउटा आफ्नो ठाउँको प्रधानमन्त्री पाउँछ ? प्रचण्डले जवाफ दिए, ‘पाउँछ । यत्ति काम गरियो भने पक्कै पनि पाउँछ ।’

यत्ति काम भनेर प्रचण्डले गोरखाको विकास, गोरखामा रहेका विकासका ठूला आयोजनाहरु, जलविद्युत आयोजना र पालुङटार विमानस्थल सञ्चालनका साथसाथै सडक निर्माण र भएका सडकको स्तरोन्नती, जडिबुटी संकलन र प्रशोधन लगायतका क्षेत्रमा काम गर्ने वाचा गरेका छन् । प्रचण्ड यसपटक गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?