
२९ मंसिर, पोखरा । जब चुनावको मिति नजिकै आइपुग्छ, बेस्सरी गर्माउँछ गोरखा पालुङटार । पालुङटारको ठाँटीपोखरी समी चौतारो हरेक चुनावी सभाको मैझारो गर्ने इतिहास बोकेर उभिएको छ ।
सोही चौताराबाट ५ दलीय गठबन्धनको चुनावी सभालाई मैझारो गर्दै सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले भने, ‘गोरखा–२ मा यो अन्तिम सभा हुन्छ होला । त्यसकारण मलाई धेरै भन्नु त छैन, तर यत्ति भन्छु म त्यसै गोरखा आएको होइन ।’
ठाँटीपोखरी चौतारोमा चुनावी सभा नगरी कुनै पनि निर्वाचन सकिएको इतिहास छैन । सबै दलले एक पटक जसरी पनि सभा गर्ने यो चौताराबाट प्रचण्डले विकास र समृद्धिकै लागि गोरखाको आएको बताउँदा चौतारोकै सिँढीमा बसेका कृष्णबहादुर श्रेष्ठ फुस्फुसाए, ‘१५ सालदेखि यही सुनेका छौं ।’
कृष्णबहादुरका अनुसार यो यस्तो चौतारो हो, जहाँ प्रत्येक चुनावमा सबै दलको कोण सभा भएको छ । २०१५ सालमा यही चौतारोमा उभिएर कांग्रेस नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) ले भनेका थिए, ‘एकीकरणको सुरुआत भएको जिल्ला गोरखा म त्यसै आएको होइन, गोरखालीको मायाले आएको हुँ ।’
२०१५ मा कांग्रेसले भट्टराईलाई उम्मेदवार बनाएको थियो, गोरखा क्षेत्र नम्बर १०४ मा । त्यो बेला देशभर १०९ क्षेत्र थिए । अहिले गोरखा क्षेत्र नम्बर २ मै पर्छ । कृष्णकुमारले सम्झिए, ‘गोरखासँगको सम्बन्ध सम्पर्क जोड्दै भट्टराईले आफू यही माटोबाट काठमाडौं गएको र प्रजातन्त्र रक्षा गर्न गोरखा आएको बताउँथे ।’
प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक भएको आम निर्वाचनमा किसुनजीलाई उम्मेदवार बनाएर गोरखा पठाउँदाको दृश्य र अहिले पाँच दलीय गठबन्धनको तर्फबाट माओवादी अध्यक्ष प्रचण्ड आउँदा केही समानता रहेको उनी सम्झन्छन् ।
‘किसुनजी प्रजातन्त्रको रक्षा गर्न भन्दै गोरखा आएका थिए, प्रचण्ड संविधानको रक्षा गर्ने भन्दै आएका छन्,’ श्रेष्ठले प्रसंग जोडे, ‘गोरखा–२ ले प्रजातन्त्रको रक्षा गर्छु भन्ने किसुनजीलाई जिताउन सकेन, प्रचण्डले चाहिँ जित्लान् कि !’
नेपाली कांग्रेसका नेता तथा जिल्ला विकास समिति गोरखाका पूर्वसभापति चन्द्रप्रसाद न्यौपानेका अनुसार त्यो बेला किसुनजीले गोरखामा समानताको नारा उठाएका थिए । एकातिर ठट्यौली पाराका ३४ वर्षीय भट्टराई थिए भने अर्कोतिर खुकुरी नचाउँदै हिँड्ने दलका उम्मेदवार विश्वनाथ सुवेदी थिए ।
‘किसुनजी ठट्टा गर्थे । एक दिन उनको कोष सभामा उभिएर बसेका महिलाहरुलाई नाम सोधेछन् । नाम राधा रहेछ । किसुनजीले तिमी राधा म कृष्ण भन्दा सबै हाँसेका थिए’, चन्द्रप्रकाश सम्झिन्छन्, ‘महिलाहरुलाई हेपेको भन्दै पछि यही कुरा हिसिला यमीको किताबमा पनि आएको छ ।’
किसुनजीको प्रतिस्पर्धामा पञ्चहरुको पार्टी राष्ट्रिय गोरखा परिषदका विश्वनाथ सुवेदीसँग थियो । ‘गोरखा परिषद खुकुरी नचाउँदै अरुका कोण सभा भाँड्दै हिँड्थ्यो । तर ठाँटीपोखरी चौतारामा भएको किसुनजीको कोण सभालाई भाँड्न सकेन र, पनि किसुनजी हारे’, न्यौपाने सम्झिन्छन् । सुवेदीले ३ हजार १३३ मत ल्याउँदा कृष्णप्रसाद भट्टराईले १ हजार ८०८ मत मात्र पाए ।
अर्थात क्रान्तिकारीहरुको जिल्ला भनेर चिनिएको गोरखा–२ मा पहिलो निर्वाचनमै पञ्चले जितेको थियो । अहिले सशस्त्र विद्रोहबाट आएको माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखामा जित निकालेर ‘अर्को क्रान्ति’ गर्ने मुडमा छन् ।
ठाँटीपोखरीमा भएको गोरखा–२ को अन्तिम आम सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘यो भूमिमा म फेरि क्रान्ति गर्न आएको छु, विकास र समृद्धिको क्रान्ति ।’
त्यो बेला किसुनजीले बाटोघाटो बनाउने, धनी र गरिब बीचको दूरी घटाउने जस्ता विषयलाई चुनावी एजेण्डा बनाएका थिए । अहिले प्रचण्डले पालुङलाई स्मार्ट सिटी बनाउने उद्घोष गरे । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल उम्मेदवार रहेको तनहुँ क्षेत्र नम्बर १ र माओवादी महासचिव देव गुरुङ उम्मेदवार रहेको लमजुङका टारहरुलाई जोडेर आर्थिक करिडोर बनाउने सपना बाँडे ।
गोरखामा चुनाव पराजय भएपनि कृष्णप्रसाद पहिलो संसदको सभामुख बने । राजा महेन्द्रले कू गरेर पञ्चायत लागू गरेपछि जेल परेका भट्टराई ११ वर्षपछि बहुदलको पक्षमा वकालत गर्दै गोरखा पुगेका थिए । त्यो बेला भट्टराईले ठाँटीपोखरी चौतारोमै उभिएर पञ्चायत फालेर बहुदलीय व्यवस्था ल्याउन आह्वान गरेका थिए ।
८१ वर्षीय चन्द्रप्रसादका अनुसार भट्टराई बहुदलका पक्षमा कोषसभा गरेर उभार ल्याउन लागि परेकाले ठाँटीपोखरी चौतारालाई बहुदलीय चौतारा भनेर चिन्न थालियो । २०४८ सालमा प्रधानमन्त्री हुँदा पनि भट्टराई गोरखा पुगेर भनेका थिए, ‘तपाईंहरुकै मायाले म देशकै नेतृत्वमा पुगें ।’
अहिले त्यही बहुदलीय चौतारोमा उभिएर पालुङटारवासीलाई प्रचण्डले आफूले गोरखा–२ बाट जितेर देशकै नेतृत्व गर्ने बताए । प्रचण्डले चुनाव जितेर गोरखामा कायापलट गर्ने बताइरहेका छन् । गोखराका पुराना नेता तथा अघिल्लो चुनावहरु हेरेका स्थानीय भने पुराना चुनावमा पनि गरिएका यस्तै बाचा सम्झिन्छन् ।
प्रचण्डको भाषण सुनिरहेका भोजबहादुर पाण्डे भन्छन्, ‘उबेलै खुलेको गोरखकाली टायर उद्योग बन्द छ, पालुङटार विमानस्थल बन्द छ, मध्यपहाडी लोकमार्गमा विवाद छ । सिचाईं नहुँदा टार सुख्खै छ । यिनी सबै गर्छु भन्छन्, पहिलेकाले भन्थे ।’
अहिलेसम्म कोको उम्मेदवार भए ?
प्रचण्डको सभा चलिरहेको चौतारोभन्दा अलि पर बसेर बढ्यौली उमेरकै छिमेकीसँग पाका कांग्रेसी विश्वनाथ देवकोटा दुखेसो पोख्दै थिए, ‘यसपालि पनि रुखमा भोट हाल्न पाइएन ।’
बाबुराम देवकोटाले त्यसैमा थपे, ‘चुनावमा लड्न आम्ने पनि बाहिरकै छन् नि !’ हुन पनि गोरखा–२ का कांग्रेसीको संयोग नै रहेछ, अधिकांश अर्को क्षेत्रकै उम्मेदवारलाई भोट हाल्नुपर्ने ।
२०१५ यताका ८ निर्वाचनमा गोरखामा कांग्रेसीले बाहिरका ५ उम्मेदवारलाई भोट हाल्नुपर्यो ।
२०१५ सालमा गोरखाको साइनो जाड्दै काठमाडौंबाट कृष्णप्रसाद चुनाव लड्न आइपुगे । २०४८ सालमा गोरखा–२ मा कांग्रेस उम्मेदवार थिइन्, चितवनकी मैयादेवी श्रेष्ठ । श्रेष्ठलाई जिताएर पठाएका गोरखा–२ वासीले ०५१ को मध्यावधि निर्वाचनमा कमला पन्तलाई जिताएर पठाए । उनी पनि सो क्षेत्रको नभई गोरखा–१ कि थिइन् । २०५६ को निर्वाचनमा पनि उनै कमलाले जितेर दोस्रो पटक संसद छिरेकी थिइन् ।
२०६४ सालपछि भने गोरखाका कांग्रेसीले कहिले आफ्ना उम्मेदवारलाई जिताएर संसद पठाउन सकेका छैनन् । माओवादी सशत्र संघर्षपछि भएको २०६४ सालको निर्वाचनमा गोरखामा माओवादीको उदय भयो । सुरुमा पञ्चहरुको दबदबा रहेको गोरखामा कांग्रेस मौलाएको थियो । २०६४ पछि भने कांग्रेसले कहिले शाख जोगाउन सकेन भने कहिले आफ्नो उम्मेदवारै पाएन ।
पहिलो संविधान सभाको निर्वाचनमा कांग्रेसबाट चन्द्रप्रसाद न्यौपाने चुनाव उठेका थिए । तर विद्रोहको रापतापबाट आएका बाबुराम भट्टराईले देशकै सर्वाधिक मतान्तरले जिते । न्यौपाने र भट्टराई माया–भाञ्जा थिए ।
२०७० सालको निर्वाचनमा हितराज पाण्डे र कांग्रेसकी रविकला खनालबीच प्रतिस्पर्धा थियो । हितराजले चुनाव जिते । २०७४ सालको निर्वाचनमा माओवादी परित्याग गरी नयाँ शक्ति खोलेका बाबुरामलाई नै कांग्रेसले समर्थन गरेर जिताएर पठायो ।
‘पहिले बाबुरामको आँखामा भोट हाल्नुपर्यो । अहिले तिनै बाबुरामले माओवादीका प्रचण्डलाई चितवनबाट उठाएर गोरखा–२ ल्याए । यहाँको नियति यस्तै छ’, विश्वनाथले भने, ‘तर, सन्तुष्ट पनि छैनौं, असन्तुष्ट पनि छैनौं । प्रचण्ड पनि ठूला नेता हुन् । पछि केही त गर्लान् ।’
प्रतिक्रिया 4